चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं ओहरदोहर गर्ने गरेका थिए ।
मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् ।
सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापा कृष्णभिरको सडक दुईतर्फी रुपमा खुलेपछि सेवा दिन सहज भएको बताए ।
उनले भने, “कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदैआएको थिएँ ।” थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारि आफ्नै अर्को माइक्रोबसमा राखेर काठमाडौँसम्म यात्रु पु¥याउने कार्य गर्दैआएका छन् ।
काठमाडौंबाट नारायणगढ आइपुगेका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गरे। आफू काठमाडौं जाँदा हेटौँडा हुँदै गएको र बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको उनले बताए । हेटौँडातर्फबाट जाँदा साँघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख पाएको उनको भनाइ छ । थारुले भने, “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।”
अर्को ट्रकका चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आएका छन् । भैरहवा जान आएका उनी सडक बनेपछि सहज भएको बताए । हेटौँडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उनले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताए । सरकारले छोटो समयमा वैकल्पिक मार्ग बनाएकामा उनले धन्यवाद दिए ।
भैरहवाबाट काठमाडौँ जाँदै गरेका बस चालक आशिष क्षेत्री सडक बनेपछि आफूहरुलाई सहज भएको बताए । यसअघि काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको भन्दै उनले जामका कारण दुई दिन समय लागेको बताए । हेटौँडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने क्षेत्रीको भनाइ छ ।
उनले भने, “सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा दुःख पाइयो ।” काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको भन्दै उनले सरकारले गरेको कामको प्रशंसा गरे ।
कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधन आवतजावत गराइएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए । आज बिहानदेखि सहज रुपमा सवारीसाधन कृष्णभिर हुँदै आवतजावत गरेका उनले जानकारी दिए ।
कृष्णभिरको सडक फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रुपमा भाँसिएको थियो । झण्डै एक सय मिटर सडक भाँसिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाइएको हो । नियमित रुपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा पूर्ववत् अवस्थामा आज बिहानदेखि सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरुले सडक बनेसँगै खुसी व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक
कृष्णभीरको पहिरोपछि बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
…अनि भेटियो सुरुङभित्र जीवन
भोटेकोशी बाढी: ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
अझै ३–४ दिन कृष्णभीरको बाटो नखुल्ने
ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउँदै प्रदेश सरकार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी





