काठमाडौं । विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार २०४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार विभिन्न स्थानबाट संकलन गरिएका १ हजार २०४ शवमध्ये ९५ जनाको सनाखत भएको छ । सबैभन्दा धेरै शव चितवनमा ३५८ फेला परेका छन् । नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६२, धादिङमा ६० र तनहुँमा ३७ शव फेला परेका छन् । फेला परेका शवमा केही मानव अंगसमेत समावेश छन् ।
बाढीपछि ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । त्यसमध्ये विदेशी नागरिक ५८३ जना छन् । विदेशी पर्यटकसँगै गएका नेपाली १६४ जना, जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, रसुवाका करिब ८६५ जना र नुवाकोटका करिब १ हजार ५५८ जना सम्पर्कविहीन छन् ।
नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन् । भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तहका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
११ हजार ९१३ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९१३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाई माध्यमबाट विदेशी २७३ र नेपाली ४ हजार ९१ गरी ४ हजार ३६४ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ । त्यस्तै निजी क्षेत्रका हेलिकप्टरमार्फत काठमाडौं केन्द्रित २९ वटा उडान गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेना ९ हजार १९९, नेपाल प्रहरी ७ हजार ९१२ र सशस्त्र प्रहरी बल नेपाल ४ हजार २०३ जना छन् ।
बाढीमा परी ३०१ जना घाइते भएका छन् । तीमध्ये १९५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीबाट क्रमशः ३ हजार १११ र १ हजार ६२८ जनालाई स्वास्थ्य उपचार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
बाढी तथा पहिरोबाट प्रभावित भएर ३ हजार ४५३ जना विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् । नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, काठमाडौंमा ३२९ र धादिङमा २६० जना होल्डिङ सेन्टरमा छन् ।
प्रभावित क्षेत्रमा हालसम्म ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत नौपटक खाद्य तथा गैरखाद्य सामग्री ढुवानी गरिएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रका लागि नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
प्रभावित १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ र थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ । यसअनुसार सरकारले प्रभावित जिल्ला तथा स्थानीय तहमा गरी कुल १४ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।
सम्बन्धित समाचार
बागमतीमा एमालेलाई नेकपा र राप्रपाको समर्थन, आजै थापा मुख्यमन्त्री बन्ने
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे
भोटेकोशी वितण्डाः हालसम्म ७२ जनाको शब फेला
रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर
ताल बढ्ने क्रम जारी छ, जोखिम अझै टरेको छैन : बाढी पूर्वानुमान महाशाखा
त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि माथिल्लो भागमा उद्धारकर्मी सक्रिय
कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
बैरेनीको हिलोमा बैंकको अर्को सेफ






