भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन

काठमाडौं । सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती टोली गठन गरी सम्पर्क व्यक्ति (फोकल पर्सन) समेत तोकेको जनाएको छ ।

प्राधिकरणका अनुसार सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा इमर्जेन्सी कम्युनिकेशन रेस्टोरेसन टिम गठन गरिएको छ । टिममा नेपाल दूरसञ्चार प्राधिकरणका विनोद श्रेष्ठ, नेपाल टेलिकमका मुनिष आचार्य, एनसेलका अश्विनराज जोशी, नेपाली सेनाका सविनप्रताप केसी तथा नेपाल प्रहरीका एसपी गोविन्द पुरी र सविन वाग्ले रहेका छन् । यो टिमले सञ्चार सेवा नभएका ठाउँ पहिचान गरी तत्काल सञ्चार सञ्चालनको व्यवस्था मिलाउनेछ । साथै भिस्याटको व्यवस्थापन तथा आवश्यक सामग्री आपूर्तिमा समग्र समन्वय गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर टिम गठन गरिएको छ । टिममा नेपाल विद्युत् प्राधिकरणका मुनिन्द्र ठाकुर, नेपाल आयल निगमका राजकुमार केसी, नेपाल प्रहरीका कमल बेलवासे र गृह मन्त्रालयकी रिनु थपलिया रहेका छन् । यो टिमले विद्युत् आपूर्ति नभएका स्थान पहिचान गरी तत्काल विद्युत् सेवा सञ्चालनको व्यवस्था मिलाउनेछ । अन्तरिम व्यवस्थाका लागि डिजेललगायत आवश्यक सामग्रीको व्यवस्था गर्नुका साथै पोर्टेबल जेनेरेटर आपूर्तिको आवश्यक व्यवस्थापन र समग्र समन्वय गर्नेछ ।

सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन टिममा नेपाली सेनाका रञ्जित थापा, शीतल बानिया र जगदीश खड्का, नेपाल प्रहरीका डिआईजी सुदर्शन कोइराला र एसएसपी गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरीका एसपी जीवन केसी तथा गृह मन्त्रालयकी सन्दीपा खड्का रहेका छन् । यो टिमले प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धार कार्य गर्नेछ । हेलिकप्टरमार्फत उद्धारका लागि डिडिएमसीसँग नियमित समन्वय गर्नेछ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा हेमन्तचन्द्र ओझाको संयोजकत्वमा इमर्जेन्सी हेल्थ एन्ड मेडिकल रेस्पोन्स टिम गठन गरिएको छ । टिममा नेपाली सेनाका प्रमुख सेनानी डा. नवीन फुयाल र गृह मन्त्रालयका सौरभ बस्याल रहेका छन् । यो टिमले घाइतेको प्रभावकारी उपचारका लागि डेडिकेटेड अस्पताल तोकी आवश्यक व्यवस्था गर्नेछ । साथै इमर्जेन्सी हेल्थ म्यानेजमेन्ट सिस्टम सक्रिय गरी उद्धार गरिएका व्यक्तिको तत्काल उपचारको व्यवस्था गर्ने र समग्र समन्वय गर्नेछ ।

स्वास्थ्य मन्त्रालयका डा. समीर अधिकारीको संयोजकत्वमा शव व्यवस्थापन टिम गठन गरिएको छ । टिममा नेपाल प्रहरीका योगबहादुर पाल, सशस्त्र प्रहरीका एसपी देवराज अर्याल, गृह मन्त्रालयका अर्जुन सुवेदी, परराष्ट्र मन्त्रालयका रामविनय राय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सविता कार्की रहेका छन् । यो टिमले मृतकको पहिचान तथा व्यवस्थापनका लागि अस्पताल तोकी आवश्यक समन्वय गर्नेछ । साथै मृतकको पहिचान, व्यवस्थापन तथा अभिलेखीकरण गर्ने र समग्र समन्वय गर्नेछ ।

अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालको संयोजकत्वमा इन्टरनेसनल असिस्टेन्स एन्ड डोनर कोअर्डिनेसन टिम गठन गरिएको छ । टिममा परराष्ट्र मन्त्रालयका सहसचिव कौशल किशोर राय, समाज कल्याण परिषद्की प्रतीक्षा मिश्र, नेपाली सेनाका कमल बानिया तथा गृह मन्त्रालयका समीर भण्डारी रहेका छन् । यो टिमले सहयोगका लागि दातृराष्ट्र तथा विकास साझेदारसँग समन्वय र पहल गर्नेछ । साझेदार संघसंस्थालाई सहायता परिचालनमा आवश्यक सहजीकरण गर्नुका साथै सैन्य सहायता परिचालन, अनुगमन तथा सहजीकरण र अन्तरमन्त्रालय तथा निकायबीच समन्वय गर्नेछ ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीको संयोजकत्वमा यातायात तथा सडक अन्तरआबद्धता टिम गठन गरिएको छ । टिममा सडक विभागका प्रदीप भण्डारी, नेपाली सेनाका सविन प्रताप केसी, सडक बोर्डका गणेशबहादुर केसी, यातायात व्यवसायी महासंघका सरोज सिटौला, नेपाल प्रहरीका हविन्द्र बोटगी र गृह मन्त्रालयका जगदीश विष्ट रहेका छन् । यो टिमले तत्काल बेलिब्रिज व्यवस्थापन गर्ने, अवरुद्ध सडक सञ्चालन गर्ने तथा नियमित यातायात सञ्चालनका लागि समन्वय र सहजीकरण गर्नेछ । साथै ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहजीकरण गर्नेछ ।

¥यापिड ड्यामेज एन्ड निड्स असेसमेन्ट टिममा राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी, गृह मन्त्रालयका सीडीई सुशीलकुमार श्रेष्ठ तथा दिलीप पञ्जानी र तथ्याङ्क विभागका ढुण्डिराज लामिछाने रहेका छन् । यो टिमले बाढीबाट भएको क्षतिको आकलन तथा आवश्यकताको पहिचानका लागि नेतृत्व गर्नेछ । क्षति आकलनका लागि प्राविधिक जनशक्ति खटाउने र अन्तरमन्त्रालय समन्वय गर्नेछ ।

गृह मन्त्रालयका लोकेन्द्र अधिकारीको संयोजकत्वमा बेपत्ता व्यक्ति र परिवार सहायता टिम गठन गरिएको छ । टिममा नेपाल प्रहरीका डीएसपी अञ्जना श्रेष्ठ, सशस्त्र प्रहरी बलका डीएसपी भीमसेन बोहरा तथा नेपाली सेनाका ज्योति थापा, प्रविन घिमिरे र प्रसे प्राजु बस्नेत रहेका छन् । यो टिमले हराएका मानिसको खोज तथा उद्धार कार्यलाई तीव्रता दिनेछ । सुरक्षा निकायको प्रभावकारी परिचालन गर्ने, डीईओसीमार्फत नियमित समन्वय गर्ने तथा अन्तरमन्त्रालय समन्वय गर्नेछ ।

गृह मन्त्रालयका डीएसपी पुरुषोत्तम भण्डारी र शाखा अधिकृत निरञ्जन प्रकाश निरौलाको संयोजकत्वमा राहत (खाद्य, पानी तथा अत्यावश्यक सामग्री) टिम गठन गरिएको छ । टिममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका दयाकृष्ण पन्त रहेका छन् । यो टिमले लजिस्टिक क्लस्टरलाई क्रियाशील बनाई अत्यावश्यक तथा गैरखाद्य सामग्रीको आपूर्ति गर्नेछ । साथै फुड क्लस्टर सक्रिय गरी रेडी–टु–इटलगायत अन्य खाद्य सामग्रीको व्यवस्था तथा आपूर्ति गर्नेछ ।

विमानस्थल संयोजन टिममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल, नेपाली सेनाका जगदीश खड्का, नेपाल प्रहरीका राजकुमार सिलवाल, एनआइडीका नरेश भाट, निजी वायुसेवा कम्पनीका मिङ्मा शेर्पा तथा गृह मन्त्रालयकी प्रतिभा चालिसे रहेका छन् । यो टिमले सहज हेलिकप्टर उद्धारका लागि उडान अनुमति तथा त्यसका लागि प्रभावकारी समन्वय गर्नेछ । उद्धारका लागि हेलिकप्टर परिचालनको समग्र जिम्मेवारीसहित नेतृत्व प्रदान गर्ने तथा नेपाली सेना र सम्बन्धित जिल्ला सुरक्षा समितिसँगको समन्वयमा हेलिकप्टर परिचालन गर्नेछ । साथै उद्धारका लागि अन्तरमन्त्रालय समन्वय गर्नेछ ।

सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्ने टिममा गृह मन्त्रालयका फणिन्द्र पौडेल तथा नुवाकोट र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीहरू रहेका छन् । यो टिमले सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन