डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा प्राकृतिक विपद्को जोखिममा रहेका बस्ती तथा क्षेत्रको पहिचान गरी त्यसको अभिलेख तयार पार्ने भएको छ । जोखिमको अध्ययनका आधारमा आगामी दिनमा विपद् व्यवस्थापन र विकाससम्बन्धी नीति तथा योजना निर्माण गरिने प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बताए ।
मुख्यमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला डडेल्धुरा पुगेका भट्टले बुधबार नेपाल पत्रकार महासंघ डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।
उनका अनुसार मंगलबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा सुदूरपश्चिमका जोखिमयुक्त क्षेत्रको अभिलेख तयार पार्ने विषयमा छलफल भएको थियो । विशेषगरी नदी किनारमा रहेका अत्यन्त जोखिमपूर्ण बस्ती पहिचान गरी त्यसको विवरण संकलन गरिने उनले बताए ।
‘रसुवाजस्ता घटना दोहोरिन नदिन नदी किनारमा बसेका अत्यन्त जोखिमपूर्ण बस्ती कुन–कुन हुन, त्यसको अभिलेख निकालौँ भनेको छु, मुख्यमन्त्री भट्टले भने, ‘सुदूरपश्चिमले हालसम्म के–कस्ता प्राकृतिक विपद् भोग्नुप¥यो, त्यसको तथ्यांक संकलन गरी सरकारले गरेका राम्रा र नराम्रा दुवै पक्षलाई सूत्रबद्ध गरेर पूर्वतयारीका काम अघि बढाउनुपर्छ ।
उनले विपद्को समयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई तत्काल परिचालन गर्न सक्ने गरी आवश्यक व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिए ।
रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले उक्त घटनाबाट सुदूरपश्चिमले समेत गम्भीर पाठ सिक्नुपर्ने बताए । रसुवा बाढीमा सुदूरपश्चिमका दक्ष जनशक्तिसहित सयौँ होनहार युवा गुमाउनुपरेको उल्लेख गर्दै उनले यस घटनालाई आगामी दिनका लागि ‘युगान्तकारी शिक्षा’का रूपमा लिनुपर्ने धारणा राखे । ‘प्राकृतिक विपद् नकारात्मक परिघटनाका रूपमा हेर्दा प्रकृतिको विभत्स ताण्डव हो, उहाँले भने, ‘तर यसबाट हामीले भविष्यका लागि महत्वपूर्ण शिक्षा लिनुपर्छ ।’
रसुवा बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र सम्पर्कविहीन भएका परिवारका सदस्यलाई प्रभावित क्षेत्रमा आउजाउ गर्न यातायातको प्रबन्ध गरिने उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको भन्दै आवश्यकता परे प्रभावित क्षेत्रमा परिचालन गरिने उनले बताए । यस्तै, प्रदेशसभाका सदस्यहरूको १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
नदी किनारमै छन् सुदूरपश्चिमका अधिकांश बजार
सुदूरपश्चिमका अधिकांश शहरी तथा उच्च जनघनत्व भएका क्षेत्र नदी किनार र तटीय क्षेत्रमा रहेकाले जोखिमको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको पत्रकारहरुले औल्याए । महाकाली, सेती, कर्णाली, चमेलिया, कालंगा, बुढीगंगालगायतका ठूला नदी तथा सयौँ खोलानालाको किनारमा बस्ती, बजार र शहर विस्तार भएका छन ।
महाकाली नदी किनारका गड्डाचौकी, महेन्द्रनगरदेखि कर्णाली नदी किनारका चिसापानी र टीकापुरसम्मका क्षेत्रसँगै पहाडी जिल्लाका परशुराम क्षेत्र, बैतडीको जुलाघाट, दार्चुला सदरमुकाम खलंगा, चौलानी नदी किनारका गोकुलेश्वर, कालंगा नदि किनार बागथला र बिजगडा, सेती नदी किनार बझाङको चैनपुर तथा देउरा, डोटीको दिपायल र बान्डुंग्रीशैन, बुढीगंगाको किनारमा अछामको साँफेलगायतका बजार तथा बस्तीहरु रहेका छन । यी क्षेत्रको जोखिम पहिचान गरी अभिलेख तयार पारेर आगामी बजेट तथा योजनामा समावेश गरिने मुख्यमन्त्री भट्टको भनाइ छ ।
भदौभित्रै नयाँ बजेट
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश हाल बजेट शून्यताको अवस्थामा रहेकाले भदौ महिनाभित्र बजेट पुनर्लेखन गरी ल्याउने तयारी भइरहेको बताए । आगामी बजेटमा बिचौलियाको हालीमुहाली अन्त्य गरिने दाबी गर्दै उनले शिक्षा, स्वास्थ्य, खेलकुद र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको जानकारी दिए । अस्पतालमा स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन गर्ने गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइने उनले बताए ।
दैजी–बेलापुर सडक वैकल्पिक राजमार्गका रूपमा अघि बढाइने
मुख्यमन्त्री भट्टले दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–पोखरा–बेलापुर सडकलाई भीमदत्त पन्त राजमार्गको वैकल्पिक सडकका रूपमा अघि बढाइने बताए । सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रलाई जोड्ने महत्वपूर्ण सडकका रूपमा यसलाई विकास गर्ने प्रदेश सरकारको योजना रहेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?
रसुवाको बाढीपछि कैलालीका ३० भन्दा बढी कामदार सम्पर्कविहीन
श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको अभियोगमा ५ पक्राउ
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै






