रास्वपा महाधिवेशनः केन्द्रीय समितिको आकार बढ्दा बग्रेल्ती आकांक्षी

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको सन्निकटमा विधान संशोधन गर्दै सांगठनिक आकार बढाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालयबाट विधान संशोधनको प्रस्ताव पारित गर्दै महाधिवेशनबाट अनुमोदन भएपछि लागु हुनेछ ।

आगामी ७, ८ र ९ साउनमा चितवनमा हुने पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाएका छन् । विभिन्न समितिहरु गठन गरेर महाधिवेशनलाई भव्य बनाउने गरी अगाडी बढेको उनले जनाएका छन् ।

सांगठनिक ढाँचामा परिमार्जन गर्दै रास्वपाले केन्द्रीय समितिको संख्या बढाएको छ । समावेशी र सन्तुलित बनाउन केन्द्रीय समितिको संरचनामा ठुलो हेरफेर गरिएको रास्वपाले जनाएको छ ।

संशोधित विधान अनुसार गठन हुने रास्वपाको नयाँ केन्द्रीय समितिको संख्या अब १५८ हुनेछ । हाल रहेको १२९ सदस्यीय केन्द्रीय समितिको संख्या बढाएर १५८ पुर्याइएको छ ।

१५८ सदस्यीय समितिमा १५१ जना निर्वाचित तथा ५१ जना सदस्य सभापतिले मनोनित गर्ने विशेषाधिकार विधानमा राखिएको छ । सातै प्रदेशका प्रदेश समितिका सभापतिहरु पदेन केन्द्रीय सदस्य रहनेछन् ।

पदाधिकारीको संख्या २० पुग्यो, ‘वरिष्ठ नेता’ को नयाँ पद

रास्वपाले केन्द्रमा पदाधिकारीहरूको संख्या थपेर २० जना पुर्याएको छ । पार्टी स्थापना कालमा नरहेको ‘वरिष्ठ नेता’ को नयाँ पद यस पटकको विधान संशोधनमार्फत पहिलो पटक सिर्जना गरिएको छ ।

नयाँ विधान अनुसार रास्वपामा सभापति १, वरिष्ठ नेता १, उपाध्यक्ष ३ (१ जना महिला अनिवार्य), महामन्त्री २, सहमहामन्त्री ५ (१ जना महिला अनिवार्य), प्रवक्ता १, सहप्रवक्ता ३ (१ जना महिना अनिवार्य), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ जना (१ जना महिला अनिवार्य) हुनेछन् । यसअघि पदाधिकारी संख्या १३ थियो ।

विधानले पार्टीको शीर्ष नेतृत्व तहमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न विशेष व्यवस्था गरेको छ । रास्वपाले विधान संशोधन गर्दै उपाध्यक्ष, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष जस्ता महत्पूर्ण क्लस्टरहरूमा कम्तीमा १–१ जना महिला पदाधिकारी अनिवार्य हुनुपर्ने बाध्यात्मक नियम बनाइएको छ ।

सचिवालय ३३ सदस्यीय
रास्वपाले ३३ सदस्यीय शक्तिशाली सचिवालय गठन गर्नेछ । महाधिवेशन सकिएलगत्तै पार्टीको दैनिक राजनीतिक निर्णय, रणनीतिक कार्यदिशा र कार्यसम्पादनलाई तीव्र बनाउन केन्द्रीय समिति मातहत रहने गरी ३३ सदस्यीय शक्तिशाली सचिवालय गठन गर्ने व्यवस्था विधानमा गरिएको छ । यस सचिवालयमा पार्टीका प्रमुख पदाधिकारीहरू स्वतः समेटिने व्यवस्था नयाँ विधानमा सुनिश्चित गरिएको छ ।

रास्वपाको यो नयाँ विधानले पार्टीलाई परम्परागत कमिटी प्रणालीभन्दा फरक, प्रविधिमैत्री र सन्तुलित नेतृत्व प्रदान गर्न सघाउने नेताहरूले बताएका छन् । यस संशोधित विधानलाई आगामी असार ७ गते चितवनमा सुरु हुने महाधिवेशनको बन्द सत्रले औपचारिक रूपमा अनुमोदन गरेपछि लागु हुनेछ ।

