अख्तियारद्वारा कैलालीमा दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १३ महिनापछि ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै कैलालीबाट घुससहित एकजनालाई पक्राउ गरेको छ ।

अख्तियारको कञ्चनपुरस्थित कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहीबार दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

अख्तियार कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधा वृद्धि गरिदिने भन्दै बमले रकम मागेको सूचना प्राप्त भएपछि आयोगले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको थियो । सोही क्रममा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित एक डेरी पसलबाट रकमसहित नियन्त्रणमा लिइएको हो ।

यसअघि गत वर्ष ५ साउनमा अख्तियारले कैलालीका सहायक वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो । त्यसयता करिब १३ महिनासम्म अख्तियारको कञ्चनपुरस्थित कार्यालयले भ्रष्टाचारमा संलग्न कर्मचारी, बिचौलिया वा अन्य व्यक्तिलाई नगद वा भौतिक घुससहित पक्राउ गरेको थिएन ।

संघीय सरकारले विद्यालय कर्मचारीको तलब वृद्धि गरेको भोलिपल्टै विद्यालय व्यवस्थापन समितिका सदस्यले कर्मचारीबाट ठूलो रकम मागेको घटना सार्वजनिक भएपछि विद्यालय कर्मचारीसमेत असन्तुष्ट बनेका छन् ।

सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति, बढुवा र सेवा–सुविधा वृद्धि गर्दा आर्थिक चलखेल हुने गरेको गुनासोबीच अख्तियारको पछिल्लो कारबाहीले विद्यालय व्यवस्थापनमा संलग्न पदाधिकारी तथा अन्य जिम्मेवार पक्षलाई समेत सचेत गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीमा ७ सदस्यीय मन्त्रिमण्डल बिस्तार