काठमाडौं । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।
टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा सो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन् । सो अवसरमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो ।
यसअघि कम्पनीका कर्मचारीका तर्फबाट दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँको चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।
टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपछि नै ६ करोड बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ ।
टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा देश र नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको कम्पनीका प्रवक्ता डा कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।
–––
सम्बन्धित समाचार
रेमिट्यान्स ३७.१ प्रतिशतले बढ्यो, शोधनान्तर बचत १० खर्ब २७ अर्ब
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
कमजोर बन्यो अमेरिकी डलर
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?






