काठमाडौं । कालिगढले आज (१ असोज) विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको संख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
(रासस)
–––
सम्बन्धित समाचार
बाढीबाट ज्यान गुमाउनेको सम्मानमा २२ भदौका दिन राष्ट्रिय शोक घोषणा
बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
रसुवामा पठाइयो हैजाविरुद्ध २१ हजार डोज खोप
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान
चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर





