संरचना बन्लान्, मुर्झाएका मन फेरि फक्रेलान् ?

एक वर्षअघि हेटौंडाका सडकमा उठेको धुवाँ अहिले देखिँदैन । आगजनीबाट कालो भएका भित्तामा नयाँ रङ टल्किसकेको छ । भत्किएका ढोकाझ्याल फेरिएका छन् । कतिपय सरकारी कार्यालयमा सेवा सुरु भएका छन् । निजी क्षेत्रका पसल, व्यवसाय र प्रतिष्ठान विस्तारै पुरानै लयमा फर्किन थालेका छन् । बाहिरबाट हेर्दा लाग्छ, एक वर्षको अवधिमा आन्दोलनले दिएको चोट धेरै हदसम्म पुरिइसकेको छ । तर, यो सामान्य देखिने दृश्यभित्र अझै थुप्रै असामान्य कथा र व्यथा भौतारिरहेका छन् ।

भौतिक संरचना मर्मत गर्न सकिन्छ । जलेका भवनमा फेरि इँटा थप्न सकिएला । तोडिएका र फोडिएका झ्याल फेरिन सक्छन् । कालो भित्तामा नयाँ रङ लगाउन सकिन्छ । आन्दोलनक्रममा घाइते भएका नागरिकका पीडा, आफन्त गुमाएका परिवारका दुःख र राज्यप्रति नागरिकको मनमा परेको चोट भने रङरोगनले कदापि मेटिँदैन । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा मकवानपुरको अवस्था यही विरोधाभासमा उभिएको छ । संरचना बिस्तारै उठिरहेका छन्, आन्दोलनले उठाएका प्रश्न भने अझै उस्तै छन् ।

जेनजी आन्दोलनक्रममा भएको आगजनी, तोडफोड र हिंसात्मक गतिविधिबाट क्षतिग्रस्त भौतिक संरचनामध्ये कतिपय मर्मत तथा पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१०, टिसिएनमा करिब १२ करोड २९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको बागमती प्रदेश सभा भवन जेनजी आन्दोलनअघि र पछि

निजी क्षेत्रका धेरै व्यवसाय र प्रतिष्ठानले ठूलो क्षति व्यहोरेर पनि आफ्नै स्रोत, बिमा र अन्य माध्यमबाट पुनर्निर्माण कार्य अघि बढाएका छन् । एक वर्षको अवधिमा सडक, भवन, कार्यालय र व्यापारिक प्रतिष्ठानमा देखिएका क्षति धेरै हदसम्म मर्मत हुँदै गएका छन् । कतिपय भवनमा रङरोगन गरिएका छन्, भत्किएका ढोका–झ्याल फेरिएका छन् र सामान्य मर्मतपछि सरकारी कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ ।
000
भौतिक संरचना फेरि ठडिन थाले पनि आन्दोलनले उठाएका राजनीतिक, सामाजिक र प्रशासनिक प्रश्नको जवाफ भने अझै खोजीकै विषय बनेको छ । आन्दोलनले सत्ता र राजनीतिक नेतृत्वमा ठूलो परिवर्तन ल्यायो । पुरानो राजनीतिक कार्यशैली, भ्रष्टाचार, बेथिति, जवाफदेहिता अभावसँगै सार्वजनिक सेवामा देखिएको ढिलासुस्तीप्रति युवामा रहेको असन्तुष्टि सडकमा पोखियो । सुशासन, पारदर्शिता, जवाफदेहिताजस्ता सार्वजनिक सेवा सुधारका मुद्दा आन्दोलनको केन्द्रमा रहे । एक वर्षपछि ‘ती माग कति पूरा भए ?’ भन्ने प्रश्नको स्पष्ट उत्तर भने अझै नागरिकले पाइरहेका छैनन् । भत्काइएका र जलाइएका संरचना पुनर्निर्माण गर्नुमात्रै आन्दोलनको उद्देश्य थिएन । राज्य सञ्चालनको शैलीमा परिवर्तन, नागरिकप्रति उत्तरदायी शासन तथा सार्वजनिक स्रोत पारदर्शी तथा प्रभावकारी उपयोग पनि आन्दोलनका महइभ्वपूर्ण प्रश्न थिए । त्यसैले एक वर्षपछि मूल्यांकन गर्दा ‘कति भवन बने ?’ भन्ने प्रश्नभन्दा ‘शासन गर्ने शैली कति बदलियो ?’ भन्ने महइभ्वपूर्ण बनेको छ ।

