काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो। प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।
प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। सबै स्टल बुकिङ भइसकेको बताइएको छ। अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि प्रदर्शनीमा राखिनेछन्।
आयोजकका अनुसार यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी (VR/AR) प्रविधिको प्रयोग गरिनेछ। यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ।
प्रदर्शनी’bout जानकारी दिँदै नवौँ नेपाल घरजग्गा एवं निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए। उनले व्यवसाय क्षेत्रको सुस्तताका कारण समग्र अर्थतन्त्रमा समेत प्रभाव परेको भन्दै घरजग्गा कारोबारमा लागू विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे।
मल्होत्राले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन लोन–टु–भ्यालु अनुपात ७० प्रतिशत पुर्याउनुपर्ने मागसमेत गरे। बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए। उनले क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको भन्दै प्रदर्शनीलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरे।
त्यस्तै, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दिपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए। प्रदर्शनीले घरजग्गा कारोबारमा मात्र नभई निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए। उनका अनुसार प्रदर्शनीमार्फत करिब रु. १ करोड ४० लाख आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पहरू समेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछन्।
सम्बन्धित समाचार
बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको निःशुल्क सेवा
आजको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा हुँदा अरु देशको मुद्राको कति ?
कमजोर बन्यो अमेरिकी डलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह
३ हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?






