सुदूरपश्चिम प्रदेशसभा : एकै वर्षमा राज्यकोषबाट १४ करोड खर्च, कानुन बनाउन भने सुस्त

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन, सांसदको सेवा–सुविधा, तलबभत्ता, स्वकीय सचिव, सवारीसाधन तथा इन्धनलगायतका शीर्षकमा १४ करोड २ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । तर, राज्यकोषबाट करोडौँ रुपैयाँ खर्च भए पनि प्रदेशसभाको विधायिकी उपलब्धि भने कमजोर देखिएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीको तथ्यांकअनुसार सो अवधिमा प्रदेशसभाले जम्मा दुईवटा विधेयक मात्रै पारित गरेको छ । ती दुवै नयाँ कानुन निर्माणसम्बन्धी नभई विद्यमान कानुनका केही व्यवस्था संशोधन गर्ने विधेयक हुन् ।

यसले एक वर्षको अवधिमा प्रदेशसभाले नयाँ अवधारणा र जनताका प्रत्यक्ष सरोकार सम्बोधन गर्ने कुनै नयाँ कानुन बनाउन नसकेको देखाउँछ । पुराना कानुनका प्रावधान संशोधनमै सीमित हुँदा प्रदेशसभाको विधायिकी भूमिकामाथि प्रश्न उठेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्ष पुग्न लाग्दा पनि कानुन निर्माणको गति अपेक्षाकृत सुस्त छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार दोस्रो कार्यकालमा हालसम्म २३ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये १६ वटा पारित भइसकेका छन् ।

तर, पारित भएका १६ विधेयकमध्ये १३ वटा विद्यमान कानुन संशोधन गर्ने विधेयक मात्रै हुन् । पूर्ण रूपमा नयाँ अवधारणा र जनमुखी व्यवस्था समेटिएका तीनवटा विधेयक मात्र यस अवधिमा कानुन बन्न सफल भएका छन् ।

बैठक नै अनियमित, अधिवेशन लामो तर काम कम

प्रदेशसभा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुको एउटा प्रमुख कारण बैठकको अनियमिततालाई मानिएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत आर्थिक वर्षभरि प्रदेशसभाका जम्मा ३० वटा बैठक मात्रै बसे ।

प्रदेशसभाको छैटौँ अधिवेशन करिब नौ महिनासम्म चले पनि २५ वटा बैठक मात्र बसेका थिए। साउनदेखि माघसम्मको अवधिमा त आठवटा बैठक मात्रै सञ्चालन भएका थिए ।

लामो समयसम्म अधिवेशन चल्ने तर बैठक न्यून सङ्ख्यामा बस्ने अवस्थाले प्रदेशसभाको कार्यसम्पादनमाथि प्रश्न उठाएको छ । त्यसपछिका सातौँ अधिवेशन पाँच पटक र आठौँ अधिवेशन १७ पटक बसे पनि चालू आर्थिक वर्षको बजेटसमेत पारित हुन सकेन । यसले प्रदेश सरकार र प्रदेशसभाबीचको समन्वय तथा कार्यसम्पादनमा कमजोरी रहेको देखाएको छ ।

११ विधेयक अझै विचाराधीन

प्रदेशसभामा अहिले बजेटसँग सम्बन्धित दुई र अन्य नौ गरी ११ वटा विधेयक विचाराधीन छन् । तीमध्ये सातवटा विधेयक विभिन्न संसदीय समितिमा दफावार छलफलका लागि पठाइएका छन् ।

दलित सशक्तीकरण ऐन २०७८, जीवनाशक विषादी व्यवस्थापन, आमसञ्चारसम्बन्धी विधेयक तथा जनस्वास्थ्य सेवा ऐनसँग सम्बन्धित कानुनजस्ता प्रत्यक्ष जनसरोकारका विषयसमेत लामो समयदेखि प्रक्रियामै अल्झिएका छन् ।

प्रदेशसभा जनताका समस्या, आवश्यकता र आवाजलाई कानुन निर्माणमार्फत सम्बोधन गर्ने महत्वपूर्ण थलो हो । तर, पर्याप्त बैठक र छलफल हुन नसक्दा जनताका मुद्दा कानुनी प्रक्रियामा प्रभावकारी रूपमा प्रवेश गर्न नसकेको गुनासो बढेको छ ।

प्रदेशसभाको कार्यसम्पादनप्रति केही प्रदेश सभा सदस्य नै असन्तुष्ट छन् । उनीहरूले सरकार र सदनबीच कार्यसम्पादन गर्ने विषयमा तालमेल मिल्न नसकेको बताएका छन् । यस्तै, सर्वसाधारणले समेत प्रदेश सभाको काम सुस्त देखेर प्रदेश संरचनाको काम नै छैन भन्ने गरेका छन् । ’प्रदेश सभाले जनताका आवाजलाई कानुनी रूप दिनुपर्ने हो तर प्रदेश सभा नै नबसेर सांसदहरूले सुविधा मात्रै भोगिरहेका छन् । यो गलत भइरहेको छ,’ धनगढीका स्थानीय मदन जोशीले भने ।

प्रदेश अधिवेशन बोलाउने तर प्रदेश सभामा पर्याप्त छलफल नहुने गरेको तथ्यले पुष्टि गरेको छ । बर्सेनि करोडौँ रुपैयाँ खर्च भइरहेको प्रदेशसभाले त्यसअनुसार कानुन निर्माण, जनसरोकारका मुद्दाको सम्बोधन र प्रभावकारी संसदीय अभ्यास देखाउन नसकेको तथ्यले प्रदेशसभाको औचित्य र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई