जनकपुरको ९५० बिघा जग्गा फिर्ता गरियोस् : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्यमा सानालाई ऐन, ठुलालाई चयन हुन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसद झाले शनिबारदेखि जनकपुरमा पोखरी र सार्वजनिक जग्गा खाली गराउन डोजर चलिरहेको सन्दर्भ उल्लेख गर्दै यस क्रममा ७ वटा पोखरी र ६५ वटा घरहरू खाली गराइएको जानकारी दिए । तर, यस अभियानमा गरिबको बस्ती मात्र हटाइने र शक्तिमा भएकाहरूको संरचना नछोइने हो कि भन्ने त्रास स्थानीयमा रहेको उनले बताए ।

‘जनकपुरमा एउटा आशङ्का र त्रास छ कतै गरिबहरूको मात्र बस्ती हटाउने र ठुलाबडालाई नछुने हो कि भन्ने,’ झाले भने– ‘गुठी संस्थानसँगको समन्वयमा अबको १५ दिनभित्र पोखरी मिचेर बनाइएका होटल, अस्पतालको पार्किङ र अन्य व्यापारिक संरचनाहरू पनि खाली गराइनेछ।’

सांसद झाले २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन स्मरण गराउँदै जनकपुरमा करिब ९५० बिघा सार्वजनिक जग्गा अपचलन र अतिक्रमण भएको उल्लेख गरे । ‘जनकपुर सम्भवतः सबैभन्दा धेरै सार्वजनिक जग्गा भएको उपमहानगरपालिका हो । प्रतिवेदनले ९५० बिघा जग्गा दुरुपयोग भएको देखाएको छ, त्यही रिपोर्टका आधारमा अहिले काम भइरहेको छ,’ उनले भने ।

सङ्घीय सरकार र प्रधानमन्त्रीले यस विषयमा देखाएको चासोप्रति आभार प्रकट गर्दै झाले यो अभियान केवल गरिबमाथि मात्र लक्षित नहोस् भनी सचेत गराए । ‘यो लक्ष्य र प्रहार गरिबहरूमाथि मात्र नहोस्, सबैमाथि समान व्यवहार गरियोस् । ९५० बिघा जग्गा संरक्षण गर्ने र सार्वजनिक रूपमै फिर्ता ल्याउने अभियान सफल होस्,’ झाले भने ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

रेडबुल १३ औं कृति अवार्डस् आयोजना हुने