स्टेयरिङमै लागुऔषध, ४ चालक पक्राउ

कपिलवस्तु । चाडपर्व नजिकिँदै जाँदा घर फर्किने र गन्तव्यतर्फ हतारिने यात्रुको संख्या बढ्न थालेको छ। राजमार्गमा सवारीसाधनको चाप बढेसँगै यात्रु सुरक्षाको चुनौती पनि थपिएको छ। यही बेला कपिलवस्तुमा गरिएको ट्राफिक चेकजाँचले चिन्ताजनक अवस्था उजागर गरेको छ । यात्रु बोकेर सडकमा गुडिरहेका केही चालक लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका छन्।

बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा गरिएको लागुऔषध सेवन (लापसे) परीक्षणका क्रममा ४ जना चालक पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले दिउँसो १ बजेदेखि साँझ करिब ५ बजेसम्म सञ्चालन गरेको विशेष चेकजाँचमा शंका लागेका २३ चालकको युरिन एक्रो किटमार्फत परीक्षण गरिएको थियो। तीमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीका २५ वर्षीय युवराज खनाल, प्युठानका ३८ वर्षीय संजय केसी, रुपन्देहीका २३ वर्षीय लिलबहादुर विक र दाङका ३५ वर्षीय कृष्णकुमार गुप्ता रहेका छन्। उनीहरू क्रमशः टिप्पर, ईभी जिप, टेलर र फोर्स गाडी चलाइरहेका थिए। चेकजाँचकै क्रममा एक जना स्कुटर चालक मादक पदार्थ सेवन गरेको अवस्थामा समेत फेला परेका थिए।

लापसे पोजेटिभ देखिएका चालकहरूको किट प्रमाणीकरण प्रक्रिया पूरा भएपछि थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले नशाको प्रभावमा सवारी चलाउँदा चालक मात्र नभई यात्रु र सडक प्रयोग गर्ने सर्वसाधारणको जीवनसमेत जोखिममा पर्ने बताए। उनले चाडपर्व अवधिभर लागुऔषध सेवन, मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लङ्घन विरुद्धको निगरानी र चेकजाँचलाई अझ कडा बनाइने जानकारी दिए।

चाडपर्वको समयमा हुने अत्यधिक आवागमनका बीच सडक सुरक्षालाई लिएर प्रहरीको सक्रियता बढिरहँदा नशाको अवस्थामा सवारी चलाउने चालक भने यात्रुको सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा देखिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

इभी गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु