धनगढी । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ की १९ वर्षीया बन्दना लिम्बु दुई वर्ष लामो उपचारपछि घर फर्किएकी छन् । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक वर्ष ११ महिना एक दिन उपचारपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको हो ।
कोशी प्रदेशको मोरङ जिल्लाबाट ज्यालामजदुरीका लागि डडेल्धुरा आएका बन्दनाका परिवारको आर्थिक अवस्था कमजोर रहेको थियो । छोरीको उपचार सम्पन्न भएपछि उनकी आमा धनमाया लिम्बुले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालप्रति आभार व्यक्त गरिन् ।
साइकल सिक्ने क्रममा दुर्घटना
बन्दना २०८१ साउन ३१ गते घर नजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । प्रारम्भिक उपचार डडेल्धुरा अस्पतालमा गरिए पनि थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन उनलाई निसर्ग हस्पिटल रिफर गरिएको थियो । अस्पताल भर्ना भएको भोलिपल्टै उनको पहिलो शल्यक्रिया गरिएको थियो ।
उपचार अवधिमा दुईवटा मेजर शल्यक्रियासहित आवश्यक माइनर शल्यक्रिया, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

३१ लाख ५७ हजार रुपैयाँ मिनाहा
लामो उपचारका कारण ठूलो आर्थिक भार परेपछि बिरामीको पारिवारिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च मिनाहा गरेको जनाएको छ ।
अस्पतालका अनुसार यो निर्णय स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व र सामाजिक उत्तरदायित्वको भावनाअनुरूप गरिएको हो । अस्पतालका अध्यक्ष तीर्थराज पन्तका अनुसार बन्दनाको दैनिक जीवन सहज बनाउन एक थान ह्विलचेयर पनि प्रदान गरिएको छ ।
बन्दनाको उपचारका लागि ‘फारवेस्टर्न राइडर’का नामले परिचित भरतविक्रम शाहको पहलमा ६ लाख रुपैयाँ आर्थिक सहयोग जुटाइएको थियो । अस्पतालले उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
सामाजिक विकास कार्यालय कैलालीको वार्षिक प्रगति समीक्षा सम्पन्न
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
आफ्नै जिल्लामा बजेटको वर्षा, सुदूरपश्चिम सरकारमाथि स्रोत–साधन दुरुपयोगको आरोप
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
‘आक्रोशको आगो’ मा सदाका लागि जले नेपाली
धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन






