विस्थापित सुकमबासी : थातथलोमा बाढी, सेल्टरमा बेचैनी

काठमाडौं । काठमाडौं र ललितपुर जोड्ने थापाथली पुलबाट प्रसुति गृहतर्फको फाँटमा बागमती उर्लिरहेको स्थानमा केही महिनाअघिसम्म छाप्रो थियो । पाँच महिना अघिसम्म नदी किनारका छाप्रोभित्र मानिस थिए । झरीमा बागमती बढ्दा उनीहरू रातभर जाग्राम बस्थे । बाढी पसेपछि सामान बोकेर भाग्थे ।

शुक्रवार बागमती त्यही ठाउँमा उसैगरी उर्लियो, तर छाप्रा थिएनन् । मानिस थिएनन् । तर, थापाथलीबाट हटाइएका मानिसको पीडा भने नदीसँगै बगेर गएन ।

पाँच महिनामा नदी किनार त खाली भए तर विस्थापितको स्थायी बास अझै अनिश्चित बनेको छ

उनीहरूमध्ये केही अझै भक्तपुरको खरिपाटी, बोडे र नागार्जुनको इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा छन् । सरकारले बस्ती हटाएको पाँच महिना पुग्न लाग्दा पनि उनीहरूको स्थायी बसोबास कहाँ हुने भन्ने टुंगो लागेको छैन । अस्थायी बसोबासका लागि घोषणा गरिएको आर्थिक सहयोगको एउटा हिस्सा पाए पनि सरकारले वाचा गरेको मासिक घरभाडा रकम अझै पाएका छैनन् । नदी किनारको जोखिम हट्यो । तर नदी किनारबाट विस्थापित परिवारको आवास, रोजगारी र भविष्यको जोखिम हटेन ।

सरकारले वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेको थियो । त्यस क्रममा ३८८ परिवारलाई विभिन्न पाँच होल्डिङ सेन्टरमा राखिएको थियो । पाँचमध्ये दुई केन्द्र बन्द भइसकेका छन् । असोज ६ सम्म इचंगुनारायणमा ४५ परिवारका १०२ जना, खरिपाटीमा ४२ परिवारका १०५ जना र बोडेमा २१ परिवारका ६५ जना गरी १०८ परिवार अझै तीन केन्द्रमा छन् ।

यी परिवारलाई त्यहाँ सधैँ राख्ने सरकारको योजना थिएन । सरकारले तत्कालका लागि स्वयं व्यवस्थापन गर्न २५ हजार रुपैयाँ र त्यसपछि केही महिनासम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गर्यो । रकम लिएर होल्डिङ सेन्टर छाड्न सरकारले असारमै समयसीमा तोकेको थियो । तर, घर भत्किएपछि २५ हजार रुपैयाँले नयाँ जीवन सुरु गर्न नसकिने भन्दै कतिपय परिवारले होल्डिङ सेन्टर छाड्न अस्वीकार गरे ।

२५ हजार पाए, १५ हजार अझै आएन
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार स्वव्यवस्थापन खर्चका लागि २ हजार ६०८ जनाले नाम दर्ता गराएका थिए । साउन अन्तिमसम्म १ हजार ८६३ जनाले २५ हजार रुपैयाँका दरले रकम बुझेका थिए । त्यसपछि पनि थप डेढ सयभन्दा बढीले रकम माग गर्दै निवेदन दिएका छन् । तर, सरकारले घोषणा गरेको मासिक १५ हजार रुपैयाँ भने असोज ६ सम्म कुनै पनि विस्थापितले पाएका थिएनन् ।

सरकारले सुरुमा होल्डिङ सेन्टर छाडेर आफैँ बसोबास गर्न आग्रह गर्दा रकम वितरणमा भएको ढिलाइका कारण समयसमेत थपेको थियो । असारमा सबै होल्डिङ सेन्टरमा सरकारी खाना पनि बन्द गरियो । त्यसपछि कतिपय परिवारले पैसा नआउँदै खाना रोकिएको भन्दै विरोध गरे ।

सरकारको योजनामा पहिले बस्ती हटाउने, त्यसपछि अस्थायी केन्द्रमा राख्ने, रकम दिएर बाहिर पठाउने र अन्ततः स्थायी पुनःस्थापना गर्ने थियो । पाँच महिना पुग्दा पहिलो दुई चरण पूरा भए पनि अन्तिम चरण अझै अधुरै छ ।

सरकारले एउटा होल्डिङ सेन्टरबाट अर्कोमा सार्दै आएको भन्दै विस्थापित परिवारको असन्तुष्टि छ । केन्द्रमा रहेका परिवारले स्थायी बसोबासको सुनिश्चितता नभएसम्म अर्को केन्द्रमा नजाने अडानसमेत लिएका छन् । उनीहरूको प्रश्न छ, ‘एक ठाउँबाट अर्को ठाउँमा सारेर समस्या समाधान हुन्छ कि फेरि अर्को ठाउँमा सारिन्छ ?

