काठमाडौं । कक्षा १२ को नेपाली विषयको पाठ्यक्रममा समावेश हृदयचन्द्रसिंह प्रधानको चर्चित सामाजिक उपन्यास ‘एक चिहान’ नाटकका रूपमा विद्यार्थीमाझ प्रस्तुत गरिएको छ।
काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) बागबजार र बालकुमारीका कक्षा १२ मा अध्ययनरत करिब तीन हजार विद्यार्थीले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘एक चिहान’ नाटक अवलोकन गरेका हुन्। साहित्यिक कृतिलाई पुस्तकमा पढेर मात्र नभई मञ्चमार्फत प्रत्यक्ष अनुभव गराउने उद्देश्यले नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ।
‘एक चिहान’ नेपाली साहित्यको महत्वपूर्ण सामाजिक यथार्थवादी कृति हो। उपन्यासमा तत्कालीन नेपाली समाज, गरिब किसान तथा श्रमिक वर्गको जीवन, आर्थिक अभाव, सामाजिक विभेद, संघर्ष र मानवीय संवेदनालाई चित्रण गरिएको छ। कक्षा १२ को नेपाली पाठ्यक्रममा समेत उक्त कृति समावेश छ।
उपन्यासलाई एच.पी. मगरले नाट्य रूपान्तरण गरेका हुन् भने कल्पना थापा निर्माता र सागर कार्की निर्देशक छन्। नाटकमा विकास जोशी, कल्पना थापा, रश्मी गुरुङ, नारायण भण्डारी, पुरन राई, प्रदीप विश्वकर्मा, गोविन्दराज खड्का, मुकेश विश्वकर्मा, साङ्केनाम राई, रचना पाण्डे, सरस्वती खड्का, सुनिलकुमार राना, दिरेन कार्की, तुलसी राई र अञ्जना दुलाललगायत कलाकारको अभिनय रहेको छ।
केएमसीका अतिरिक्त क्रियाकलाप प्रमुख डा। अमित घर्तीले नाटकले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढेको कथा, पात्र र सामाजिक परिवेशलाई प्रत्यक्ष रूपमा बुझ्न सहयोग पुग्ने बताए। उनका अनुसार मञ्चीय प्रस्तुतिले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउनेछ।
त्यस्तै, नेपाली विभाग प्रमुख देवेन्द्र नेपालले पुस्तक पढ्दा कल्पना गर्नुपर्ने पात्र तथा घटनालाई कलाकारको अभिनय, संवाद, दृश्य र मञ्चीय प्रस्तुतिमार्फत प्रत्यक्ष हेर्न पाउँदा विद्यार्थीको सिकाइ अझ प्रभावकारी हुने बताए।
विभिन्न कलेज तथा शैक्षिक संस्थाका विद्यार्थीलाई लक्षित गरी प्रस्तुत भइरहेको ‘एक चिहान’ नाटकले साहित्य र रंगमञ्चबीचको सम्बन्धलाई समेत बलियो बनाएको आयोजकको भनाइ छ। विशेषगरी कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि पाठ्यक्रममा रहेको कृतिलाई नाटकका रूपमा हेर्न पाउनु पढाइलाई व्यवहारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ।
कार्यक्रम संयोजक सुमन सागर जंग केसीका अनुसार साहित्यकार हृदयचन्द्रसिंह प्रधानको कालजयी कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा विद्यार्थीमा नेपाली साहित्य र रंगमञ्चप्रतिको रुचि बढाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको हो। नाटकमार्फत विद्यार्थीले पाठ्यक्रमको तयारीसँगै नेपाली समाजको इतिहास, सामाजिक संरचना, संघर्ष र मानवीय सम्बन्धलाई नजिकबाट बुझ्ने अवसरसमेत पाएका छन्।
सम्बन्धित समाचार
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
चेपाङ समुदायले घरघरमै मनाए न्वागी
आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा
रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन
अहिलेसम्म २७० जनाको शव फेला
भेटिएनन् आफन्त, रोकिएनन् आँशु






