३० दिन अल्पमतमा बसेर शाहको राजीनामा, सुदूरपश्चिममा नयाँ सरकारको बाटो खुला

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एमालेले समर्थन फिर्ता लिएको ३०औँ दिनमा शाहले राजीनामा घोषणा गरेका हुन् ।

प्रदेशसभामा सम्बोधन गर्दै शाहले बजेट निर्माणको विषयलाई लिएर आफूविरुद्ध राजनीतिक तथा व्यक्तिगत आरोप लगाइएको बताए । सरकारको साझेदारका रूपमा बजेट निर्माणका हरेक चरणमा सहभागी भएको एमालेले पछि आफ्नै सहभागितामा तयार भएको बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव ल्याएर प्रदेशमा अस्थिरता निम्त्याएको उनको आरोप थियो ।

‘आफैंले ल्याएको बजेटमा संशोधन प्रस्ताव ल्याउनु भनेको सुदूरपश्चिमका भोका पेटहरूमाथिको प्रहार हो । यो प्रदेशलाई अस्थिरतातर्फ धकेल्ने खेल थियो,’ शाहले भने ।

बजेटका विषयमा विवाद बढेपछि नयाँ आर्थिक वर्ष सुरु हुँदासमेत सुदूरपश्चिम प्रदेश बजेटविहीन अवस्थामा पुगेको थियो । प्रदेश सरकारले राजस्व सङ्कलन गर्न पाए पनि बजेट पारित नहुँदा खर्च गर्ने कानुनी आधार नहुँदा विकास निर्माणदेखि नियमित सरकारी कार्यक्रमसमेत प्रभावित भएका थिए ।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार नेकपा र नेकपा एमालेबीच प्रदेश सरकार गठनका लागि सहकार्य भएको बताइएको छ । सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।

शाहको राजीनामासँगै लामो समयदेखि जारी राजनीतिक अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ । तर नयाँ सरकारका सामु बजेट शून्यता अन्त्य गर्नु र प्रदेशसभाबाट नयाँ बजेट पारित गराउनु प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी