हुम्ला जोड्ने दोमुख पुल अलपत्र पार्ने ठेकेदारमाथि कारबाही हुने

मुगु । मुगु र हुम्ला जिल्लालाई जोड्ने कर्णाली नदीमाथिको बहुप्रतीक्षित दोमुख मोटरेबल पुल निर्माण कार्य पाँच वर्षदेखि अलपत्र परेपछि “भ्रष्टाचारविरुद्ध जरा अभियान” का युवाहरूले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री तथा मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

अभियानका संयोजक आशिष देवकोटाको नेतृत्वमा बुझाइएको पत्रमा पाँच वर्षसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसकेको, पटक-पटक म्याद थप्दा समेत अपेक्षित प्रगति नदेखिएको तथा स्थानीय नागरिकले निरन्तर सास्ती भोग्नुपरेको विषय उठाउँदै तत्काल कानुनी कारबाही, स्पष्ट कार्ययोजना र अधिकतम एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता माग गरिएको छ।

पूर्वाधार विकास कार्यालय मुगुले ठेक्का नं. आईडीओ/मुगु/डब्लु/एनसिबी/डीबी/बिआरजी/०२/२०७७/०७८ अन्तर्गत दोमुख मोटरेबल पुल निर्माणका लागि २०७८ मंसिर १४ गते हेटौंडा-२, मकवानपुरस्थित मृत सञ्जीवनी निर्माण सेवा प्रालि सँग १५ करोड ९३ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो।

सम्झौताअनुसार निर्धारित अवधिमै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारण देखाउँदै पटक-पटक म्याद थप हुँदै आएको थियो। अन्तिम पटक २०८१ असोज ५ गते म्याद थप गरी निर्माण अवधि २०८३ जेठ ३० गतेसम्म पुर्‍याइएको थियो। तर सम्झौता भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पनि निर्माण कार्यले सन्तोषजनक गति लिन नसकेको भन्दै स्थानीयवासी, युवाहरु र सरोकारवालाहरूले निरन्तर गुनासो गर्दै आएका छन्।

ध्यानाकर्षण पत्र बुझाएपछि कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले दोमुख पुलको विषय प्रदेश सभामा समेत उठिसकेको र सञ्चारमाध्यममा व्यापक रूपमा आएको भन्दै आफू यस विषयमा जानकार रहेको बताएका छन्। उनले आयोजना निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक पहल गरिने र समस्याको समाधानतर्फ मन्त्रालय गम्भीर रहेको बताएका छन्।

यस्तै मन्त्रालयका सचिव अर्जुन कुमार बम ले विषयलाई तत्काल प्राथमिकतामा राख्दै पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईं जानकारी लिएका थिए। सचिवले पाँच वर्षसम्म निर्माण कार्य नगर्ने निर्माण व्यवसायीप्रति थप नरम नीति अपनाउन नसकिने भन्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य, रोहितको शतक