काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीले एनसेलको रसुवाको टिमुरेमा रहेको एउटा मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुर्याएको छ। प्रारम्भिक अनुमानअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा टावर पुनः सञ्चालनमा ल्याइसकिएको एनसेलले जनाएको छ। बाँकी तीन टावरमध्ये रसुवाको घट्टेखोला–टिमुरेमा रहेको एउटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
त्यस्तै, नुवाकोटको त्रिशूली–विदुर र रसुवाको तिरुमा रहेका दुई टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको छ। आवश्यक मर्मत तथा पुनःस्थापनाको काम भइरहेको कम्पनीले जनाएको छ।
विपद्बाट प्रभावित ग्राहकलाई राहत दिन एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। यसबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएको कम्पनीको भनाइ छ।
बाढी आउनुअघिका सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको हो। सुरुमा तीन दिनका लागि दिइएको निःशुल्क सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको थियो।
कम्पनीका अनुसार आइतबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको थियो। मोबाइल टावरहरू क्रमशः सञ्चालनमा आउन थालेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढिरहेको एनसेलले जनाएको छ।
यसैबीच, ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका २५ हजारभन्दा बढी सिम पुनः सक्रिय गरिएको एनसेलले जनाएको छ। यसबाट विपद्को समयमा प्रभावित ग्राहकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका निकायसँग सम्पर्क गर्न सहज भएको कम्पनीको भनाइ छ। ती ग्राहकले पनि निःशुल्क सेवाको सुविधा पाएका छन्।
एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन र एसएमएससमेत पठाइरहेको छ। एसएमएसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाउनुअघि बैंक खाता, क्यूआर कोड र लिंक आधिकारिक भए–नभएको जाँच गर्न आग्रह गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा बाढीपहिरोसँग सम्बन्धित विभत्स तथा हृदयविदारक फोटो र भिडियो नराख्न तथा राखिसकेको भए तत्काल हटाउन पनि एनसेलले अनुरोध गरेको छ।
सम्बन्धित समाचार
दिनहुँ बढ्दै अमेरिकी डलरको मूल्य
एक अमेरिकी डलर किन्न तिर्नुपर्छ १५३ रुपैयाँ ५० पैसा, अन्य मुद्राको कति ?
गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन
एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
विपद्मा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड सहयोग
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत






