काठमाडौं । सुशासन र पारदर्शिताको नारा चर्काउँदै उदाएको सरकारले अहिंसा र शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको लुम्बिनी विकास कोषमा खुला प्रतिस्पर्धाको हुर्मत लिएर पदाधिकारी नियुक्ति र पदबहाली गराएको छ ।
सार्वजनिक प्रतिस्पर्धाबाट प्राप्त आवेदनको मेरिटोक्रेसीका आधारमा पदाधिकारी नियुक्त गर्ने भन्दै आवेदन मागेको सरकारले उपाध्यक्ष पदमा भने प्रतिस्पर्धीको मूल्यांकन, छनोटको आधार र अन्तर्वार्तासमेत सार्वजनिक नगरी गायिका तथा राजनीतिक शक्तिकेन्द्रको निरन्तर प्रभावमा रहेकी बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि कोषभित्र र बाहिर असन्तुष्टि चुलिएको छ ।
सरकारले गत जेठमा कोषका विभिन्न पदमा नियुक्तिका लागि सार्वजनिक आवेदन मागेको थियो । उपाध्यक्षसहित १२ पदका लागि ७२७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये उपाध्यक्ष पदमा मात्रै १०४ जनाको आवेदन परेको थियो । तर, आवेदन मागेर प्रतिस्पर्धाको प्रक्रिया अघि बढाएको मन्त्रालयले अन्ततः आवेदकमध्येबाट छनोट प्रक्रिया पूरा गरेको विवरण सार्वजनिक नगरी आनीलाई नियुक्त गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषद्को ३० असोजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्तावमा उनलाई नियुक्त गरेको थियो ।
लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार गरिएको नियुक्तिको पदावधि पाँच वर्षको हुन्छ । उपाध्यक्ष कोषको महत्वपूर्ण पदाधिकारी हुन् ।
यस्तो दीर्घकालीन जिम्मेवारीमा नियुक्ति गर्दा सरकारले सार्वजनिक प्रतिस्पर्धाबाट आवेदन माग्नुको औचित्य, १०४ प्रतिस्पर्धीलाई छनोट प्रक्रियामा कसरी मूल्यांकन गरियो र आनीलाई नियुक्त गर्ने आधार के थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तर, यी प्रश्नको जवाफ दिनुको सट्टा जवाफ माग्ने र नियुक्तिको विरोध गर्ने सरोकारवालामाथि दमन र पक्राउसम्मका गतिविधि गर्दै आनीलाई जबर्जस्ती पदबहाली गराइएको छ ।
खुला प्रतिस्पर्धाका लागि आवेदन मागेर पनि त्यसको परिणाम सार्वजनिक नगरी राजनीतिक तहबाट नियुक्ति गरिनुले सरकारको मेरिटोक्रेसी र सुशासनको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । नियुक्तिका लागि आवेदन दिएका व्यक्तिको योग्यता, अनुभव र कार्ययोजना परीक्षण नगरी निर्णय गरिएको हो भने आवेदन माग्ने प्रक्रिया नै औपचारिकतामा सीमित भएको देखिन्छ ।
आनीको नियुक्ति सार्वजनिक भएलगत्तै लुम्बिनीमा विरोध सुरु भएको थियो । स्थानीय अगुवा, बौद्ध धर्मका जानकार तथा लुम्बिनी बचाउ महाअभियानले नियुक्ति खारेज गर्न माग गर्दै धर्ना, प्रदर्शन, पत्रकार सम्मेलन र विरोधसभा गर्दै आएका थिए । स्थानीयले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बुझ्ने र सम्पदा व्यवस्थापनको अनुभव भएको व्यक्तिलाई नेतृत्व दिनुपर्ने माग गर्दै आएका थिए ।
आनीको नागरिकताको वैधानिकता, विगतमा उठेका आर्थिक पारदर्शिता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको अवस्थासमेत स्पष्ट नभएको भन्दै अभियन्ताहरूले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका थिए । उनीहरूले नियुक्ति बदर गरी निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।
विरोधकै क्रममा लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान र अभियन्ता बनिउद्दिन मुसलमानलाई प्रहरीले मध्यरातमा पक्राउ ग¥यो । पर्यटनमन्त्री खडकराज पौडेलको पुत्ला दहन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई एक दिन थुनामा राखेर भोलिपल्ट रिहा गरिएको थियो । नियुक्ति’bout उठेका प्रश्नको राजनीतिक तथा प्रशासनिक जवाफ दिनुको सट्टा विरोधमा उत्रिएका नागरिकलाई पक्राउ गरेर दबाबमा राख्ने सरकारी शैलीले विवाद थप चर्काएको छ ।
बंशज नागरिकताको प्रश्न अझै अनुत्तरित
नियुक्तिको विरोध हुनुको अर्को कारण आनीको व्यक्तिगत विवरण र विगतमा उठेका आर्थिक कारोबारसम्बन्धी प्रश्न हुन् । उनको आत्मकथा ‘फूलको आँखामा’ मा बुबाआमा तिब्बतबाट नेपाल आएको उल्लेख भएको र उनले वंशजका आधारमा नागरिकता लिएको विषयलाई लिएर स्थानीय अभियन्ताले छानबिनको माग गरेका छन् । २०७६ सालमा नागरिकताको विवरण’bout प्रहरीमा उजुरीसमेत परेको थियो ।
२०७५ सालमा हङकङबाट उनको बैंक खातामा १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर आएको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान अघि बढाएका थिए । राष्ट्र बैंकले थप रकम भित्र्याउने प्रयाससमेत रोकेको थियो ।
आनीले भने आफूविरुद्ध उठेका प्रश्न निराकरण भइसकेको र आफूलाई बदनाम गर्न अनावश्यक आरोप लगाइएको बताउँदै आएकी छन् । उनले आर्थिक कारोबारसम्बन्धी विवरण सम्बन्धित सरकारी निकायबाट बुझ्न पनि आग्रह गरेकी छन् ।
विरोध र असन्तुष्टिका बीच आनीले नियुक्तिको करिब एक महिनापछि २६ कात्तिकमा लुम्बिनी विकास कोषको कार्यालय पुगेर पदभार ग्रहण गरिन् । उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालय पुगेर जिम्मेवारी सम्हालेकी थिइन् । सोही दिन सदस्यसचिव सन्तोष पाण्डेयसहित नवनियुक्त पदाधिकारीले पनि पदभार ग्रहण गरेका थिए ।
यसअघि डा. ल्हारक्याल लामा र अवधेशकुमार त्रिपाठीको नियुक्तिमा समेत विवाद भएको लुम्बिनी विकास कोषमा अहिले फेरि त्यही अवस्था दोहोरिएको छ । स्थानीयको सहभागिता, नियुक्तिको पारदर्शिता र पदाधिकारीको सार्वजनिक विश्वसनीयतामाथि उठेका प्रश्नलाई बेवास्ता गर्दै नेतृत्व चयन गर्ने प्रवृत्तिले कोषको संस्थागत छविमै असर पारेको सरोकारवालाहरू बताउँछन् ।
सरकारले ७२७ जनाको आवेदन मागेर प्रतिस्पर्धाको सन्देश दिन खोजे पनि १०४ प्रतिस्पर्धी रहेको उपाध्यक्ष पदमा प्रतिस्पर्धाबाहिरकी आनीको नियुक्ति कसको दबाबमा भयो भन्ने प्रश्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै उठेको थियो । तर, यो विषय गुपचुप राखियो ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान, हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्त
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजको मौसम पूर्वानुमान
आज पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव पर्ने, यी ठाउँमा हुँदैछ वर्षा
कोप–३१ ‘निष्कर्षविहीन’ : जीवाश्म इन्धन र जलवायु वित्तमा जुटेन सहमति
एकाबिहानै भूकम्पको धक्का, महसुस काठमाडौं उपत्यकामा पनि






