सुनसरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा ‘कन्टिन्युअस एसेसमेन्ट सिस्टम (CAS) ट्रेनिङ’ कार्यक्रम आइतबार इनरुवा–३, सखुवागाछीस्थित ओम साईराम पार्टी प्यालेसमा सम्पन्न भएको छ।
कार्यक्रममा सुनसरी जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवेन्द्रबहादुर मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनाल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसी ले गरेका थिए। कार्यक्रममा सुनसरी जिल्लाका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने ३० वटा विद्यालयका १०० भन्दा बढी शिक्षक तथा शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षक प्रदीप बिष्टले निरन्तर मूल्याङ्कन प्रणाली (CAS), विद्यार्थीको सिकाइ उपलब्धिको प्रभावकारी मूल्याङ्कन, कक्षाकोठामा प्रयोग हुने नवीन शिक्षण विधि तथा बालमैत्री शिक्षण प्रक्रियाका विषयमा सहजीकरण गरेका थिए।
प्रमुख अतिथि देवेन्द्रबहादुर मल्लले वर्तमान शिक्षा प्रणालीमा केवल परीक्षा केन्द्रित शिक्षाभन्दा विद्यार्थीको निरन्तर सिकाइ, व्यवहार र सीपको मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले विद्यालयमा प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षकहरूलाई समयानुकूल तालिम र क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी विशिष्ट अतिथि कमल खनाल ले निजी विद्यालयहरू गुणस्तरीय शिक्षाका संवाहकका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बदलिँदो शैक्षिक परिवेशमा शिक्षकहरूले पनि आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने बताए।
उनले निरन्तर मूल्याङ्कन प्रणालीले विद्यार्थीको वास्तविक सिकाइ अवस्था पहिचान गर्न सहयोग पुग्ने र शिक्षालाई अझ प्रभावकारी तथा परिणाममुखी बनाउने धारणा राखे। कार्यक्रमका अध्यक्ष तथा नेशनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसीले शिक्षकको क्षमता अभिवृद्धि नै गुणस्तरीय शिक्षाको आधार भएको बताए।
उनले जिल्लाभित्रका निजी विद्यालयहरूमा आधुनिक, व्यवहारिक र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीलाई स्थापित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे।
तालिममा सहभागी शिक्षक तथा शिक्षिकाहरूले निरन्तर मूल्याङ्कन प्रणालीलाई व्यवहारमा कसरी प्रभावकारी रूपमा लागू गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान र अनुभव प्राप्त गरेको बताएका छन्। सहभागीहरूले यस्ता कार्यक्रमले कक्षाकोठामा शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
किड्स पब्लिकेसनको सहयोगमा सम्पन्न कार्यक्रमले सुनसरीका निजी विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार, शिक्षकको पेशागत विकास तथा विद्यार्थीको समग्र सिकाइ उपलब्धि अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सम्बन्धित समाचार
फिक्कल माध्यमिक विद्यालयले गर्यो उद्यमशीलता प्रदर्शनी
कक्षाकोठाबाट खेतसम्म : विद्यार्थीलाई कृषिसँग जोड्दै हिमालय इङलिस स्कुल
डाबरको महमा पुनः कैफियत, कार्वाही माग
मेची कोरिडोरको भञ्ज्याङ–बेलासे सडक काम अधुरो
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
विद्यार्थीसँग दही-चिउरा खाँदै स्वतन्त्र नागरिक समाजले मनायो असार १५
दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन






