धनकुटा । धनकुटा नगरपालिकाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा धामसम्म फैलिएको सडक स्थानीयको लामो समयको प्रतिक्षापछि कालोपत्रे सुरु भएको छ । २०५७ सालमा स्थानीयको जनश्रमदानबाट खोलिएको सडक अहिले कालोपत्रे सुरु भएको हो । सरकारी बजेट र प्राविधिक पहुँच सीमित भएको समयमा गाउँलेहरूले ९६ दिनसम्म जनश्रमदान गरेर सडकको ट्र्याक खोलेका थिए । त्यही धुलो–माटोको बाटो विश्व बैंकको करिब ३६ करोड रुपैयाँ लगानीमा कालोपत्रे सुरु भएको हो ।
धनकुटा नगरपालिका वडा नम्बर १ र २ मा पर्ने यो सडक सुरुमा भीरगाउँका स्थानीयलाई हिले बजार पैदल रूपमा आवागमन सहज बनाउने सानो प्रयासले स्थानीयले जनश्रमदानबाट निर्माण गरेका थिए । तर समयसँगै यो सडक रिङरोड अवधारणासँग जोडियो र धनकुटा नगरपालिकाको विकासको मेरुदण्ड बन्न पुग्यो ।
हाल विश्व बैंकको सहयोगमा सुरु भएको परियोजनाअन्तर्गत करिब ७ दशलमव २ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यसमध्ये ३ दशमलव ३ किलोमिटरमा ढलान भइसकेको छ भने बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्रे तीव्र गतिमा अघि बढिरहेको छ ।
धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार काम निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्य छ । मौसमले साथ दिए यही असारभित्रै कालोपत्रे सकिने अपेक्षा गरिएको छ ।
सुरुमा हिले बजार आवागमन सहजताको लागि बनाइएको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक पछिल्लो समय केवल इन्जिनियरिङ परियोजना होइन, भिरगाउँ र आसपासका किसानको जीवनरेखा बन्दै गएको छ । चोक्रोक, भिरगाउँ, किन्ताङ र मधुगंगा क्षेत्र गाजर, मुला, आलु, हरियो तरकारी र दुग्ध उत्पादनका लागि परिचित क्षेत्र रहेका छन् ।
भिरगाउँलाई त धनकुटा नगरपालिकाले गाजर उत्पादन पकेट क्षेत्र नै घोषणा गरेको छ । तर कच्ची सडकका कारण वर्षायाममा उत्पादन बजारसम्म पु¥याउन किसानलाई ठूलो कठिनाइ हुन्थ्यो । गाडी फस्ने, ढुवानी खर्च बढ्ने र कहिलेकाहीँ उत्पादन बारीमै सड्ने अवस्था समेत आउने गरेको थियो ।
स्थानीय किसानहरूका अनुसार कालोपत्रे सडक सञ्चालनमा आएपछि ढुवानी लागत घट्ने मात्र होइन, उत्पादनको बजार पहुँच र मूल्य पनि स्थिर हुने अपेक्षा किसानले गरेका छन् । स्थानीय फुर्वा तामाङले सडक कालोपत्रे र ढलान भएपछि जीवनमा सहजता थपिएको बताए । उनले भने, ‘हिलो र धुलोले हैरान भइरहेको अवस्थामा अब कृषि उत्पादन बजार लैजान सजिलो हुन्छ, बिरामीलाई अस्पताल पु¥याउन र विद्यार्थीलाई विद्यालय जान पनि सहज हुन्छ भन्ने भावनाले गाउँभरि उत्साह बढाएको छ ।’
उनले लामो समयदेखि ‘सडक कहिले बन्छ होला ?’ भन्ने प्रश्न अब ‘कहिले पूरा होला ?’ भन्ने आशामा बदलिएको बताए ।
हाल धनकुटा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहेका चन्द्रलाल तामाङकै नेतृत्वमा सडकको जनश्रमदानबाट ट्र्याक खोलिएको थियो । उनले अब सडक राम्रो भएपछि उत्पादनको ढुवानी लागत घट्ने तथा किसानले उत्पादन गरेको कृषि उपजको समयमै बिक्री गर्न पाउँदा उचित मूल्य पाउने सम्भावना रहेको बताए । तामाङले सडक कच्ची हुँदा वर्षायाममा तरकारी र दूध बजारसम्म पु¥याउन समस्या हुने गरेको थियो ।
हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडकले पूर्वको धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको मधुगंगा धामसम्मको पहुँच सहज बनाउने भएको छ । पछिल्ला वर्षमा मधुगंगा क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षण बन्दै गएको छ । सडक स्तरोन्नतिसँगै मधुगंगा धाममा आउने भक्तजनको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । जसले गर्दा स्थानीय होटल, साना व्यवसाय र सेवामूलक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने स्थानीयको अपेक्षा रहेको छ । धार्मिक यात्रु मात्र होइन, प्राकृतिक दृश्य र ग्रामीण जीवन अनुभव गर्न आउने पर्यटकहरू पनि बढ्ने अनुमान धनकुटा नगरपालिकाले गरेको छ ।
त्यसो त माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपनि तल्लो क्षेत्र बिही’boutहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडक स्तरोन्नति नहुँदा रिङरोड अवधारणा पूरा हुन भने सकेको छैन । बजेट अभावका कारण काम अघि बढ्न नसकेको धनकुटा नगरपालिकाले जनाएको छ । हाल ट्र्याक खोल्ने र संरचनागत तयारी मात्र भएको छ । विश्व बैंकसमक्ष प्रस्ताव पेस भए पनि स्वीकृति आउन बाँकी रहेको धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत गौतमले जानकारी दिए ।
माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएसँगै हिले बजारबाट भिरगाउँसँगै मधुगंगा धाम सुगम बनेको छ । यस्तै तल्लो क्षेत्र बिही’boutहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडक स्तरोन्नति वा कालोपत्रे भएपछि धनकुटा बजार भिरगाउँ र मधुगंगा धाम सुगम बनेसँगै धनकुटा नगरपालिकाको रिङरोड अवधारणा पूरा हुनेछ ।
सम्बन्धित समाचार
झापामा हुरी र वर्षाले केराखेती नष्ट
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
देवराज तामाङ: जसले सडक मात्र पुरेनन्, भरोसा पनि जगाए
हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै
कर्तव्यनिष्ट असी बुहारी सम्मानित
पौवादुङमाका ३४० किसानलाई ‘मिनिटिलर’ वितरण
सुन्दरहरैंचामा निजी विद्यालयको मनोमानी
कोशीको बजेट ४० अर्ब ४४ करोड






