खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले वि.सं. २०७६ सालमा कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेकी थिइन् । त्यसको केही समयपछि नै उनी सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिइन् ।
विवाह लगत्तै लगातार दुई सन्तान जन्माएकी एलिनाको पढाइ त्यहीं रोकिएको थियो । हाल उनको छोरा कक्षा–३ र छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् । तर एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई पुनः निरन्तरता दिएकी एलिनाले यस वर्ष २.८४ जिपिए ल्याएर कक्षा–१२ उत्तीर्ण गरेकी छन् ।
एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, देवका राईले २.६२ जिपिए र सुस्मिता राईले २.३३ जिपिए ल्याएर कक्षा–१२ उत्तीर्ण गरेको पृथ्वी माविका शिक्षक दिनेशकुमार राईले जानकारी दिए । यी चार जना विवाहित महिलाले केपिलासगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बुहारी शिक्षा’ कार्यक्रम अन्तर्गत नै कक्षा–१२ उत्तीर्ण गरेका हुन् ।
केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित रेनुका माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेकी देवकाले वडा नम्बर–७ सुङ्देलमा विवाह गरी एक छोरा जन्माएपछि पढाइ पुनः सुरु गरेकी थिइन् । केपिलासगढी गाउँपालिका–३ बाक्सिला स्थायी घर भएकी शिक्षाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाटै एसइई उत्तीर्ण गरेकी थिइन् र दुई छोरा हुर्काउँदै पढाइ जारी राखेकी हुन् ।
त्यसैगरी ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी सुस्मिताले सोही ठाउँको कालिका माविबाट एसइई उत्तीर्ण गरेपछि केपिलासगढी गाउँपालिका–३ बाक्सिलामा विवाह गरी एक छोरा र एक छोरी जन्माएपछि पुनः विद्यार्थी जीवनमा फर्किएकी हुन् । सात वडा रहेको केपिलासगढी गाउँपालिकामा शैक्षिक सत्र २०७९¬८० बाट सुरु भएको उक्त कार्यक्रम छोटो समयमै प्रभावकारी बन्दै गएको पाइएको छ ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालित बुहारी शिक्षा कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न वडाका १२ जना विवाहित महिलाले सेवा लिइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए । कार्यक्रम अन्तर्गत बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्ता इच्छुक बुहारीलाई कक्षा–१२ सम्म नाम लेखाउने, फर्म भर्ने, पुस्तक, पोसाक र स्टेसनरीलगायतमा गाउँपालिकाले सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले कार्यपालिकाको बैठकमार्फत बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए । “घरमा आमा शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने भनाई छ । यही भनाई अनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याएका हौं,” अध्यक्ष राईले भने । उनले थपे, “महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाजको परिवर्तन सम्भव छ ।
कक्षा–१२ पास गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफै अघि बढ्लान् । गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको सेवा लिएर समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षासहित बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।” गाउँपालिकामा सामुदायिकतर्फ एक प्रस्तावित सहित आठवटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । पढ्न इच्छुक बुहारीले गाउँपालिकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको छ ।
घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क अभ्यास कक्षाको व्यवस्था समेत मिलाइने गाउँपालिकाले जनाएको छ । पढ्न इच्छुक बुहारीको तथ्याङ्क र आवेदन सङ्कलनका लागि गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ । आवेदन फारममा नाम, ठेगाना, अध्ययन गरेको विद्यालय, सम्पर्क नम्बर, विवाह मिति, श्रीमान्, आमा र बुबाको नाम, कक्षा–८ वा एसइई उत्तीर्ण वर्ष तथा अध्ययन गर्न नसक्नुका कारणलगायतका विवरण भर्नुपर्ने व्यवस्था छ ।
गाउँपालिकामा सञ्चालित बुहारी शिक्षा कार्यक्रमले विवाहित महिलालाई पढ्नका लागि उत्प्रेरित गर्ने र महिलाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गाउँपालिकाका उपप्रमुख गुरुराज राईले व्यक्त गरे ।
सम्बन्धित समाचार
१३० वर्षदेखि काठमाडौंवासीलाई पानी खुवाउँदैछ शिवपुरी जलाधार
होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी
स्थानीय सरकारका प्राथमिकताः युवा फर्काऊ, सन्तान बढाऊ
कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
खोकनामै अड्कियो गौरवको आयोजना
नेपाली चियामाथि भारतीय घेराबन्दी, किसान र उद्योगी संकटमा
प्रतिपक्षीको बहिष्कारबीच राति ११:४५ बजे सुदूरपश्चिमको बजेट
खानेपानी समस्यामा संस्थानको धारा वितरणले राहत






