सीप सिक्ने, रोजगारी पाउने: धनगढीमा माघ ५ देखि प्रदेशस्तरीय मेला सञ्चालन हुने

धनगढी । कैलालीको धनगढीमा आगामी माघ ५ गतेदेखि प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सो मेला हुन लागेको हो । वार्षिक क्यालेन्डरअनुसार मेला सञ्चालनका लागि उपमहानगरपालिकाले आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।

उपमहानगरपालिकाले विगत तीन वर्षदेखि सीप तथा रोजगार मेला सञ्चालन गर्दै आएको छ । आगामी मेला पनि निर्धारित समयमै सञ्चालन गर्ने लक्ष्यसहित रोजगारदाता, तालिम प्रदायक संस्था, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायसँग छलफल, समन्वय र सहकार्यलाई तीव्र बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार २०८१ र २०८२ सालमा पनि प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालन गरिएको थियो । २०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थी सहभागी भएका थिए भने २०८२ सालको मेलामा ६ सयभन्दा बढी युवायुवतीले सहभागिता जनाएका थिए ।

विगतका मेलाबाट प्राप्त अनुभवका आधारमा यसपटकको मेलालाई थप व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

२०८२ सालमा आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ८४ स्थानीय तहको सहभागिता रहेको थियो । सात प्रमुख क्षेत्रअन्तर्गत २२ विधामा सीपमूलक तालिम सञ्चालन गरिएको उक्त मेलामा सहभागीलाई ३० दिनको सीप विकास तालिमसँगै १० दिन रोजगारीसँग जोडिने व्यावहारिक अभ्यास र उद्यमशीलता तालिम प्रदान गरिएको थियो ।

सीप तथा रोजगार मेलालाई तालिम दिने र लिने कार्यक्रममा मात्र सीमित नराखी स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणलाई समेत प्राथमिकता दिइएको थियो । उपमहानगरपालिकाले निःशुल्क स्टलको व्यवस्था गरी विभिन्न स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन तथा गतिविधि प्रदर्शन गर्ने अवसरसमेत दिएको थियो ।

डोटीको जोरायल गाउँपालिकालगायत विभिन्न स्थानीय तहको सहभागिताले मेलालाई सीप, रोजगारी, उद्यमशीलता र अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित गर्न सहयोग पुगेको उपमहानगरपालिकाको भनाइ छ ।

आगामी मेलामार्फत श्रम बजारको मागअनुसारका सीप प्रदान गर्दै युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ । स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्दै सीपयुक्त जनशक्तिलाई अवसरसँग जोड्ने गरी मेलालाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