‘मास्टर्नी’ गीतप्रति शिक्षक महासंघको आपत्ति

काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति नेपाल शिक्षक महासंघको गम्भीर आपत्ति जनाएको छ। महासंघले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भीर प्रहार गरेको भन्दै गीतको सार्वजनिक प्रदर्शन तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा ले शुक्रबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भदौ ५ गते प्रदर्शनका लागि प्रचार भइरहेको चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक (प्रोमोशनल) सामग्रीका रूपमा सार्वजनिक भएको गीतप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको सामाजिक प्रतिष्ठा र मर्यादामा प्रतिकूल असर पार्ने उल्लेख गर्दै यस्ता सामग्रीले समाजमा गलत सन्देश प्रवाह गर्ने जनाइएको छ।

महासंघले गीतलाई तत्काल सार्वजनिक प्रदर्शनबाट हटाई चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै, गीतलाई यथावत् निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिप्रति चलचित्र निर्माता तथा त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीतमा गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की को अभिनय रहेको छ। गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको शब्द, प्रस्तुति र नृत्यशैलीलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यसलाई मनोरञ्जनात्मक प्रस्तुति मानेका छन् भने कतिपयले शिक्षक पेसाको सम्मान र महिला शिक्षकको छविमाथि प्रतिकूल असर पर्ने सामग्री भएको टिप्पणी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द