दशैँअगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दशैँअगाडि नै टुंग्याउन निर्देशन दिएका छन् ।

मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

शिक्षा नियमावलीको दशौं संशोधन आएदेखि नै बाहिर आएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले दुई महिनादेखि नियमावलीको एघारौं संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै आएका छन् । शिक्षा नियमावलीको दशौं संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेलले सबै सरोकारवालाहरुसँग मन्त्रालयमा चरणबद्ध छलफल गरेका थिए । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझाव लिइएको थियो । कतिपय छलफलमा मन्त्री पोखरेल स्वयं सहभागी भएका थिए । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव संकलन गरेको थियो ।

शिक्षा नियमावलीको दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुरामा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।

शिक्षा नियमावलीको दशौं संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरुमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्रालयलाई भनिएको थियो । मन्त्री पोखरेलले मन्त्रालयअन्तर्गत थाती रहेका ऐन तथा नियमावलीलाई समेत छिटो टुंग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को गत १८ असारमा बसेको बैठकले शिक्षा नियमावली (दशौं संशोधन), २०८३ स्वीकृत गरेको थियो । त्यसअघि ३ फागुन २०७७ मा शिक्षा नियमावलीको नवौँ संशोधन भएको थियो ।

दशौं संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन