इलाम । बाहिरबाट हेर्दा घर सामान्य छ । वरिपरि हरियाली छ । छानोमुनि परिवारको दैनिकी चलिरहेकै देखिन्छ । तर यही घरको एउटा बन्द कोठाभित्र विगत चार वर्षदेखि भिमा चौलागाईंको जीवन थुनिएको छ । बाहिर संसार छ, परिवार छन्, आफन्त छन् । तर उनी भने अँध्यारो कोठामा छिन् । भित्र चिच्याहट सुनिन्छ तर भेटेन सकिँदैन ।
उपचारको आसमा सम्पत्ति सकियो, उपाय चलेन
उनी हुन देउमाई नगरपालिका–२ साप्जुङकी ३५ वर्षीय भिमा चौलागाईं । बाहिर परिवारका सदस्य छन्, तर उनलाई भेट्न सक्ने अवस्था छैन । भीमा आफ्नै घरमा छिन तर परिवारसँग घुलमिल हुन सकेको छैन । मान्छे देख्ने बित्तिकै आक्रमण हुने भएपछि परिवारकै सदस्यसमेत उनको नजिक जान सक्दैनन् । ढोका खोल्न समेत जोखिम भएपछि खाना झ्यालको दुलोबाट दिने गरिन्छ ।
भिमाको उपचारका लागि परिवारले विभिन्न ठाउँमा पु¥याएको जनाएको छ । आँखा भरी आँसु झार्दे आमा यादाकुमारी चौलागाई भन्छिन् “सम्पत्ति सकेर उपचार ग¥यौँ, तर उपाय चलेन, ।” उपचारमा सम्पत्ति सकिँदै गयो । तर बिरामीको अवस्था सुधार हुन सकेन । अहिले आमाका सामु एउटै समस्या छ अब कहाँ लैजाने, के गर्ने ?

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा २०८१ साल वैशाखको रिपोटअनुसार भिमालाई मानसिक स्वास्थ्य समस्या भएको देखिएको परिवारले जनाएको छ । अस्पतालमा हुँदा सामान्य अवस्था जस्तो लागे पनि घर आएपछि बिरामीको उश्रृखंल गतिविधिका कारण कोठाभित्र राख्नुको विकल्प नरहेको परिवारले जनाएको छ ।
भिमालाई जबरजस्ती कोठाबाट निकाल्नु परिवारले पनि आँट गर्दैन । उनको आक्रामक व्यवहारका कारण परिवारका कोहि पनि नजिक जान सक्दैनन् । चार वर्षदेखि अँध्यारो कोठामा सीमित उनको जीवन एउटा परिवारको निजी पीडा मात्र होइन । छर छिमेकी पनि उद्धारको खोजीमा छन् । छिमेकी सन्देश राई भन्छन्, “परिवारले आफ्नो क्षमताले भ्याएसम्म उपचार गरिसक्यो । तर समस्या समाधान भएन । अब के गर्दा हुन्छ, उनको उपचारको बाटो खोज्नैपर्छ । परिवारको मात्रै प्रयासले सम्भव नभएपछि स्थानीय सरकार र सम्बन्धित निकायले पहल गरिदिन अनुरोध गर्छन् ।”
आमा यादाकुमारीको सङ्घर्ष
यादाकुमारीका श्रीमानको मृत्यु भएपछि यादाकुमारीको जिम्मेवारी थपियो । त्यस बेला भीमा तीन वर्षकी थिइन भने भीमाको भाइ हरि नौ महिनाको थियो । सानो जमिनमा खेतीपाती गरेर छोराछोरी हुर्काइन् ।
अभावकाबीच पनि छोराछोरीलाई पढाइन र परिवारको भविष्य राम्रो बनाउने सपना देखिन् । तर समय बित्दै जाँदा छोरीको मानसिक स्वास्थ्यसम्बन्धी समस्याले झन् चिन्ता बढ्यो । त्यति मात्रै होइन छोरोलाई पनि मानसिक समस्याले सताउने गरेको आमा यादाकुमारी बताउँछिन् ।
भीमालाई अस्पतालमा उपचार गराउँदा केही समय सामान्यजस्तो देखिए पनि घर फर्किएपछि पुरानै व्यवहार दोहोरिने गरेको उनका काकाका छोरा डिक चौलागाईं बताउँछन् । अवस्था जटिल बन्दै गएपछि उनलाई नियन्त्रणमा राख्न कोठामा राख्न थालेको परिवारले जनाएको छ ।
सम्बन्धित समाचार
‘खिजीदेम्बालाई ओखलढुंगाको कर्णाली भनिन्छ, विकासको पहिलो प्राथमिकता सडक सञ्जाल हो’
गाउँ जाने बाटोमा ज्यानकै जोखिम
संखुवासभामा गोली हानी शिक्षकको हत्या
सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना
‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?’






