काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ मा प्राप्त विवरणअनुसार ८,७२४ जना बालबालिका हराएको विवरण दर्ता भएकोमा ८,४३८ जना फेला परेका छन् । केन्द्रको वार्षिक संख्यात्मक कार्यप्रगति विवरणअनुसार फेला परेका बालबालिकाको संख्या कुल हराएका बालबालिकाको ९६ प्रतिशत हो । २८६ जना बालबालिकाको खोजतलास जारी रहेको छ ।
हराएका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘हराएका बालबालिका खोजतलास तथा पारिवारिक पुनर्मिलन वर्ष–२०८३’ विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
आगामी अभियानले हराएका बालबालिकाको खोजतलासलाई तीव्र बनाउने, परिवार पहिचान तथा सुरक्षित पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिने, संरक्षणमा रहेका बालबालिकाको पारिवारिक पुनःस्थापना गर्ने तथा सम्बन्धित सरकारी निकाय र सरोकारवाला संस्थाबीचको समन्वयलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।
बेवारिसे बालबालिकाको उद्धारदेखि परिवारमा पुनर्मिलनसम्म
बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ को विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८४ जना बेवारिसे बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २९५ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने ७९ जना संरक्षणमा रहेका छन् । त्यस्तै, अस्थायी संरक्षण गृहबाट आफैँखुसी हिँडेका १० जना बालबालिका समेत अभिलेखमा रहेका छन् ।
यी तथ्यांकले बालबालिकाको उद्धारसँगै उनीहरूको परिवार पहिचान र सुरक्षित पुनर्मिलनलाई प्राथमिक परिणामका रूपमा अघि बढाउनुपर्ने आवश्यकता समेत देखाएको छ ।
सडक बालबालिकाको उद्धार र संरक्षणमा निरन्तरता
केन्द्रको वार्षिक विवरणअनुसार १८६ जना सडक बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ८१ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने ९८ जना संरक्षणमा रहेका छन् । संरक्षण गृहबाट आफूखुसी हिँडेका ७ जना बालबालिकासमेत अभिलेखमा रहेका छन् ।
त्यसैगरी, जोखिमपूर्ण श्रममा संलग्न ४५ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने १३ जना संरक्षणमा रहेका छन् ।
खोजतलास मात्र होइन, सुरक्षित भविष्यको सुनिश्चितता
मन्त्रालयले बालबालिका संरक्षणलाई केवल उद्धारमा सीमित नगरी खोजतलास, उद्धार, सुरक्षित संरक्षण, परिवार पहिचान, पारिवारिक पुनर्मिलन र आवश्यक पुनःस्थापनासम्मको एकीकृत प्रक्रियाका रूपमा अघि बढाउने नीति लिएको छ ।
‘हराएका बालबालिका खोजतलास तथा पारिवारिक पुनर्मिलन वर्ष–२०८३’ मार्फत बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ को अभिलेख तथा खोजतलास प्रणालीलाई थप व्यवस्थित बनाउने, हराएका बालबालिकाको खोजीलाई तीव्रता दिने र फेला परेका बालबालिकालाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रमले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र तथा बाल संरक्षण क्षेत्रमा कार्यरत सरोकारवाला संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै बालबालिकाको खोजतलास तथा संरक्षण प्रणालीलाई संस्थागत र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी, मन्त्रालयले ‘सडक बालबालिका मुक्त नेपाल’ अभियानमार्फत सडकमा आश्रित बालबालिकाको उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनामा जोड दिनेछ । यसको उद्देश्य बालबालिकालाई सडकबाट हटाउनु मात्र नभई उनीहरूलाई सुरक्षित परिवार, शिक्षा, स्वास्थ्य, संरक्षण र अवसरसँग जोड्दै सम्मानजनक र सुरक्षित भविष्य सुनिश्चित गर्नु हो ।
बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ को वार्षिक प्रगतिले हराएका, बेवारिसे, सडकमा आश्रित तथा जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको संरक्षणमा खोजतलासदेखि पारिवारिक पुनर्मिलनसम्मको समन्वित प्रणालीको महत्व स्पष्ट गरेको छ ।
मन्त्रालयले आगामी दिनमा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै हराएका बालबालिकाको खोजतलास, जोखिममा रहेका बालबालिकाको उद्धार, सुरक्षित संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनालाई थप संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउने जनाएको छ ।
सम्बन्धित समाचार
सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने
सुनकोशीमा कारसहित बेपत्ता तीन जनाको खोजीका लागि बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन
नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच मध्यराति १९ बुँदे सहमति
भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ
लुकाएर राखिएको १३ सिलिण्डर ग्यास भेटियो, तिराइयो ५० हजार रुपैयाँ जरिवाना
बढे विपद्का घटना, एकै दिन ४१ घटना
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ





