सुदूरपश्चिम सरकारका साढे तीन वर्ष : ४ मुख्यमन्त्री, ३३ मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकार गठन र पुनर्गठनको क्रम निरन्तर चलिरहेको छ । प्रदेश सरकारको दोस्रो कार्यकालको साढे तीन वर्षको अवधिमा चार जना मुख्यमन्त्री फेरिएका छन् भने ३३ जना सांसद मन्त्री वा राज्यमन्त्री बनिसकेका छन् ।

५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्यीय रहेको छ । डडेलधुराबाट निर्वाचित स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । यस्तै, तत्कालीन नेकपा (एकीकृत समाजवादी) हाल नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बनमा छन् ।

प्रदेशमा हाल नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । सरकारको नेतृत्व नेपाली कांग्रेसका कमलबहादुर शाहले गरिरहेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने राप्रपाबाहेक सबै दल सरकारमा सहभागी भइसकेका छन् ।

कांग्रेस–एमाले गठबन्धनसँग प्रदेशसभामा २९ सांसद छन् । तीमध्ये १७ जनाले मन्त्री वा राज्यमन्त्री बन्ने अवसर पाइसकेका छन् । विशेषगरी तत्कालीन नेकपा (एकीकृत समाजवादी) हाल नेपाली कम्युनिस्ट पार्टीका नेता दीर्घ सोडारी नेतृत्वको सरकारका बेला एमाले र सहयोगी दलका धेरै सांसद मन्त्री बनेका थिए ।

सोडारीको पालामा मन्त्री बन्नेहरूमा खगराज भट्ट, अक्कलबहादुर रावल, ओमविक्रम भाट, कैलाश चौधरी, खुशीराम डगौरा, घनश्याम चौधरी, रमेशसिंह धामी, रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरी रहेका छन् । त्यसैगरी लक्ष्मी विक, माया पन्त, नरेशकुमार शाही, झपटबहादुर साउँद र टीका थापा मन्त्री बनेका थिए भने इन्दिरा गिरी र गीतादेवी मालले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

हाल सभामुख रहेका भीमबहादुर भण्डारी तथा सांसद प्रकाश रावल, शिवसिंह ओली, जानकीदेवी कुँवर र मानबहादुर धामीले भने अहिलेसम्म मन्त्री बन्ने अवसर पाएका छैनन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८ सांसद छन् । तीमध्ये मुख्यमन्त्री कमलबहादुर शाहसहित १३ जना मन्त्री वा राज्यमन्त्री बनिसकेका छन् । कांग्रेसबाट मन्त्री बन्नेहरूमा बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा, मेघराज खड्का, शिवराज भट्ट, विक्रमसिंह धामी, मानबहादुर रावल र बेलबहादुर राना मगर रहेका छन् ।

त्यस्तै प्रकाशबहादुर बम, सरस्वती खड्का, मधुदेवी भारती र जुनाकुमारी दानीले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मन्त्री रहँदै गर्दा सवारी दुर्घटनामा बझाङका पृथ्वीबहादुर सिंहको निधन भएको थियो ।

कांग्रेसबाट हालसम्म मन्त्री बन्न बाँकी सांसदहरूमा दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीता चौधरी, ललिता सुनार, तुलसी देवकोटा र डम्मरी महरा रहेका छन् ।

एमालेका ११ प्रदेशसभा सदस्यमध्ये ६ जनाले मन्त्री वा राज्यमन्त्री बन्ने अवसर पाएका छन् । हाल सुरेन्द्रबहादुर पाल, हिरासिंह सार्की र वीरबहादुर थापा मन्त्री छन् भने निर्मलादेवी साउँद राज्यमन्त्री छन् । सन्तोषकुमारी शर्मा थापाले एक महिना बिनाविभागीय मन्त्रीका रूपमा काम गरेकी थिइन् ।

एमालेबाट उपसभामुख रहेकी कोइलीदेवी चौधरीसहित धर्मराज पाठक, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम भने अहिलेसम्म मन्त्री बन्न सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेश सरकारको साढे तीन वर्षे अवधिमा सरकार फेरबदल र मन्त्री नियुक्तिको उच्च दरले प्रदेशको राजनीतिक अस्थिरता र सत्ता साझेदारीको प्रवृत्तिलाई स्पष्ट रूपमा देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

‘मधेश ट्राभल मार्ट’ पर्यटन प्रर्वद्धनको अर्को आयाम