खोटाङ । जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष ५० शैयाको स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको जनाउँदै समितिले ज्ञापनपत्र बुझाएको हो । आकस्मिक उपचारका लागि निजी कम्पनीको हेलिकप्टर चार्टर गर्दा साढे तीन लाखसम्म खर्च गर्नुपर्ने र सुविधासम्पन्न अस्पताल नहुँदा उपचारमै ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था रहेको समितिले मन्त्री पराजुलीलाई अवगत गराएका छन् ।
जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्था बुझ्न सोमबार खोटाङ आएका मन्त्री पराजुलीलाई अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लावासीको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् ।
जिल्लावासीको स्वास्थ्य अधिकार र सहज स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ५० शैयाको अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार, चिकित्सा उपकरण, प्राविधिक जनशक्ति तथा नेपाल सरकारको मापदण्डअनुसारको दरबन्दी स्वीकृत गरिदिन समितिले माग गरेको अध्यक्ष राईले जानकारी दिए ।
दिक्तेलमा निर्माणाधीन अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्ने, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरी पदपूर्ति गर्नुपर्ने, अत्याधुनिक उपकरण तथा प्रयोगशाला सेवा विस्तार गर्नुपर्ने र सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
समितिले पेश गरेको विवरण अनुसार भवनका लागि फर्निचर तथा फिक्स्चरमा २० लाख, फिजियोथेरापी उपकरणमा १५ लाख, डेन्टल सेवा उपकरणमा १५ लाख र हेमाटोलोजी तथा माइक्रोबायोलोजी प्रयोगशाला उपकरणमा २५ लाख आवश्यक पर्छ ।
यसैगरी ईसिजी मेसिन, डिफिब्रिलेटर, अपरेसन थिएटर उपकरण, भेन्टिलेटर, अल्ट्रासोनोग्राफी मेसिन लगायत अन्य उपकरण खरिदका लागि थप एक करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पराजुलीले मन्त्रालय फर्किएर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्माणाधीन अस्पताल भवन निरीक्षणपछि भएको छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आर्थिक रूपले कमजोर, दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित रहेको बताए । गुणस्तरीय र विशेषज्ञ सेवासहितको अस्पताल दिक्तेलमा सञ्चालन भए नागरिकले समयमै उपचार पाउने र जिल्लाबाहिर जानुपर्ने बाध्यता तथा आर्थिक भार समेत घट्ने उनीहरूको भनाइ छ ।
२०४९ वैशाख–१ मा १५ शैया क्षमतामा स्थापना भएको जिल्ला अस्पताल खोटाङलाई २०८२ असार–२२ मा ५० शैयाको सेवामा विस्तार गरिएको घोषणा गरिएको भए पनि अहिलेसम्म उक्त सेवा उपलब्ध नभएको सेवाग्राहीको गुनासो छ ।
सम्बन्धित समाचार
३२ वर्षपछि दोबेला प्रहरी चौकी आफ्नै भवनमा
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन, ३७० घरपरिवार लाभान्वित
भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन
भोटेकोशी बाढीः उदयपुरका २१ जनामध्ये ५ जना सम्पर्कमा
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी
भोटेकोशी बाढीपीडितलाई राप्रपा खोटाङद्वारा प्रशासनमार्फत राहत रकम
भोटेकोशी बाढीका मृतकको सम्झनामा बराहक्षेत्रमा १०८ दीप प्रज्वलन, सेतो परेवा उडाएर श्रद्धाञ्जली
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा






