आफ्नै जीवनीमा बनिरहेको चलचित्र रोक्न अदालत पुगे सलमान खान

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो अनुमति विना आफ्नै कथामा चलचित्र ‘काला हिरन – द ब्याटल फर लिगेसी’को रिलिजको तयारी भइरहेकाले यसलाई रोक्नु पर्ने माग गरेका छन् । सलमानले सो चलचित्र रोक्नको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका थिए ।

सलमान खानको उजुरीमाथि दिल्ली उच्च अदालतले शुक्रवार राखेको बयान स्थगित गरेको छ । अभिनेता सलमानको मुद्दामा सो चलचित्रका निर्माता र उनका वकिलले जवाफ दिन समय मागेका कारण यसको सुनुवाइ शुक्रवार स्थगित गर्नु परेको अदालतले कारण देखाएको छ । न्यायाधीश मधु जैनको बेन्चले मुद्दाको सुनुवाइ गर्ने क्रममा सम्बन्धित चलचित्रका निर्माता र वकिलले समय माग गरेका थिए ।

यस विषयमा उजुरी पत्रमा सलमानले लेखेका छन्, ‘तिनीहरू मेरो जीवनमा चलचित्र बनाइरहेका छन् र मेरो निजी सूचनालाई छरपस्ट पारिरहेका छन् । जबकि उनीहरूलाई मेरो जीवनमा चलचित्र बनाउने कुनै अधिकार छैन र म सो चलचित्रको निर्माण एवम् रोकको लागि अन्तरिम आदेश माग गर्दछु ।’

यो चलचित्रको टिजर केही समय अघि नै रिलिज भइसकेको छ । जसमा सलमान खानको दुई वटा मुद्दालाई मुख्य कथामा उतारिएको छ । सलमान खानले एक समय सडकमा सुतेका मानिसहरुमाथि गाडी चलाएर ज्यान लिएको ‘हिट एन्ड रन’ मुद्दालाई यसको कथामा उतारिएको छ । यस्तै एउटा चलचित्रको छायांकनको क्रममा उनले राजस्थानमा कालो हरिणको सिकार गरेको प्रकरण र त्यो प्रकरणमा सलमानले भोग्नु परेको सास्तीलाई पनि चलचित्रको कथामा मुख्य विषय बनाएर उतारिएको छ ।

यो चलचित्रलाई भरत एस श्रीनाटेले निर्देशन गरेका हुन् । टिजर हेर्दा यो चलचित्रको कथा सलमानको दुई वटा प्रकरण र त्यसपछि प्रहरी हिरासत एवम् अदालतमा केन्द्रित छ । सोही कारण सलमान खानले अदालतलाई अन्तरिम सुरक्षा प्रदान गर्दै यो चलचित्र रोक्न मुद्दा दायर गरेको उनका अधिवक्ता सन्दीप सेठ्ठीले बताएका छन् । चलचित्र निर्माताहरूले सलमानको सहमति बिना उनको जीवन र व्यक्तित्वको व्यावसायिक शोषण गर्ने प्रयास गरिरहेको तर्क समेत सलमानको वकिलले गरेका छन् ।

यसैबिच, चलचित्र ‘काला हिरन – द ब्याटल फर लिगेसी’का निर्माता र उनीहरूको प्रतिनिधित्व गर्ने वकिलले आफ्नो प्रतिक्रिया दर्ता गर्न समय मागेका छन् । उनीहरूले बुधवार मात्र निवेदनको प्रतिलिपि प्राप्त भएको बताउँदै शुक्रवारको सुनुवाइ रोक्न माग गरेका थिए । विपक्षीको सो अनुरोधको अभिनेता सलमान र उनका वकिलले विरोध गर्दै प्रतिवादीहरूलाई पहिले नै विधिवत् रूपमा यो चलचित्र रोक्न सूचित गरिएको जनाएका छन् ।

सलमानको भनाइमा यो चलचित्रसँग सम्बन्धित प्रचार सामग्री पहिले नै सार्वजनिक भइसकेको छ । प्रतिवादीहरूले अनुमति बिना आफ्नो पहिचान र सार्वजनिक छवि चलचित्रमा प्रयोग गरिएको सलमान खानले बताएका छन् । यो कानुनी विपरीत भएको सलमानको दाबी छ ।

शुक्रवार अब दुवै पक्षको बयान सुनेपछि अदालतले यो मुद्दा पछि सारेको छ । यही कथामा चलचित्र निर्माण गर्नुको कारण पनि चलचित्रको निर्माण पक्षसँग अदालतले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

आजपाद्वारा शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको कर हटाउन माग