टहरादेखि आधुनिक प्रशासनसम्म: बझाङका स्थानीय सरकारको बदलिँदो अनुहार

बझाङ । बिहानको करिब १० बजेको समय । विथ्थडचिर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन प्रांगणमा सेवाग्राहीको चहलपहल बढ्दै गएको छ । कोही सामाजिक सुरक्षा भत्ता विवरण बुझ्न आएका छन्, कोही जन्मदर्ताको प्रमाणपत्र लिन, त कोही योजना सम्झौताका लागि आवश्यक कागजात बोकेर कार्यालय पुगेका छन् ।

नौ स्थानीय तह आफ्नै प्रशासकीय भवनमा, मष्टामा निर्माण अन्तिम चरणतिर, सुर्माले प्रक्रिया अघि बढायो, साईपाल अझै विवादकै घेरामा

कार्यालयभित्र प्रवेश गर्नेबित्तिकै छुट्टाछुट्टै शाखा स्पष्ट देखिन्छन् । सेवाग्राहीले धेरै सोधखोज गर्नुपर्दैन । कर्मचारी आ–आफ्ना कार्यकक्षमा व्यस्त छन् । बैठक हलमा अर्को कार्यक्रम तयारी हुँदै छ । बाहिर पार्किङ व्यवस्थित छ । सबै वस्तुस्थिति सामान्य देखिन्छन् ।

अब लागौं विगततिर । यही गाउँपालिकाको अवस्था केही वर्षअघि बिल्कुल फरक थियो ।

भूकम्पले चर्किएको जीर्ण भवन, साँघुरा कोठा, एउटै कार्यकक्षमा धेरै शाखा, फाइल थुपार्न ठाउँ अभाव, वर्षायाममा चुहिने छाना र सेवा लिन आएका नागरिकको लामो भीड । यी दृश्य विथ्थडचिरका मात्र होइन, बझाङका अधिकांश स्थानीय तहको कटुसत्य थिए । संघीयता लागू भएसँगै स्थानीय सरकारलाई संविधानले व्यापक अधिकार दियो, तर ती अधिकार कार्यान्वयन गर्ने आधारभूत पूर्वाधार भने पर्याप्त थिएन । कतिपय पालिकाले भाडाका घरबाट सेवा सञ्चालन गरे, कतिपयले टिनका टहरा रोजे भने केहीले दशकौं पुराना सरकारी भवनमै स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्नुप¥यो ।

स्थानीय सरकार गठन भएको प्रारम्भिक वर्ष अधिकांश जनप्रतिनिधिको पहिलो चुनौती विकास योजना बनाउनुभन्दा पनि कार्यालय चलाउने ठाउँ खोज्नु थियो । कर्मचारी बस्ने कोठा थिएन, अभिलेख राख्ने सुरक्षित स्थान थिएन, कार्यपालिका बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ थिएन । कतिपय पालिकामा एउटै कोठाबाट प्रशासन, लेखा, योजना, शिक्षा, कृषि र सामाजिक सुरक्षा शाखा सञ्चालन हुन्थे । सेवाग्राहीले एउटा कामका लागि आएको बेला अर्को शाखाको भिडमा घण्टौं कुर्नुपर्ने अवस्था थियो । करिब दशक अवधिमा बझाङको यी तस्बिर विस्तारै बदलिँदै गएका छन् ।

जिल्लाका १२ मध्ये अहिले अधिकांश स्थानीय सरकारले आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन गरिरहेका छन् । केही वर्षअघिसम्म अस्थायी संरचनामै सीमित स्थानीय सरकार अहिले स्थायी र आधुनिक भवनमा उभिएका छन् । यी भवनले कार्यालयको स्वरूपमात्रै बदलेका छैनन्, स्थानीय प्रशासनको कार्यशैली, सेवा प्रवाहको गुणस्तर र नागरिकको अनुभवमा पनि परिवर्तन ल्याउन थालेका छन् ।

स्थानीय सरकारका लागि प्रशासकीय भवन सुन्दर संरचनासँगै विकास योजना, बजेट विनियोजन, सामाजिक सुरक्षा वितरण, विपद् व्यवस्थापनलगयात निर्णय गर्ने थलो हुन् । यही“ जन्मदेखि मृत्यु दर्तासम्मका सरकारी अभिलेख तयार हुन्छन् । नागरिकले सबैभन्दा बढी भेट्ने सरकार यही“ हो । त्यसैले यसको भौतिक पूर्वाधार बलियो हुनु स्थानीय शासन प्रभावकारी हुने पहिलो आधार मानिन्छ ।

विथ्थडचिर गाउँपालिकाले अहिले त्यही परिवर्तन आत्मसात् गरेको छ । एएम किनारा जेभीले ५ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण गरेको चारतले प्रशासकीय भवन सञ्चालनमा आएपछि गाउँपालिकाले आफ्नै भवनबाट नियमित सेवा दिन थालेको हो । फराकिला कार्यकक्ष, व्यवस्थित शाखा, बैठक हल र अभिलेख व्यवस्थापन सुविधाले गाउँपालिकाको दैनिक कामकाजमा उल्लेखनीय सुधार आएको छ ।

गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल नयाँ भवनले सेवा प्रवाहलाई नयाँ गति दिएको बताउँछिन् । उनका अनुसार पहिला भवन अभावका कारण एउटै कोठामा तीन–चारवटा शाखा सञ्चालन गर्नुपर्ने बाध्यता थियो । सेवाग्राही ‘कुन शाखामा जाने ?’ भन्ने अन्योलमा पर्थे । कर्मचारीलाई पनि प्रभावकारीरूपमा काम गर्न कठिन हुन्थ्यो । अहिले सबै शाखा व्यवस्थित भएपछि नागरिकले सहज र छिटो सेवा पाउन थालेका छन् ।

गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय सरकारको सफलतामा भवनसँगै नागरिकको सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताइन् । ‘जनप्रतिनिधिले मात्रै सबै काम गर्न सक्दैनन्,’ उनी भन्छिन्, ‘नागरिकका सुझाव, साथ र निगरानीले मात्रै स्थानीय सरकार अझ प्रभावकारी बन्न सक्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितबहादुर महराका अनुसार नयाँ भवनले कार्यालयको स्वरूपमात्रै परिवर्तन गरेको छैन, कर्मचारीको कार्यक्षमतामा पनि सकारात्मक प्रभाव पारेको छ । भूकम्पले चर्किएको पुरानो भवनमा सेवा सञ्चालन गर्दा कर्मचारी र सेवाग्राही दुवैले असहजता भोग्नुपथ्र्यो । अहिले सुरक्षित र व्यवस्थित वातावरणमा काम गर्न पाउँदा प्रशासनिक कार्यसम्पादन सहज भएको उनी बताउ“छन् ।

विथ्थडचिरमा देखिएको परिवर्तन बझाङका अन्य स्थानीय तहमा पनि विस्तारै फैलि“दै छ । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन गरिरहेका छन् । यी भवनले स्थानीय प्रशासनलाई संस्थागत बनाउनुका साथै ग्रामीण क्षेत्रमा राज्यको उपस्थिति अनुभूति पनि बलियो बनाएका छन् ।

यता, दुर्गाथली गाउँपालिकाको अनुभव अझ प्रेरणादायी छ । केही वर्षअघिसम्म गाउँपालिका कार्यालय टिनको टहरामा सञ्चालन हुन्थ्यो । गर्मीमा अत्यधिक ताप, जाडोमा कठ्यांग्रिने चिसो र वर्षामा चुहिने छानाबीच कर्मचारीले काम गर्नुपर्ने बाध्यता थियो । सेवाग्राहीलाई बस्ने ठाउँसमेत पर्याप्त थिएन । आज यही गाउँपालिकाले करिब ७ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आधुनिक प्रशासकीय भवनबाट सेवा सञ्चालन गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष दिलबहादुर थापाका अनुसार नयाँ भवन निर्माणसँगै कर्मचारीलाई काम गर्न, सेवाग्राहीलाई सेवा लिन र कार्यपालिका बैठक सञ्चालन गर्न निकै सहज भएको छ । कार्यालय व्यवस्थापन व्यवस्थित बनेको छ भने अभिलेख संरक्षण पनि पहिलेभन्दा सुरक्षित भएको छ ।

यसैगरी, तलकोट गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा सञ्चालन गरिरहेको छ भने थलारा गाउँपालिकाले चार वर्षदेखि आफ्नै भवन प्रयोग गर्दै आएको छ । यसअघि, थलाराले स्थानीय क्याम्पसको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको थियो । सीमित संरचनाले प्रशासनिक काममा कठिनाइ हुन्थ्यो । आफ्नै भवन सञ्चालनमा आएपछि त्यो समस्या धेरै हदसम्म समाधान भएको छ ।

केदारस्युँ गाउँपालिकाले भने जिल्लामै फरक पहिचान बनाएको छ । लिफ्टसहितको सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेर गाउँपालिकाले आधुनिक प्रशासनिक पूर्वाधारतर्फ नयाँ अभ्यास सुरु गरेको छ । गाउँपालिका अध्यक्ष गणेश बोहराका अनुसार भवन निर्माण गर्दा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त नागरिकलाई सहज पहुँच हुने विषयलाई विशेष प्राथमिकता दिइएको छ । आधुनिक संरचनासँगै प्रविधिमैत्री सेवा विस्तार योजना पनि गाउँपालिकाले अघि सारेको छ ।

स्थानीय तहमा प्रशासकीय भवन निर्माणसँगै अर्को महŒवपूर्ण परिवर्तन सेवाग्राहीको अनुभवमा देखिएको छ । पहिले कार्यालय पुगेपछि ‘कुन शाखामा जाने ?’ भन्ने अन्योल हुन्थ्यो । अहिले अधिकांश पालिकामा शाखागत व्यवस्थापन स्पष्ट छ । सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, कर, योजना, कृषि, शिक्षा वा प्रशासनसम्बन्धी सेवा छुट्टाछुट्टै कक्षबाट सञ्चालन हुँदा समय र श्रम दुवै बच्न थालेको छ ।

यद्यपि, सबै स्थानीय तह समान अवस्थामा पुगेका छैनन् । केही पालिका अझै आफ्नै भवनको प्रतीक्षामा छन् । मष्टा गाउँपालिकामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने सुर्मा गाउँपालिकाले निर्माण प्रक्रिया अघि बढाएको छ । दुर्गम भूगोल, सीमित बजेट र निर्माण सामग्री ढुवानी कठिनाइबाबजुद यी पालिकाले आफ्नै प्रशासनिक केन्द्र निर्माण प्रयास जारी राखेका छन् ।

मष्टा गाउँपालिकामा पनि आफ्नै प्रशासकीय भवनको सपना अब पूरा हुने चरणमा पुगेको छ । गाउँपालिका केन्द्रमा निर्माणाधीन भवनले पूर्णता पाएपछि वर्षौंदेखि अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको प्रशासनिक सेवा एउटै आधुनिक भवनकेन्द्रित हुनेछ ।

गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराका अनुसार भवन निर्माण सन्तोषजनक गतिमा अघि बढिरहेको छ । निर्माण सम्पन्न भएपछि सबै शाखालाई एउटै भवनमा स्थानान्तरण गरेर नागरिकलाई थप सहज र व्यवस्थित सेवा दिने तयारी गरिएको उनी सुनाउ“छन् । ‘स्थानीय सरकारको काम दिनप्रतिदिन बढिरहेको छ, त्यसअनुसार कार्यालयको भौतिक संरचना पनि विस्तार गर्नुपर्ने आवश्यकता थियो,’ उनी भन्छन्, ‘आफ्नै भवन बनेपछि सेवा व्यवस्थापनमात्रै होइन, कर्मचारीको कार्यसम्पादन र नागरिकको विश्वास पनि बढ्ने अपेक्षा गरेका छौं ।’

जिल्लाको अर्को हिमाली स्थानीय तह सुर्मा गाउँपालिकाले भने अझै भाडाकै घरबाट प्रशासन सञ्चालन गरिरहेको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न अनेक चुनौती खेप्नुपरेको छ । सीमित कोठा, अभिलेख संरक्षण समस्या र सेवा व्यवस्थापन कठिनाइ यथावत् छन् ।

सुर्मा गाउँपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बोहराका अनुसार करिब ६ करोड ५० लाख रुपैयाँ लागतमा प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढिसकेको छ । आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा भएपछि निर्माण कार्य सुरु हुनेछ । भवन बनेपछि अहिले देखिएका अधिकांश प्रशासनिक समस्या समाधान हुने अपेक्षा उनको छ ।

जिल्ला एक, गति फरक
सुर्मा र मष्टाको अवस्था हेर्दा बझाङका स्थानीय तह एउटै गतिमा अघि बढेका छैनन् भन्ने स्पष्ट हुन्छ । भौगोलिक विकटता, सीमित स्रोत, निर्माण सामग्री ढुवानीको उच्च लागत र बजेट व्यवस्थापनका कारण हिमाली क्षेत्रका पालिकामा पूर्वाधार निर्माण अपेक्षाकृत ढिलो भएको देखिन्छ । अधिकांश स्थानीय तहले स्थायी प्रशासनिक केन्द्र निर्माणलाई प्राथमिकतामा राखेका छन् । यद्यपि, बझाङको स्थानीय शासनको यात्रामा सबैभन्दा बढी चर्चा पाएको विषय भने साईपाल गाउँपालिकाको प्रशासकीय भवन हो ।

जिल्लाकै सबैभन्दा दुर्गम मानिने साईपाल गाउँपालिकामा प्रशासकीय भवन निर्माण राजनीतिक विवादको विषय बनेको छ । पूर्वजनप्रतिनिधिले काँकरकोटनजिकै भवन निर्माणका लागि जग्गा खरिद गरी चारकोठे भवन निर्माण गरेका थिए । त्यसबेला सोही स्थानलाई गाउँपालिकाको स्थायी प्रशासनिक केन्द्र बनाउने उद्देश्य राखिएको थियो । तर, स्थानीय तहको नेतृत्व परिवर्तनसँगै परिस्थिति फेरियो । नयाँ जनप्रतिनिधिले ‘पुरानो स्थान दीर्घकालीनरूपमा उपयुक्त नभएको, पर्याप्त जग्गा नभएको र भविष्यमा प्रशासनिक विस्तार गर्न समस्या हुने’ तर्क गर्दै वडा ३ मा अर्को भवन निर्माण सुरु गरे । यसको परिणाम भने सकारात्मक हुन सकेन ।

अहिले दुवै स्थानमा निर्माण भएका संरचना अधुरा अवस्थामा छन् । सार्वजनिक कोषबाट लाखौं रुपैयाँ खर्च भए पनि कुनै पनि भवन पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । गाउँपालिका अहिले पनि वडा ३ मा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।

स्थानीयका अनुसार विकास योजनामा राजनीतिक सहमति अभाव हुँदा सार्वजनिक लगानीको प्रभावकारिता कमजोर बनेको छ । एउटै उद्देश्यका लागि दुई ठाउँमा खर्च भएको रकमले एउटा सुविधासम्पन्न भवन सहजै निर्माण हुन सक्ने उनीहरूको तर्क छ । साईपालको यस उदाहरणले विकास योजनामा दीर्घकालीन सोच र राजनीतिक निरन्तरताको महŒव अझ स्पष्ट पारेको छ । प्रशासकीय भवन निर्माणमा देखिएको अर्को साझा चुनौती बजेट अभाव पनि हो । स्थानीय तहका जनप्रतिनिधि भन्छन्, ‘संघीयता लागू भएपछि जिम्मेवारी बढे पनि त्यसअनुसार स्रोत–साधनको सुनिश्चितता हुन सकेको छैन ।’

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाका अनुसार संघीय र प्रदेश सरकारबाट अपेक्षाकृत बजेट प्राप्त नहुँदा सबै योजना एकैपटक कार्यान्वयन गर्न कठिन भएको छ । त्यसैले उपलब्ध स्रोत प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनका अनुसार स्थानीय सरकारको पहिलो दायित्व नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र प्रशासनिक पूर्वाधारलाई सन्तुलितरूपमा अघि बढाउनुपर्ने भएकाले बजेट अभावले धेरै योजना प्रभावित हुने गरेका छन् ।

असहज भौगोलिक अवस्था
बझाङको भौगोलिक अवस्थाले पनि प्रशासनिक पूर्वाधार निर्माणलाई सहज बनाएको छैन । जिल्लाका अधिकांश स्थानीय तह पहाडी र हिमाली भूभागमा रहेका छन् । निर्माण सामग्री ढुवानीदेखि दक्ष जनशक्ति परिचालनसम्म सबै काम अन्य जिल्लाका तुलनामा महँगो र कठिन हुन्छ । कतिपय स्थानमा अझै पनि सडक सञ्जाल पूर्णरूपमा विस्तार हुन नसक्दा निर्माण सामग्री मानिस वा खच्चडमार्फत ढुवानी गर्नुपर्ने बाध्यता छ । त्यसले निर्माण लागत बढाउनुका साथै काम सम्पन्न हुन लामो समय लाग्ने गरेको छ ।

