भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकका घरमा भूमिगत विद्युत् लाइन जोड्न थालेको छ।

मङ्गलबारदेखि भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो। आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहीको घरमा लाइन जोडिसकेको छ। आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिएको जनाएको छ। ग्राहकका घरमा लाइन जडान गर्ने काम मात्र बाँकी छ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहीका घरमा जडान गर्ने काम पनि तीव्र पारिएको छ। उनले भने, “अहिलेसम्म तीन सय जना ग्राहकको घरमा भूमिगत प्रक्रियाबाट लाइन जडानको काम सकिएको छ।”

भरतपुर महानगरपालिकाको छ लेन सडक र बाइपास सडकको २० किलोमिटर क्षेत्रमा भूमिगत पद्धतिबाट लाइन प्रसारण गरिनेछ। यसअन्तर्गत एक हजार ३०० ग्राहकका घरमा भूमिगत विद्युतीकरणमार्फत विद्युत् वितरण गरिने उनले बताए।

उनले भने, “ग्राहकका घरघरमा भूमिगत विद्युतीकरणमार्फत लाइन पुर्‍याएका छौँ, अब जडानको काम बाँकी छ।”

हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोकसम्म दाहिनेतर्फका घर, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठी क्षेत्रका घरमा भूमिगत विद्युतीकरणमार्फत विद्युत् वितरण गरिएको उनले जानकारी दिए।

आँपटारीदेखि केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनलदेखि पुलचोक, आँपटारीदेखि पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिकको नहरसम्म विद्युतीय तार भूमिगत गर्ने काम सम्पन्न भएको छ।

सुवेदीका अनुसार अहिले परीक्षणका लागि बिजुली पास नहुने गरी लोडमा चार्ज गर्ने काम भइरहेको छ। बाइपास रोडको दुवैतर्फ गरी नौ किलोमिटर, केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म दुवैतर्फ आठ किलोमिटरमा ३३ केभी, आँपटारीदेखि पोखरा बसपार्कसम्म एकतर्फ १।५ किलोमिटर ११ केभी तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १।५ किलोमिटर क्षेत्रमा एकतर्फी ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गर्ने काम सकिएको उनले जानकारी दिए।

उनका अनुसार असोजसम्म भूमिगत विद्युतीकरणमार्फत विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाइएको छ।

उनले भने, “विद्युतीकरणका लागि आवश्यक काम सकिए पनि मौसमका कारण काममा कठिनाइ भएको हो।”

कतिपय स्थानमा परीक्षणका क्रममा समस्या देखिने गरेको जनाउँदै उनले सामान्य कामबाहेक सबै काम सकिएको जानकारी दिए।

आज औद्योगिक फिडरको लाइनमा चार्ज गरिनेछ। ठेकेदार कम्पनीको तेस्रोपटक थप गरिएको समयसमेत सकिएकाले चौथोपटक म्याद थपका लागि पत्र आएको उनले जानकारी दिए। यस विषयमा कति म्याद थप गर्ने भन्ने निर्णय भएको छैन।

परियोजना भारतको टाटा प्रोजेक्ट्सले सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरी सन् २०२४ जनवरी १९ मा सक्ने लक्ष्य राखेको थियो। भरतपुरमा विद्युत् भूमिगत गर्न मात्र एक अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। बजेट बढेसँगै काम गर्ने क्षेत्र पनि विस्तार गरिएको थियो। आँपटारीदेखि पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिकको नहरसम्मको क्षेत्र पछि थप गरिएको हो।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा करिब तीन अर्ब रुपैयाँ लागतमा सञ्चालन भइरहेको उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त