सप्तरी, राजविराज । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक रिपोर्ट नेगेटिभ आएपछि सप्तरीमा बिहीबार एकै दिन १७ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण भई साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुको कोरोना परिक्षणको दोश्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मी पनि छन् । यसबाहेक बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना डिस्चार्ज भएका छन् ।
उनीहरुलाई घरमा पनि आवश्यक सर्तकता अपनाउन निर्देशनसहित बिदाई गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुरपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताए । जिल्लामा हालसम्म भेटिएका १ सय २१ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय जना मात्र संक्रमित आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्लामा पहिलो पटक यति धेरै संख्यामा कोरोना संक्रमित निको भएपनि बिहीबारै ९ जना संक्रमित भने थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबारै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र बोदेबर्साइन नगरपालिकाका ३ गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सबै संक्रमितलाई साईकृष्णा अस्पतालको आइसोलेशनमा राखी उपचार व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।






