काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पदरूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस स्वतन्त्रताप्रति रास्वपाको प्रतिबद्धता
सञ्चारमाध्यमका कार्यालयअघि राखिएका सवारीसाधनको स्वामित्व रास्वपाका कार्यकर्ताको रहेको खुलेपछि पार्टीले प्रेस स्वतन्त्रता संकुचित हुनेगरी या हस्तक्षेप हुनेगरी कुनै पनि गतिविधि नगरिने प्रस्ट पारेको हो ।
पार्टीले यस्ता गतिविधि प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ ।
महामन्त्री विपिनकुमार आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीले निर्भीकरूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका शंकास्पद तथा रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भनेको छ ।
रास्वपाले लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलका हैसियतले पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढ रहेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने उद्देश्यले गरिने जुनसुकै प्रवृत्ति र गतिविधि पार्टीलाई किमार्थ स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
रास्वपाले स्वतन्त्र र भयमुक्त पत्रकारितालाई लोकतन्त्रको प्राणवायुका रूपमा व्याख्या गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता गतिविधिको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
रास्वपाले सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीले यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
रास्वपाले दबाब वा त्रासमा नपरी पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न सञ्चारजगतलाई अपिल गर्दै सञ्चारकर्मीको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सधैँ दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
सञ्चारगृह र नेताका घरमा शंकास्पद पार्किङ
कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयका गेटमा शंकास्पद ढंगले सोमबार कार पार्किङ गरिएको थियो । कार्यालय समय सुरु नहुँदै एकसाथ तीनवटा मिडिया कार्यालय, कांग्रेस सभापति गगनकुमार थापाको निवासको गेट र हनुमानथानस्थित भाटभटेनी सुपरमार्केटअघिको सडकमा गाडी पार्किङ गरिएको थियो ।
कान्तिपुर पब्लिकेशनको गेटमा पार्किङ गरिएको सवारी रास्वपाका केन्द्रीय विभागका सदस्य रवि जयसवालको भएको पुष्टि भएको छ । अनलाइनखबरअघि पार्किङ गरिएको गाडी सुनिल पौडेल नामका व्यक्तिको नाममा दर्ता भएको भेटिएको छ भने हिमालय टिभीको गेटमा राखिएको गाडी डीआर अटोमोटिभ्सको नाममा दर्ता भएको खुलेको छ ।
सवारी साधनलाई ट्राफिक प्रहरीले हटाउन आनाकानी गरेपछि सम्बन्धित मिडिया हाउसले नै क्रेनको सहायताले उठाएर बग्गीखाना पठाएका छन् । ट्राफिक प्रहरीले भने कसले र किन एकसाथ यसरी गाडी पार्किङ गरेर राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ । यस विषयमा सरकार भने अहिलेसम्म मौन छ ।
सम्बन्धित समाचार
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक म्याद साउन ३ गतेसम्म थप
रास्वपा नेताका आफन्त सरकारी नियुक्तिमा अयोग्य
पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप
१८औं वरियताका कार्की बने मुख्यसचिव
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड






