उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै

उदयपुर । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड एक सातादेखि नेतृत्वविहीन भएको छ । निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएपछि उद्योगमा नयाँ कार्यालय प्रमुख नियुक्त हुन नसक्दा प्रशासनिकदेखि आर्थिक काम समेत ठप्प भएका छन् । जीर्ण अवस्थामा रहेको सिमेन्ट उद्योग चालू आर्थिक वर्ष दुई पटक गरी मुस्किलले १५ दिन सञ्चालन भएको थियो ।

उद्योग बन्द रहेको अवस्थामा नेतृत्वसमेत नहुँदा कर्मचारीहरू उद्योग परिसरमा भेला भएर समय कटाउन बाध्य भएका छन् । गत २४ असारमा निमित्त महाप्रबन्धक काफ्लेले औपचारिकरूपमा जिम्मेवारी छाडेपछि उद्योगमा कुनै पनि निर्णय गर्ने अधिकार प्राप्त अधिकारी छैनन् । उद्योगले नयाँ निमित्त महाप्रबन्धक नियुक्तिका लागि पाँच जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरे पनि अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन ।

उद्योगका सातौँ तहका कर्मचारी वीरबहादुर कार्कीका अनुसार आठौँ तहका वैद्यनाथ झा, असल राई, कृष्ण केसी, टिका कुँवर र हरिप्रसाद सुदेवीको नाम मन्त्रालयमा पठाइएको छ । सिफारिसमा परेका कर्मचारीमध्ये वैद्यनाथ झाले पहिले आफू, असल राई र कृष्ण केसीको नाम मात्र सिफारिस भएको तर पछि टिका कुँवर र हरिप्रसाद सुदेवीको नाम समेत थपिएको बताए । उनका अनुसार अहिले उद्योगमा कार्यालय प्रमुख नै नभएकाले सामान्य प्रशासनिक कामसमेत हुन सकेको छैन । ‘कुनै पत्र आउँछ भने त्यसको जवाफ कसले दिने ? निर्णय कसले गर्ने ? अहिले प्रशासनिक र आर्थिक प्रशासन दुवै ठप्प छ । उद्योग चलाउने जिम्मेवारी लिने व्यक्ति नै छैन, उद्योग पनि पूर्णरूपमा बन्द छ,’ झाले भने ।

उद्योग लामो समयदेखि बन्द रहेकाले अधिकांश कर्मचारी नियमित कामविहीन छन् । उद्योगमा कार्यरत १७५ स्थायी कर्मचारीमध्ये धेरैजसो उद्योग परिसरमै भेला भएर दिन बिताउने गरेका छन् भने केही व्यक्तिगत काममा निस्किने गरेका छन् । यता उद्योग सुरक्षाका लागि खटिएका ५८ जना सुरक्षाकर्मी भने नियमित ड्युटीमै छन् । झाका अनुसार कर्मचारीहरू उद्योगको क्वार्टरमा बसिरहनु भन्दा उद्योगमै आएर भेटघाट र गफ गरेर समय बिताउने अवस्था बनेको छ । ‘क्वार्टरमा दिनभरि बस्न मन लाग्दैन । त्यसैले उद्योगमै आएर भेटघाट गर्छौं । अब हाजिरी कसले गराउने ? कसलाई कार्यालय प्रमुख मान्ने ? त्यो पनि अन्योलमै छ,’ उनले भने ।

उद्योगको व्यवस्थापन अभावका कारण आर्थिक क्षति पनि बढ्दै गएको कर्मचारीहरूको भनाइ छ । उनका अनुसार प्याकिङका लागि आवश्यक बोरा खरिद गर्न नसक्दा करिब ६ करोड रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर गोदाममै थन्किएको छ । लामो समयसम्म बिक्री हुन नसके ती सामग्री गुणस्तर गुमाएर नष्ट हुने जोखिम बढेको उनीहरूको दाबी छ । ‘हामीसँग तयारी सिमेन्ट छ, तर बोरा किन्न नसक्दा प्याकिङ गरेर बिक्री गर्न सकेका छैनौं । यसले करोडौं रुपैयाँको सामग्री जोखिममा परेको छ । मन्त्रालयले पनि समयमै निर्णय नगर्दा समस्या झन् जटिल बनेको छ,’ झाले भने ।

उद्योग परिसरको भौतिक अवस्था पनि दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । लामो समयदेखि सञ्चालन र नियमित सरसफाइ हुन नसक्दा उत्पादन शाखाका उपकरणमा लेउ पलाएको छ । कार्यालय परिसर झारपातले ढाकिएको छ भने कवाडी सामाग्री यत्रतत्र छरिएको देखिन्छ । आवश्यक मर्मत सम्भार नहुँदा करोडौं मूल्यका मेसिनरी समेत बिग्रिने जोखिम बढ्दै गएको कर्मचारीहरू बताउँछन् ।
उद्योगका कर्मचारीहरूले तत्काल नेतृत्व नियुक्त गरी प्रशासनिक काम सुचारु गर्न, गोदाममा थन्किएको सिमेन्ट बिक्रीको व्यवस्था मिलाउन र उद्योग पुनः सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरी रहेको जानकारी दिए । उनीहरूका अनुसार उद्योग जति लामो समय नेतृत्व विहीन र बन्द रहन्छ, त्यति नै सरकारी लगानी, भौतिक संरचना र जनशक्ति थप संकटमा पर्दै जाने कर्मचारीहरूको भनाइ छ ।

उद्योगमा उत्पादन रोकिँदा उद्योगका मेसिनहरू निष्क्रिय बनेका छन् भने केही उपकरणमा माकुराको जालो लाग्न थालेको कर्मचारीहरू बताउँछन् । उद्योगका मजदुर तथा कर्मचारीहरू १६ महिनादेखि तलब–भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उद्योग प्रशासनका अनुसार हाल उद्योग माथि पाँच अर्ब २९ करोड २४ लाख १३ हजार २८२ रुपैयाँ बढी दायित्व छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर