कहिले छिनोफानो होला १२ वर्षमा ५२ पटक सर्वोच्चको इजलासमा घुमेको छायादेवी कम्प्लेक्सको विवाद ?

काठमाडौं । ऐतिहासिक अभिलेखमा राजगुठीको नाममा रहेको ठमेलस्थित कमलपोखरीको जग्गा व्यक्तिका नाममा दर्ता गरी व्यापारिक कम्प्लेक्स बनाइएको विवादमा सर्वोच्च अदालतले १२ वर्ष बितिसक्दा पनि अन्तिम निर्णय दिन सकेको छैन ।

ठमेलको मुटुमा रहेको ऐतिहासिक कमलपोखरी र त्यसको डिलसहितको सार्वजनिक गुठी जग्गा मासेर बनाइएको छाया सेन्टर अहिले व्यापारिक प्रयोजनमा सञ्चालन भइरहेको छ ।

ठमेलको व्यावसायिक क्षेत्रको प्रचलित जग्गा मूल्यका आधारमा भवनबाहेक उक्त १२ रोपनी १३ आना जग्गाको अनुमानित बजार मूल्य करिव ३ अर्ब रुपैयाँ पुग्छ । तर, सार्वजनिक सम्पत्तिको स्वामित्व र भोगाधिकारको विवाद भने अझै अदालतमा विचाराधीन छ ।

सत्ता र शक्तिको आडमा नक्कली मोही खडा गरी ऐतिहासिक पोखरीको जग्गा व्यक्तिका नाममा पु¥याइएको र त्यसमा व्यापारिक संरचना निर्माण गरिएको दाबीसहित २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले १५ थान रिट तथा मुद्दा दायर गरेका थिए ।

बैंकर पृथ्वीबहादुर पाण्डेले आफ्नी आमा छायाँदेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स निर्माण गरेको भन्दै त्यसलाई भत्काएर पोखरी कायम गर्न माग गरिएको छ ।

तर, सर्वोच्च अदालतको इजलासमा यो विवाद ५२ पटक पुगिसक्दा पनि सुनुवाइले गति लिन सकेको छैन । बुधबार पूर्ण इजलासमा पेसी चढेको मुद्दाले अब निरन्तर सुनुवाइको अवसर पाउँछ वा फेरि प्रक्रियागत उल्झनमा पर्छ भन्ने चासो बढेको छ ।

संयुक्त इजलासमा मात्रै यो विवाद ४० पटकभन्दा बढी पेसीमा चढेको थियो । एकल तथा संयुक्त इजलासमा १० वर्षसम्म मुद्दा घुम्दा १४ पटक हेर्न नमिल्ने, पाँचपटक हेर्न नभ्याउने र पटकपटक स्थगित भएको थियो । न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ४ पुस, २०८१ मा पाँचवटा जटिल कानुनी प्रश्न निरूपण गर्नुपर्ने भन्दै मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

त्यसपछि १३ माघ, २०८१ मा पूर्ण इजलासमा दर्ता भएको मुद्दा बुधबारसम्म सुनुवाइका लागि १२ पटक पेसीमा चढिसकेको छ । तीमध्ये आठपटक सुनुवाइका लागि इजलासमा पेस भएको छ । पाँचभन्दा बढी पेसी हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको पाइएको छ । छायाँदेवी कम्प्लेक्सका तर्फबाट दुईपटक सुनुवाइ स्थगित गराउन माग गरिएकोबाहेक अन्य सबै पेसीमा इजलासबाटै सुनुवाइ अघि बढ्न सकेको छैन ।

बुधबारको पेसीले मुद्दा निरन्तर सुनुवाइमा जाने वा फेरि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्ने भन्ने टुंगो लगाउनेछ । संयुक्त र पूर्ण इजलासमा गरी ५२ पटक सर्वोच्च अदालतको इजलासमा पुगिसकेको विवादमा अझै अन्तिम सुनुवाइको टुंगो छैन । सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पु¥याएर व्यापारिक प्रयोजनमा लगाइएको विषय १२ वर्षसम्म अदालतमा अल्झिँदा छाया सेन्टर भने निर्वाध सञ्चालन भइरहेको छ ।

कमलपोखरी यसरी पुग्यो व्यक्तिका हातमा

छाया सेन्टर बन्नुअघि सो ठाउँको ऐतिहासिक कमलपोखरी रहेको विभिन्न तथ्य र प्रमाणले पुष्टि गरेका छन् ।

सय वर्ष पहिलादेखि हालको छाया सेन्टर भएको ठाउँ ‘थँ बहिल’मा कमलपोखरी थियो । सो पोखरी केशरशमशेरको पालासम्म थियो । केशरशमशेरपछि उनका सन्तानले शक्ति र सत्ताको आडमा ‘भगवानको बिर्ता’ रहेको ऐतिहासिक अभिलेख नामेट बनाएर राज्य शक्तिको समेत दुरुपयोग गरेर व्यक्तिलाई बिक्री गरे । ऐतिहासिक अभिलेख र प्रमाणले सो क्षेत्र राजगुठी र कमलपोखरी रहेको तथ्य देखाएका छन् । गरुड भगवान गुठीले १९६५ सालमा पोता तिरेको पोता रसिदमा कमलपोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख गरिएको छ ।

१९७० सालको अभिलेखमा पनि यस्तै विवरण उल्लेख छ । डिल्लीबजार, लगत फाँटमा रहेको १९६७ सालको ठमेलको पोता लगतमा कमलपोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख गरिएको छ । पोखरी वरिपरिको डिल, पुरानो बाटोसमेत बारीको ‘थँ बहिल’का ‘गोप्रसादसिंह प्रधानले लिएको ठेक्का’उल्लेख गरिएको अभिलेख छ ।

पूर्ण इजलासले हेर्नुपर्ने ५ तथ्य

ठमेलस्थित ऐतिहासिक कमलपोखरीको जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गरिएको विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले पाँचवटा जटिल कानुनी प्रश्नको निरूपण गर्नुपर्नेछ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले १० वर्षदेखि विचाराधीन मुद्दा पूर्ण इजलासमा पठाउँदै पूर्ण इजलासले विभिन्न ५ वटा विषय निरुपण गर्नुपर्ने भनेको छ ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहालअगाडिको कमलपोखरी मासेर आमा छायाँदेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै भत्काउन माग गरी २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतका १५ वटा बेग्लाबेग्लै रिट र मुद्दा दर्ता भएका छन् ।

सो रिट तथा मुद्दामा पूर्ण इजलासले मुख्यतः पाँच विषयमा कानुनी व्याख्या गर्नेछ । पहिलो, गुठी जग्गामा मोही हक नपाउने कानुनी व्यवस्थाका बाबजुद ३ पुस २०३३ मा सर्वोच्च अदालतमा भएको मिलापत्रले केयुरशमशेर राणाका नाममा मोही हक सिर्जना गर्न मिल्ने हो वा होइन र त्यसको कानुनी हैसियत के हुने ? भन्ने निर्णय दिनेछ ।

दोस्रो, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा दर्ता गर्न नपाइने कानुनी व्यवस्थाबीच केयुरशमशेरबाट २०४४ मा अम्बिका राणाका नाममा नामसारी र २०४७ मा रैतानी परिणत गरिएको कार्य कानुनसम्मत हो वा होइन ? भन्ने विषयको निरुपण गर्नुपर्नेछ ।

तेस्रो, गुठी संस्थानको सञ्चालक समितिको निर्णयबिना अध्यक्षले गरेको सहमति तथा संस्थानका विभिन्न कार्यालयबाट भएका निर्णयलाई संस्थानकै आधिकारिक निर्णय मान्न मिल्ने हो वा होइन ? भन्ने निर्णय गर्नुपर्ने छ ।

चौथो, २०२४ सालमै राजगुठीमा समावेश भएको जग्गामा साबिक गुठियारको हक कति रहने र गुठीको हितविपरीत गुठियार तथा मोहीबीच भएका मुद्दा र मिलापत्रको कानुनी मान्यता के हुने ? भन्ने विषयमा केन्द्रीत छ ।

पाँचौँ तथा प्रमुख विषय पटकपटकको नामसारी, रैतानी, कित्ताकाट र तेस्रो पक्षमा हस्तान्तरण भई भवनसमेत निर्माण भइसकेको अवस्थामा ती सबै कामकारबाही बदर गरी पोखरी, पोखरीको डिल र चोकलाई पुरानै राजगुठीको प्रकृति र स्वरूपमा फर्काउन मिल्ने हो वा होइन ? भन्ने बिवादको निरुपण पनि पूर्ण इजलासले गर्नुपर्नेछ ।

यी प्रश्नको निरूपणले कमलपोखरीको जग्गाको स्वामित्व, गुठीको अधिकार र निर्माण भइसकेको व्यापारिक संरचनाको कानुनी हैसियतसमेत निर्धारण गर्नेछ ।

कमलपोखरी विवादमा यस्ता छन् नजिर

कमलपोखरीको जग्गामा मोही हक कायम गर्न नमिल्ने र अदालतको मिलापत्रबाट समेत व्यक्तिको स्वामित्व सिर्जना नहुने विषयमा सर्वोच्च अदालतले यसअघि नै विभिन्न नजिर स्थापित गरिसकेको छ ।

१० चैत २०७३ मा न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासले भागवतनरसिंह प्रधानको ‘गुठी रैतानी निर्णय बदर गराइपाऊँ’ मुद्दामा अम्बिका राणाको पक्षमा जिल्ला र पुनरावेदन अदालतबाट भएका फैसला त्रुटिपूर्ण रहेको औंल्याएको थियो ।

उक्त आदेशमा गुठी संस्थान ऐन, २०३३ को दफा २५ (४), २६ (४) र २७ (ख) तथा मालपोत ऐन, २०३४ को दफा २४ प्रतिकूल हुने गरी गुठी जग्गामा मोही हक कायम गर्न नमिल्ने कानुनी आधार प्रस्तुत गरिएको थियो ।

गुठी संस्थान ऐनको दफा २५ (४) ले धार्मिक तथा सार्वजनिक पर्ती जग्गा व्यक्तिका नाममा दर्ता गर्न नपाइने र दर्ता भइसकेको भए पनि बदर गर्न सकिने व्यवस्था गरेको छ । दफा २७ (ख) ले साबिकदेखि खेती नभएको बागबगैंचा तथा सहरबजारको पर्ती गुठी जग्गामा मोहियानी हक नलाग्ने स्पष्ट गरेको छ ।

तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरी र न्यायाधीश अनुपराज शर्माको इजलासले २३ मंसिर २०६५ मा सूर्यप्रसाद धितालविरुद्धको मुद्दामा दर्ता नै कायम नभएको जग्गा मिलापत्रमा उल्लेख गर्दैमा हक सिर्जना नहुने नजिर स्थापित गरेको छ ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (५) ले समेत नेपाल सरकारको स्वामित्वको जग्गामा मोही हक नलाग्ने व्यवस्था गरेको छ । मालपोत ऐनको दफा २४ ले सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा व्यक्तिका नाममा दर्ता वा आवाद गर्न निषेध गरेको छ ।

तत्कालीन पुनरावेदन (हाल उच्च अदालत) पाटनको फैसलामा टेकेर छाया सेन्टर भवन निर्माण भए पनि सो फैसलालाई सर्वोच्च अदातले त्रुटिपूर्ण भनिसकेको छ । सर्वोच्च अदालतले पुनरावेदनको फैसला त्रुटिपूर्ण भन्दै खारेज गरिसकेपछि भवन भत्काएर सो स्थानमा ऐतिहासिक कमलपोखरी बसाल्नुपर्ने हो । तर, सर्वोच्चमा दायर भएको मुद्दा लामो समयदेखि विचाराधीन हुँदा निर्वाध रूपमा छाया सेन्टर सञ्चालन भइरहेको छ ।

छाया सेन्टरका लगानीकर्ताले सो क्षेत्रमा निजी पोखरी दाबी गरे पनि विभिन्न प्रमाण र तथ्यले सो ठाउँमा श्री सिंहसार्थ गरुड भगवान गुठीअन्तर्गत कमलपोखरी भएको औंल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

कहिले छिनोफानो होला १२ वर्षमा ५२ पटक सर्वोच्चको इजलासमा घुमेको छायादेवी कम्प्लेक्सको विवाद ?