डिजिटल र प्रविधिमैत्री महाधिवेशन
पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले पहिलो महाधिवेशन गर्दैछ । महाधिवेशन पूर्ण रूपमा प्रविधिमैत्री बनाउने बताइएको छ । महाधिवेशनमा तीन हजार प्रतिनिधिहरू सहभागी हुने निश्चित भएको छ । जसमा ३८ भन्दा बढी देशका १७० भन्दा बढी प्रवास प्रतिनिधिहरू समेत सामेल छन् ।

पार्टीले आर्थिक पारदर्शिता कायम गर्न व्यापारिक चन्दा संकलन नगर्ने र प्रत्येक प्रतिनिधिबाट पाँच हजार रुपैयाँ शुल्क संकलन गर्ने नीति लिएको छ । निर्वाचनलाई डिजिटल बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) को प्रयोग गरिनेछ । विदेशमा रहेका प्रतिनिधिहरूका लागि ‘मोबाइल एप’ मार्फत मतदान गर्ने विशेष व्यवस्था मिलाइएको रास्वपाले जनाएको छ ।

१८ वटा उपसमिति गठन
महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । यसका साथै सचिवालयले विभिन्न १८ वटा उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।

कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमितिको संयोजकमा कबिन्द्र बुर्लाकोटी, प्रतिवेदन समन्वय उपसमितिको संयोजकमा भुपदेव शाह, गुनासो व्यवस्थापन उपसमितिको संयोजकमा विपिन आचार्य, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा अभिषेक घिमिरे रहेका छन् ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा लिमा अधिकारी, कानूनी समन्वय उपसमितिको संयोजकमा सुलभ खरेल, प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमितिको संयोजकमा मनिष झा, सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा दिपकराज बोहोर, सूचना प्रविधि उपसमितिको संयोजकमा सरिता ज्ञवाली रहेका छन् ।

यसैगरी, आवास तथा भोज व्यवस्थापन उपसमितिको संयोजकमा राजन गौतम, अतिथि सत्कार उपसमितिको संयोजकमा ध्रव गिरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा खुश्बुसरकार श्रेष्ठ, स्वास्थ्य सेवा उपसमितिको संयोजकमा तोसिमा कार्की, साँस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मोहन बहादुर थापा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा शिव नेपाली, स्थानीय समन्व्य उपसमितिको संयोजकमा हरि ढकाल, अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमितिको संयोजकमा गणेश पराजुली र अनुशासन उपसमितिमा केन्द्रीय अनुशासन आयोगका सबै रहने गरी समितिहरु गठन गरिएको छ ।

गगन, केपी, प्रचण्ड विशिष्ट अतिथि
रास्वपाले ऐतिहासिक महाधिवेशनमा कांग्रेस सभापति गगन थापादेखि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसम्म आमन्त्रण गरिएको छ । उनीहरुलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।

भरतपुर १० स्थित गेष्टहाउस चौरमा हुने (७ साउन) दिउँसो १ बजे सुरु हुने उदघाटन सत्रमा शुभकामना मन्तव्यका लागि विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरेको छ ।

रास्वपाले कांग्रेस सभापति थापा, एमाले अध्यक्ष ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन आमन्त्रण गरेको छ ।

‘हामीले विशिष्ट अतिथिको रुपमा उहांँहरुलाई आमन्त्रण गरेका छौं । पत्र पठाएका छौँ । केहीको कन्फर्मेसन आइसकेको छ,’ बुर्लाकोटीले भने । उदघाटन सत्रमा सभापति लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (वालेन) शाहले सम्बोधन गर्ने तय भएको छ । तर प्रधानमन्त्री शाह महाधिवेशनमा सहभागि हुने कि नहुने भन्ने ’boutमा अन्योल रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्युतीकरण विस्तारमा समस्या