एकल महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त परिवारका लागि यो समस्या झन् कठिन छ । बस्ती भत्किएपछि पुरानो ठाउँको रोजगारी छुटेको छ । नयाँ ठाउँमा घरभाडा तिर्ने क्षमता छैन । केन्द्र छाडे कहाँ जाने भन्ने टुंगो छैन ।

बस्ती हटाउँदा सरकारले वास्तविक भूमिहीन र सुकुम्बासी पहिचान गरेर दीर्घकालीन व्यवस्थापन गर्ने बताएको थियो । भूमि व्यवस्था मन्त्रालयले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई प्राथमिकतामा राखेर जग्गा तथा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएको थियो । भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले वास्तविक सुकुम्बासी पहिचानसँगै उनीहरूका लागि जग्गा पहिचान गर्नुपर्ने भएकाले प्रक्रिया जटिल र समय लाग्ने बताएकी थिइन् । तर यो विषय अहिले विस्तारै सेलाएको भन्दै विस्थापित आक्रोसित छन् ।

भूमि समस्या समाधान आयोगले पनि विस्थापितहरूका लागि छुट्टै सूचना जारी गर्दै विवरण संकलन र नाप–नक्सासम्बन्धी प्रक्रिया अघि बढाएको छ । आयोगको वेबसाइटमा कीर्तिपुरको राधास्वामी, खरिपाटी तथा अन्य विस्थापितका लागि छुट्टाछुट्टै सूचना राखिएको छ । तर, कुन परिवारलाई कहाँ जग्गा दिने र कहिलेसम्म होल्डिङ सेन्टरबाट निकाल्ने भन्ने ठोस मिति अझै सार्वजनिक भएको छैन ।

बागमती सभ्यता समितिका अनुसार नदी किनारमा घर वा जग्गा भए–नभएको प्रारम्भिक छानबिन गरी २ हजार ८२ जनाको विवरण भूमि समस्या समाधान समितिमा पठाइएको छ । त्यसमध्ये १ हजार ६९४ जनाको डिजिटल विवरणसमेत रहेको छ । दोहोरो नाम, अपूर्ण कागजातलगायत कारण प्रमाणीकरणमा समय लागेको समितिको भनाइ छ ।

झरीमा रुझ्दै अस्थायी जीवन
नदी किनारमा बस्ती नरहेकाले बाढी घरभित्र पस्ने जोखिम छैन । तर, विस्थापित परिवार अर्को वर्षा कहाँ काट्ने भन्ने चिन्तामा छन् ।सरकारले विस्थापनपछि बालबालिकाको पढाइ नरोकिने प्रतिबद्धता भने केही हदसम्म कार्यान्वयन गरेको छ ।

खरिपाटी र बोडेमा रहेका बालबालिकालाई पुरानै विद्यालयमा लैजान–ल्याउन बसको व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार विभिन्न होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई विद्यालय भर्ना, यातायात, खाजा, पोसाक, झोला तथा शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।

खरिपाटी र बोडेबाट काठमाडौंका विद्यालयसम्म पुग्न बालबालिकाले लामो समय गाडीमा बिताउनुपरेको परेको छ । बोडेबाट बल्खुका विद्यालय पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको अभिभावकको गुनासो छ ।

थापाथलीको खाली बगरमा शुक्रबार बागमतीको पानी बगिरहँदा त्यहाँको जोखिम घटेको देखिन्छ । तर, त्यही बस्तीका मानिसहरू अहिले पनि अस्थायी आश्रयमा अर्को दिन कहाँबाट सुरु गर्ने भन्ने चिन्तामा छन् । नदी किनार खाली भए पनि सुकुम्बासीको समस्या ज्यँका त्यूँ छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

‘विपत् र आन्दोलनले जेनजी पुस्ता मनोबैज्ञानिक दबाबमा छ’