000
हेटौंडा उपमहानगरपालिका–१०, टिसिएनमा करिब १२ करोड २९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको बागमती प्रदेश सभा भवन यसैको एउटा उदाहरण हो । लामो समयको तयारी र ठूलो लगानीपछि निर्माण गरिएको सो भवन २७ साउन २०८२ मा औपचारिकरूपमा सञ्चालनमा ल्याइएको थियो । प्रदेशको कानुन निर्माण गर्ने प्रमुख थलोका रूपमा ठडिएको भवन सञ्चालनमा आएको केही समयमै जेनजी आन्दोलनक्रममा आगजनीबाट क्षतिग्रस्त भयो । त्यहाँ तीनवटा बैठकमात्र सञ्चालन हुन सकेका थिए ।

प्रदेश सभा भवनमा आगजनी भएपछि प्रदेश सभा बैठक हेटौंडा–२ स्थित नगर सभाहलबाट सञ्चालन हुँदै आएको छ । आन्दोलनक्रममा नगर सभाहलमा समेत क्षति पुगेको थियो । मर्मतपछि भने त्यही सभाहललाई प्रदेश सभा बैठक सञ्चालनका लागि प्रयोग गरिँदै आएको छ । प्रदेशको कानुन निर्माण गर्ने संस्थाका लागि बनाइएको भवन नै लामो समयसम्म प्रयोगविहीन हुनु आफैंमा विडम्बनापूर्ण अवस्था हो ।

एक वर्ष बितिसक्दा पनि टिसिएनस्थित प्रदेश सभा भवन पुनर्निर्माणको काम अपेक्षितरूपमा अघि बढ्न सकेको छैन । वैकल्पिक व्यवस्थाबाट प्रदेश सभा बैठक चलाउन सकिए पनि स्थायी संरचना लामो समयसम्म प्रयोगविहीन रहनुले प्रदेश सरकारको प्राथमिकता र कार्यक्षमतामाथि प्रश्न उठाएको छ । भवन पुनर्निर्माण इँटा, सिमेन्ट र रङसँग जोडिएको विषयमात्रै होइन, यो प्रदेश सरकारको संस्थागत निर्णय र प्राथमिकतासँग पनि जोडिएको विषय हो ।

000
हेटौंडा–४ स्थित कर्मचारी सञ्चय कोषको नयाँ भवनको व्यथा पनि उस्तै छ । करिब १७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सो भवनमा २८ असार २०८२ देखि कार्यालय सञ्चालनमा आयो । नयाँ भवनबाट सेवा दिन थालेको केही समयमै आन्दोलनको चपेटामा परेपछि कार्यालयले लामो समयसम्म आफ्नै संरचनाबाट नियमित सेवा दिन सकेन । आगजनीका कारण भवनको भुइँतला पूर्णरूपमा जलेर नष्ट भयो । माथिल्लो तलामा रहेको कार्यालय प्रमुखको निवास, कर्मचारी आवास, क्यान्टिनलगायत संरचनामा समेत क्षति पुग्यो । कार्यालयमा रहेका सवारीसाधनमा पनि क्षति पुगेको थियो ।

कार्यालयका उपप्रबन्धक गौरीशंकर मल्लिकका अनुसार भवन तथा अन्य भौतिक संरचनामा करिब ४ करोड रुपैयाँबराबरको क्षति भएको छ । आगजनी र तोडफोडक्रममा महइभ्वपूर्ण तथ्यांकसमेत नष्ट भएका र केही सामग्री चोरी भएको कार्यालयले जनाएको छ । क्षतिग्रस्त भवनबाट केही समय आंशिक सेवा प्रवाह गरेको कोषले गत १ मंसिर २०८२ देखि हेटौंडा–४ मै निजी घर भाडामा लिएर नियमित सेवा दिँदै आएको छ ।

आफ्नै भवन हुँदाहुँदै भाडाका घरबाट सेवा दिनुपर्ने अवस्था आफैंमा आन्दोलनपछिको पुनर्निर्माणको जीवन्त तस्बिर हो । भवन पुनर्निर्माणका लागि पाँचवटा निर्माण कम्पनीले आवेदन दिएका छन् । चालू आर्थिक वर्षभित्र मर्मत तथा पुनर्निर्माण कार्य सकेर आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने कोषको योजना छ । गत आर्थिक वर्षमा मात्र सो कार्यालयबाट करिब १६ हजार सेवाग्राहीले सेवा लिएका थिए । ठूलो संख्यामा सेवाग्राही आउने कार्यालय लामो समयसम्म अस्थायी वा भाडाको संरचनाबाट सञ्चालन हुँदा सेवा प्रवाहको गुणस्तर र कर्मचारीको कार्यक्षमतामा समेत असर पर्न सक्ने सम्भावना छ ।

जेनजी आन्दोलनपछि ‘सुशासन’, ‘जवाफदेहिता’ र ‘सार्वजनिक सेवा सुधार’ राज्य सञ्चालनका प्रमुख एजेन्डा बने । आन्दोलनमा सहभागी युवाले पुरानो राजनीतिक संस्कार र प्रशासनिक कार्यशैलीप्रति असन्तुष्टिमात्र जनाएनन्, राज्यले नागरिकसँग गर्ने व्यवहार बदलिनुपर्ने मागसमेत अघि सारे । एक वर्षपछि क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण, कार्यालय व्यवस्थापन, सार्वजनिक खर्चको प्राथमिकता र निर्णय प्रक्रिया हेर्दा अपेक्षित परिवर्तन देखिन नसकेको स्थानीय गुनासो छ ।

क्षतिग्रस्त ढोका, झ्याल, भित्ता तथा अन्य संरचना मर्मत गरेर रङरोगनपछि कार्यालय सञ्चालन गर्नु तत्कालका लागि आवश्यकता एउटा पाटो हो भने नागरिकलाई सेवा दिन कार्यालय खुला राख्नु सरकारको दायित्व हुन जान्छ । सामान्य मर्मतलाई दीर्घकालीन पुनर्निर्माणको विकल्प मान्न सकिँदैन ।

आन्दोलनअघि सरकारी कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता, पहुँचका आधारमा हुने निर्णय, सार्वजनिक स्रोत दुरुपयोग तथा जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीप्रति व्यापक असन्तुष्टि थिए । आन्दोलनपछि यी विषयमा सुधार आउने अपेक्षा गरिए पनि बागमती प्रदेश सरकार र स्थानीय तहका निर्णय प्रक्रिया, सार्वजनिक खर्चको प्राथमिकता तथा योजना छनोटमा अपेक्षित परिवर्तन नदेखिएको गुनासो सुनिन थालेको छ ।

000
स्थानीयका अनुसार आन्दोलनबाट राज्यले सिक्नुपर्ने मुख्य पाठ प्रशासनिक भवनको सुरक्षामात्र होइन, नागरिकको विश्वास पुनस्र्थापित गर्नु पनि हो । राज्यका संरचना बलियो हुँदैमा शासन प्रणाली बलियो हुन्छ भन्ने छैन । शासनप्रति नागरिकको विश्वास बढाउन पारदर्शिता, जवाफदेहिता र परिणाममुखी सेवा आवश्यक हुन्छ । आन्दोलनको एक वर्षपछि क्षतिग्रस्त संरचनामा लगाइएको नयाँ रङभन्दा राज्यको व्यवहारमा आएको परिवर्तन नागरिकका लागि बढी अर्थपूर्ण बन्न सक्छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ढिलाइ भइरहँदा सरकारी सवारीसाधन खरिदतर्फ भने चासो बढेको भन्दै आलोचनासमेत हुन थालेको छ । आन्दोलनक्रममा मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयका सवारीसाधनमा समेत क्षति पुगेको थियो । कतिपय सवारीसाधन पूर्णरूपमा जलेर प्रयोगविहीन भए । तीमध्ये केहीको विकल्पमा नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढाइएको छ ।

सरकारी सवारीसाधन सञ्चालनका लागि आवश्यक भए पनि ‘त्यसको प्राथमिकता कसरी निर्धारण गरिएको छ ?’ भन्ने प्रश्न उठ्नु जायज हो । जनताको दैनिक सेवासँग प्रत्यक्ष जोडिएका भवन, स्वास्थ्य, शिक्षा, प्रशासन तथा सार्वजनिक सेवा प्रवाहका संरचना पुनर्निर्माण हुन बाँकी रहँदा सुविधामुखी खर्चलाई प्राथमिकता दिइनु उचित नभएको स्थानीय गुनासो छ । हेटौंडा उपमहानगरपालिकाको अवस्था पनि यस्तै रहेको उनीहरू बताउँछन् ।

आन्दोलनक्रममा कार्यालयमा क्षति पुगेपछि सामान्य मर्मत गरेर सेवा सञ्चालन गरिएको छ । विकास निर्माण तथा सार्वजनिक काममा प्रयोग हुने सवारीसाधनमा क्षति पुगे पनि त्यसको दीर्घकालीन व्यवस्थापनभन्दा जनप्रतिनिधिको आवतजावतका लागि प्रयोग हुने सवारीसाधन खरिदलाई प्राथमिकता दिइएपछि स्थानीय आक्रोशित छन् । जनताको दैनिक सरोकारसँग जोडिएका संरचना र साधनभन्दा जनप्रतिनिधि तथा पदाधिकारीको सुविधालाई प्राथमिकता दिइए आन्दोलनले उठाएको सुशासनको प्रश्नको जवाफ दिन कठिन हुने स्थानीय सुरज श्रेष्ठ सुनाउँछन् । ‘सरकारको प्राथमिकता कहाँ देखिन्छ भन्ने कुरा भाषणभन्दा बजेट र निर्णयले देखाउने भएकाले नागरिकको नजर अहिले त्यही प्राथमिकताकेन्द्रित छ,’ उनी भन्छन् ।

000
आन्दोलनक्रममा हेटौंडामा क्षति पुगेका निजी घर तथा व्यावसायिक संरचना भने पुनर्निर्माण हुँदै सामान्य अवस्थामा फर्किन थालेका छन् । ठूला व्यापारिक प्रतिष्ठानले ठूलो क्षति व्यहोरे पनि पुनः सञ्चालनका लागि लगानी र स्रोत जुटाएर काम अघि बढाएका छन् । भाटभटेनीलगायत ठूला व्यावसायिक प्रतिष्ठानले समेत आन्दोलनक्रममा ठूलो क्षति व्यहोरेका थिए । व्यापारिक गतिविधि पुनः सुरु गर्न निजी क्षेत्रले आफ्नो स्रोत, बिमा र अन्य माध्यमबाट पुनर्निर्माण अघि बढाउँदै आएका छन् ।

राष्ट्रियस्तरमै पनि आन्दोलनका कारण निजी क्षेत्रको भौतिक क्षतिबापत २३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको बिमा दाबी परेकोमा एक वर्षको अवधिमा करिब ७ अर्ब ६२ करोड रुपैयाँमात्र भुक्तानी पाएको तथ्य सार्वजनिक भएको छ । ठूलो क्षति भएका केही व्यवसाय अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । सम्पत्ति जलेपछि निजी क्षेत्रले आफ्नो व्यवसाय जोगाउन स्रोत जुटाएर पुनर्निर्माण अघि बढाइरहेको अवस्थामा जनताका करबाट सञ्चालन हुने सार्वजनिक संरचना लामो समयसम्म अलपत्र रहनु सामान्य विषय भने होइन ।

निजी क्षेत्रका लागि पुनर्निर्माण आफ्नो लगानी र व्यवसाय जोगाउने बाध्यता र सरकारका लागि सार्वजनिक संरचना पुनर्निर्माण नागरिकको सेवा पुनस्र्थापित गर्ने जिम्मेवारी हो । सरकारी संरचना पुनर्निर्माणमा हुने ढिलाइले राज्यको सेवा प्रवाहमा प्रत्यक्ष असर पार्छ । निजी क्षेत्रले आफ्ना लगानी र व्यवसाय जोगाउन जसरी तत्काल निर्णय गर्नुपर्ने हुन्छ, सरकारले पनि सार्वजनिक सेवा प्रभावित नहुनेगरी क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने स्थानीय माग छ ।

000
त्यसो त, जेनजी आन्दोलन यतिमै सीमित रहँदैन । आन्दोलनको मूल प्रश्न सरकारी भवनको स्वरूप परिवर्तन गर्नुमात्र थिएन । भ्रष्टाचार, बेथिति, जवाफदेहिता अभाव, राजनीतिक हस्तक्षेप तथा पुरानो प्रशासनिक कार्यशैलीप्रति युवामा बढेको असन्तुष्टि आन्दोलनको केन्द्रमा थियो । एक वर्षपछि पनि आन्दोलनक्रममा भएका हिंसा, आगजनी र क्षतिको छानबिन तथा त्यससँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्न माग भइरहेको छ । नागरिक अगुवाले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, घाइतेको उचित उपचार तथा लुटपाट र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन् । स्थानीय शुभम् खत्रीका शब्दमा ‘सरकारी भवनमा लागेको आगो निभ्यो, टालटुल पनि भयो । तर, आन्दोलनले उठाएको प्रश्नको आगो निभेको छैन ।’

000
जेनजी आन्दोलनको एक वर्षलाई क्षतिग्रस्त संरचना पुनर्निर्माणका हिसाबले मात्र मूल्यांकन गर्नु पर्याप्त हुँदैन । ‘जवाफदेहिता, पारदर्शिता, सुशासन र नागरिकमैत्री सेवा कति व्यवहारमा आयो ?’ भन्ने विषय नै अबको मुख्य मूल्यांकनको आधार बन्नुपर्ने स्थानीय बताउँछन् । एक वर्षपछि फर्केर हेर्दा हेटौंडाका धेरै ठाउँमा आगोको डोब मेटिँदै गएका देखिन्छन् । राज्य र नागरिकबीचको विश्वासको प्रश्न भने अझै बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

देउमाईमा पेपरलेस बैठकदेखि डिजिटल प्रणालीसम्म