काठमाडौं । बाढीपहिरोका कारण पृथ्वी राजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ ।
सो कान्तिलोकपथका ललितपुर महानगरपालिका–२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ ।
त्यसैगरी, कालीगण्डकी कोरिडोरअन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका–१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।
सम्बन्धित समाचार
बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्छन् : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ
ढुंगे–त्रिशूली जोड्ने झोलुंगे पुल सञ्चालनमा
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह
सभापति लामिछाने भारत जाँदै
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान, आजदेखि नै पानी पर्ने
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति






