पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरको १९ औं नगर सभामा शुक्रबार महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशतले कमी हो ।

महानगरले विकास निर्माण (पुँजीगत) भन्दा प्रशासनिक र सेवा प्रवाह (चालु) तर्फ बढी रकम विनियोजन गरेको छ । कुल बजेटमध्ये ५५.१ प्रतिशत रकम चालु खर्च तथा ४४.९ प्रतिशत मात्रै पुँजीगत खर्चतर्फ विनियोजन गरिएको हो ।

बजेट स्रोत जुटाउन संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने अपेक्षा महानगरको छ । सशर्त अनुदानतर्फ २ अर्ब ६१ करोड ९१ लाख, समानीकरणतर्फ ४९ करोड ३७ लाख, विशेष अनुदानतर्फ ५ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त गर्ने प्रक्षेपण गरेको छ । जसमा समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार, समपूरक ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ छ ।

महानगरले आन्तरिक आय र राजस्व बाँडफाँडतर्फ ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । यसमध्ये महानगरको आफ्नै आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाइने जनाइएको छ । बाँकी रकममध्ये संघीय राजस्व बाँडफाँडबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।

महानगरले बजेटमा आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । पूर्वाधारतर्फ सडक, पुल, खानेपानी, शहरी विकास तथा पर्यटकीय संरचनाका लागि करिब १ अर्ब ६९ करोड ९ लाख विनियोजन गरिएको छ । समग्रमा पूर्वाधार तथा शहरी विकासका लागि २ अर्ब ८९ करोड ५५ लाख छुट्याइएको छ । फेवाताल संरक्षण, बसपार्क व्यवस्थापन, पोखरा सभागृह पुनर्निर्माण र विभिन्न रणनीतिक परियोजनालाई निरन्तरता दिइने भएको छ ।

बजेटले पोखरालाई पर्यटकीय राजधानी पोखरालाई थप सुदृढ बनाउने उद्देश्यसहित पर्यटन तथा खेलकुद प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ । खेल पर्यटनका लागि मात्र ६६ लाख विनियोजन गरिएको छ । जसमा ड्रागन बोट रेस, क्रस कन्ट्री ट्रायथलन, प्याराग्लाइडिङ, साइकल टुर, हाइकिङ, फुटबल, क्रिकेट, टेनिस लगायतका प्रतियोगिता सञ्चालन गरिने भएको छ । पर्यटन पूर्वाधार, लेक–टु–लेक साइकल ट्र्याक, फेवा इको ट्रेल तथा साहसिक खेलकुदलाई जोड दिइएको छ । कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि ३ करोड ६८ लाख विनियोजन गरिएको छ । सिँचाइ तथा भूमि व्यवस्थापनका लागि थप ५२ लाख छुट्याइएको छ । कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकलाई बजारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । शिक्षा क्षेत्रमा १ अर्ब ८५ करोड ६३ लाख विनियोजन गरिएको छ। सामुदायिक विद्यालय नर्स कार्यक्रमका लागि ३ करोड र दिवा खाजा कार्यक्रमका लागि ४ करोड छुट्याइएको छ ।

स्वास्थ्यमा ४१ करोड ३६ लाख विनियोजन गरिएको छ । महानगरले “डिजिटल पोखरा” अवधारणालाई अघि बढाउँदै घरनक्सा पास, राजस्व भुक्तानी, सिफारिस तथा घटना दर्ता लगायतका सेवाहरूलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने जनाएको छ । सेवा प्रवाहलाई एकीकृत सूचना प्रणालीमा आबद्ध गर्दै प्रशासनिक दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

महानगरले आगामी बजेटमार्फत पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल शासनलाई मुख्य आधार बनाउँदै समुन्नत र अन्तर्राष्ट्रियस्तरको पर्यटकीय शहर निर्माण गर्ने लक्ष्य राखेको छ ।

महानगरले विकास निर्माणभन्दा प्रशासनिक र सेवाप्रवाह क्षेत्रमा बजेटको भार केही बढी देखिएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण महानगरको कार्यालय भवन जलेर ध्वस्त भएपछि अहिले नयाँबजारस्थित वाणिज्य बैंकको भवन भाडामा लिएर कार्यालय संचालित छ । महानगरको नीति तथा कार्यक्रम बिहीबार मेयर धनराज आचार्यले सार्वजनिक गरेका थिए । प्रस्तुत बजेटमाथि नगरसभामा आवश्यक छलफलपछि पारित हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य सुरक्षावारे सकारात्मक संकेत