यी चुनौतीका बावजुद पछिल्ला वर्ष बझाङका स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माणमा उल्लेखनीय प्रगति गरेका छन् । यो परिवर्तन भौतिक पूर्वाधार विस्तारमात्र होइन, स्थानीय शासनको संस्थागत विकास पनि हो । नागरिकसँग प्रत्यक्ष जोडिने सरकार भएकाले जन्मदर्तादेखि मृत्यु दर्तासम्म, सामाजिक सुरक्षा भत्तादेखि विकास योजना कार्यान्वयनसम्म नागरिकले सबैभन्दा बढी भेट्ने सरकारी निकाय नै हो । त्यसैले यसको कार्यालय व्यवस्थित हुनु भनेको सेवा प्रणाली व्यवस्थित हुनु पनि हो ।

आधुनिक भवन बन्यो भने कार्यालयको अनुहार फेरिन्छ । शाखागत व्यवस्थापन स्पष्ट देखिन्छ छ । अभिलेख संरक्षण सुरक्षित बन्छ । सूचना प्रविधि प्रयोग विस्तार गर्ने आधार तयार हुन्छ । सेवाग्राहीका लागि प्रतीक्षालय, बैठक कक्ष र आवश्यक सुविधा थपिए नागरिकको अनुभवमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । भवन बनेपछिमात्रै भने सबै समस्या स्वतः समाधान हुँदैनन् । कतिपय पालिकामा अझै दक्ष जनशक्ति अभाव छ । सूचना प्रविधि प्रयोग अपेक्षाअनुसार हुन सकेको छैन । केही शाखामा एकै कर्मचारीले धेरै जिम्मेवारी सम्हाल्नुपरेको छ । त्यसैले अबको चुनौती भवन निर्माणभन्दा पनि सेवा प्रणाली थप प्रभावकारी बनाउनु हो ।

संघीयताको सफलताको मापन भवनको उचाइले हुँदैन, त्यहाँबाट प्रवाह हुने सेवाको गुणस्तरले हुन्छ । ‘सेवाग्राहीले सहज, छिटो र पारदर्शी सेवा पाउँछन् ?’ कि पाउँदैनन्, ‘सार्वजनिक स्रोतको सदुपयोग हुन्छ कि हुँदैन ?’, ‘निर्णय प्रक्रिया उत्तरदायी बन्छ कि बन्दैन ?’ यी प्रश्नको उत्तर अझ बढी महŒवपूर्ण बन्छन् ।

केही वर्षअघिसम्म टिनका टहरा, भाडाका घर र जीर्ण भवनमा सीमित बझाङका स्थानीय प्रशासन आज आधुनिक प्रशासकीय भवनतर्फ अघि बढिरहेको छ । यो परिवर्तन सहज थिएन, सीमित बजेट, कठिन भूगोल, निर्माण सामग्री ढुवानीको समस्या, प्राविधिक जटिलता र प्रशासनिक चुनौतीबीच स्थानीय तहले आफ्ना स्थायी संरचना निर्माण गरेका हुन् ।

अझै केही योजना अधुरा छन् । मष्टा र सुर्माले आफ्ना भवन पूरा गर्न बाँकी छ । साईपालले राजनीतिक विवाद टुंग्याएर स्थायी समाधान खोज्न बाँकी छ । बझाङमा स्थानीय सरकार अब अस्थायी संरचनाबाट स्थायी संस्थामा रूपान्तरण हुँदै छ । यी भवन इँटा, सिमेन्ट र फलामले बनेका संरचनामात्रै होइनन्, संघीय नेपालको स्थानीय शासनको आधारशिलासमेत हुन् । ती भवनभित्रबाट नागरिकले छिटो, सहज, पारदर्शी र उत्तरदायी सेवा पाउन सके भनेमात्रै परिवर्तनले पूर्ण अर्थ पाउने छ । नत्र, आधुनिक भवन संरचनामै सीमित रहने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था