सुन्दरहरैंचा (मोरङ) । रोगले शरीर कमजोर बनाउँछ, तर आफ्नै समाजका मानिसहरूको माया र साथले मनलाई बलियो बनाइदिन्छ। मोरङको सुन्दरहरैंचा–५, फोक्लाङ टापु निवासी क्यान्सर पीडित धनबहादुर तामाङका लागि सोमबार साँझ त्यही अनुभूति भयो।
लामो समयदेखि क्यान्सरको असह्य पीडासँग जुधिरहेका तामाङको घरमा सामाजिक अभियन्ता कृष्ण कुमार घिमिरे, सामाजिक व्यक्तित्व महेन्द्र कार्की तथा गौशाला टोल विकास संस्थाका अध्यक्ष गेहेनाथ दाहालसहितको टोली पुग्दा त्यहाँ केहीबेर भावुक वातावरण बनेको थियो। सहयोगीहरू केवल नगद र खाद्यान्न लिएर मात्र पुगेका थिएनन्, उनीहरूले “तपाईं एक्लो हुनुहुन्न” भन्ने भरोसा पनि सँगै लिएर पुगेका थिए।
सामाजिक अभियन्ता कृष्ण कुमार घिमिरेको पहलमा संकलित २२ हजार ५३५ नगद तथा दुई बोरा चामल (करिब रु. ३ हजार ४०० बराबर) क्यान्सर पीडित तामाङलाई हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरणपछि भावुक बनेका कृष्ण कुमार घिमिरेले भने, “धनबहादुर दाइको पीडा देख्दा मन थाम्न सकिएन। उपचारको खर्चले थलिएको परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेका हौँ। यो रकम ठूलो होइन, तर उहाँलाई समाजले अझै माया गर्छ भन्ने सन्देश हो। मानवताको यो यात्रा निरन्तर रहनेछ।”
सामाजिक व्यक्तित्व महेन्द्र कार्कीले यस्ता कठिन घडीमा समाजको साथ नै सबैभन्दा ठूलो औषधि हुने बताए। “जीवनमा यस्तो समय पनि आउँदो रहेछ, जहाँ एउटा हात समातिदिने मानिसको आवश्यकता पर्छ। हामीले गरेको सहयोग सानो हुन सक्छ, तर उहाँको मनोबल बढाउन यसले ठूलो भूमिका खेल्ने विश्वास छ। सबैलाई यस्ता मानवीय अभियानमा जोडिन आग्रह गर्दछु।”
गौशाला टोल विकास संस्थाका अध्यक्ष गेहेनाथ दाहालले समाजमा अझै पनि मानवता जीवित रहेको उदाहरण यो अभियान भएको बताए। “हामी सबै मिलेर पीडितको घरमा पुग्दा उहाँको आँखामा देखिएको आशा र कृतज्ञताको आँसु नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो। दुःखमा साथ दिनु नै साँचो सामाजिक दायित्व हो।”
यस सहयोग अभियानमा विभिन्न स्थानका सहयोगी मनहरू जोडिएका थिए। रवि रिजाल (विराटनगर) बाट ५,०००,आराधना पुडासैनी (रिजाल) बाट ५,०००, महेन्द्र कार्की (सुन्दरहरैंचा–५) बाट ३,४०० बराबरको दुई बोरा चामल, बाबुराम थापा (बराहक्षेत्र) बाट २,२३०, पूर्व वडा अध्यक्ष रामप्रसाद रिजालबाट २,१००, श्यामबहादुर कार्कीबाट २,१०५, प्रकाश न्यौपानेबाट २,०००, राजु कार्कीबाट २,०००, हिमालजङ खड्काबाट १,१०० तथा लिला बान्तवाबाट १,००० सहयोग प्राप्त भएको थियो।
आर्थिक अभावका कारण उपचारको यात्रा झन् कठिन बन्दै गएका धनबहादुर तामाङका लागि यो सहयोगले केही समयको राहत त दिएको छ, तर अझै उपचारको यात्रा लामो छ। उनका परिवारका सदस्यहरू भावुक हुँदै सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिँदै समाजले देखाएको माया र सद्भाव जीवनभर सम्झिरहने बताएका छन्।
कहिलेकाहीँ केही हजार रुपैयाँले रोग निको नहुन सक्छ, तर त्यसले एउटा परिवारलाई आशा दिन सक्छ। कसैको आँखाबाट निराशाको आँसु पुछेर आशाको मुस्कान फर्काइदिन सक्छ। धनबहादुर तामाङको घरमा पुगेको यो सहयोग त्यही मानवताको सुन्दर उदाहरण बनेको छ।
सम्बन्धित समाचार
संविधानसभाका ३ सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल
मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ?
संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै
घर झगडाले ‘पुराना’ दल झन् कमजोर
पोखरेली जेठोबुढो चामल: चर्चा र माग बढ्यो, उत्पादन निराशाजनक
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर






