ठेकेदारको बदमासीले इलाममा तीन आयोजना अलपत्र, ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँदै पूर्वाधार

इलाम । इलामको पश्चिमी क्षेत्रलाई झापासँग जोड्ने रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोक्तिम सडक निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन । २०७९ असारमा सम्पन्न गर्नेगरी २०७६ कात्तिक १९ गते सम्झौता भएको उक्त सडक निर्माणले अझै गति लिन सकेको छैन ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशअन्तर्गत २२ दशमलव ५ किलोमिटर लामो उक्त सडक निर्माणका लागि ३९ करोड ८६ लाख १० हजार ५०९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मेवारी पाएको प्यासिफिक–एलिट जेभी काठमाडौंले सम्झौताको समयसीमा सकिएको लामो समय बितिसक्दा पनि काम सम्पन्न नगरेपछि सडक आयोजना अलपत्र बनेको छ ।

निर्माण सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि पूर्वाधार विकास कार्यालय इलामले कारबाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका तीनवटा सडक तथा पुल निर्माण आयोजनाको ठेक्का सम्झौता तोड्ने चेतावनी दिँदै सम्बन्धित निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ ।

कार्यालयले इलाम बजार पर्यटकीय सडक, रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोक्तिम सडक र सिद्धिखोला पुल निर्माण आयोजनाको काम सम्झौताअनुसार सम्पन्न हुन नसकेपछि प्रक्रिया अघि बढाएको हो । तीनवटै आयोजनाको म्याद आगामी जेठ मसान्तमा सकिँदैछ । तर, आयोजनाको प्रगति भने सन्तोषजनक छैन । निर्माण कार्य अघि नबढेपछि पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा र निर्माण व्यवसायीले प्रतिबद्धता जनाउँदासमेत कामले गति नलिएपछि कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।

इलाम बजार पर्यटकीय सडक आयोजनाको निर्माण जिम्मा श्रेष्ठ–सक्षम जेभी काठमाडौंले लिएको छ भने रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोक्तिम सडक निर्माणको जिम्मेवारी प्यासिफिक–एलिट जेभी काठमाडौंले लिएको छ । त्यस्तै, सिद्धिखोला पुल निर्माण आयोजनाको काम रौताहा–आशिष दीप जेभी भद्रपुरले लिएको छ । कार्यालयले पटक–पटक म्याद थप गर्नुका साथै ताकेता गर्दा पनि निर्माण कार्य सम्पन्न नभएको र ठेक्का सम्झौताका सर्तसमेत कार्यान्वयन नभएको जनाएको छ ।

पूर्वाधार विकास कार्यालय इलामका प्रमुख सुरेन्द्रकुमार सम्बोले निर्माण व्यवसायीलाई १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण र तत्काल निर्माण सम्पन्न गर्ने पर्याप्त कार्ययोजनासहित कार्यालयमा स्वयं उपस्थित हुन सूचना जारी गरिएको बताए । अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गरी थप कानुनी कारबाही अघि बढाइने उनको भनाइ छ ।

निर्माणका लागि करोडौँ रुपैयाँको ठेक्का लागे पनि समयमै काम सम्पन्न हुन नसक्नुले विकास निर्माणमा ठेकेदारको ढिलासुस्ती प्रस्ट देखिएको छ । लामो समयदेखि अलपत्र रहेका आयोजना सम्पन्न गराउन कार्यालयले निर्माण व्यवसायीमाथि दबाब बढाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

ठेकेदारको बदमासीले इलाममा तीन आयोजना अलपत्र, ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँदै पूर्वाधार