उदयपुर । उदयपुरमा पाँच दिनमा पाँचवटा बलात्कारको घटना घटेको छ । जिल्लाका बिभिन्न स्थानमा गरि ३ वटा बलात्कारको घटना र २ वटा बलात्कारको प्रयास भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कटारी नगरपालिका– ५ सोक्लाका १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका १५ वर्षिय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको बालकलाई आवश्यक अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।
त्यसैगरी कटारी नगरपालिका– ७ का १७ वर्षिय किशोर अनिल दनुवारले १५ वर्षिय बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाको अभिभावकले जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय कटारीमा दिएपछि प्रहरीले पिडक दनुवारलाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले बताए ।
त्यसैगरी त्रियुगा नगरपालिका– ७ चुहाडेका ६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ३६ वर्षिय एकबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरि आवश्यक कारबाही अघि बढाएको छ । पिडित बालिकाको अभिभावकले बिहिवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता गराएपछि थापालाई पक्राउ गरि अनुसन्धान थालिएको हो ।
चौदण्डीगढी नगरपालिका– १० खैडाझोडामा १० वर्षिय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा स्थानीय ४५ वर्षिय पर्बत अधिकारीलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरि आवश्यक अनुसन्धान थालेको प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले जानकारी दिए ।
गत २० जेठका दिन बिहान ८ बजेतिर बालिकालाई अधिकारीले आफनै घरमा लगि जबरजस्ती करणी गर्न खोजेको भन्दै पिडित बालिकाका अभिभावकले उजुरी दिएपछि अधिकारीलाई पक्राउ गरि थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले बताए ।
त्यसैगरी कटारी नगरपालिका– ४ सिम्लेका २८ वर्षिय युवकलाई ४५ वर्षिय महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेमसागर केसीले बताए । गाउँ नजिकको जंगलमा गएको मौका छोपी करणी गर्न खोजिएको पिडित महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।






