धनगढीमा खानेपानी संकट गहिरिँदै, उपमहानगरपालिकाद्वारा प्रभावित वडामा पानी वितरण

धनगढी । लामो समयदेखि वर्षा नहुँदा धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव चुलिएको छ । नल, धारा तथा अन्य पानीका स्रोत सुकेपछि स्थानीय बासिन्दा दैनिक उपभोगका लागि पानीको समस्यामा परेका छन् ।

बढ्दो संकटलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले उपलब्ध स्रोत–साधन परिचालन गरी प्रभावित क्षेत्रमा पानी वितरण सुरु गरेको छ । खानेपानी बोक्ने छुट्टै ट्याङ्कर नभए पनि पुरानो दमकल, रोड वासर तथा बोटबिरुवामा पानी हाल्न प्रयोग हुने ट्याङ्कीमार्फत दैनिक आवश्यकताका लागि पानी उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

वडा नं. ६ को जाली क्षेत्रमा वडा अध्यक्ष भागीराम चौधरीसँग समन्वय गरी जाली देउबा पसल नजिकको चोकमा पानी वितरण गरिएको छ । त्यसैगरी वडा नं. १४ को फुलबारी–स्याउले बजार क्षेत्रमा पनि पानीको अभाव भएपछि स्याउले बजार चोकमा पानी उपलब्ध गराइएको छ ।

यस्तै, वडा नं. ७ र १२ को शिविर क्षेत्र आसपासमा समेत पानीको समस्या देखिएपछि सम्बन्धित वडा अध्यक्ष मोति राना र शेरबहादुर महरासँग समन्वय गरी सिमलटोल क्षेत्रमा पानी वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले हाल वडा नं. ६, ७, १२ र १४ मा प्राथमिकताका साथ पानी वितरण गरी स्थानीयलाई राहत पुर्‍याउने प्रयास गरिरहेको जनाएको छ । साथै, पर्याप्त वर्षा नहुँदासम्म आवश्यकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिइने पनि उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै