नेपाल एकीकरण र बहादुर शाह

असार ६ नेपालको एकीकरणका योद्धा बहादुर शाहको जन्मदिन हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म ६ असार १८१४ मा नुवाकोट दरबारमा भएको थियो । बहादुर शाह जन्मेका बेलामा पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो र काजी कालु पाण्डेको यस लगाइँमा मारिइसकेका थिए । हिमवत्खण्डमा अवस्थित धेरै हिन्दू राज्यलाई दक्षिण भारतखण्डमा कब्जा जमाएर बसेकोे इस्ट इन्डिया कम्पनीले आक्रमण गर्ने बाटो हेरिरहेकाले बहादुर शाह पृथ्वीनारायण शाह शाहको राष्ट्रिय एकीकरणलाई मूर्त रूप दिन सधंै समर्पित थिए ।

उनले स्वर्गीय पिताको एकीकरण अभियानमा नेपाली भूभाग करिब तेब्बर बनाउन सफल भएका थिए । बहादुर शाहले सात-आठ वर्षको उमेरदेखि नैं युद्ध ज्ञान हासिल गरेका थिए । पृथ्वीनारायण शाहको स्वर्गारोहणपछि दाजु सिंहप्रताप शाहसँग खटपट हुँदा बनारसमा निर्वासित रहेका बेला उनी विदेशीको रणनीतिलाई नजिकैबाट नियाल्ने मौका पाएका थिए । बुबा पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदा १८ वर्षका रहेका बहादुर शाह दाजु प्रतापसिंह शाहको स्वर्गारोहण हुँदा मात्र २१ वर्षका थिए ।

पृथ्वीनारायण शाहबाट हिमवत्खण्डका ५४ जति हिन्दू राज्यलाई एकीकृत गर्र्ने अभियानलाई कान्छा छोरा बहादुर शाहले पूरा गरेका थिए । विजित राज्यमाथि राम्रो बन्दोबस्त मिलाएका थिए । आश्रित राज्य बनाउने नीति लिएका उनको पालामा पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाङ, गढवालसम्मका राज्य नेपाल अधिराज्यमा सम्मिलित भएका थिए । अहिले भारतमा रहेको चारधाम केदारनाथ, बद्रीनाथ, अमरनाथ, सोमनाथ पनि बहादुर शाहको एकीकरणको समयमा विशाल नेपालमा समाहित थिए । यो हिसाबले यमुनासम्म साँध भई सिरमोढसँग सन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो । यी सबै सर्त कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छ । बहादुर शाहले शक्तिबल्लव, वाणीविलासजस्ता विद्वान् पण्डितलाई पे्ररित गरेका र विद्वान्हरूबाट नेपाली भाषामा ग्रन्थ लेखाएका थिए । नेपालमा नयाँ हतियार र तोपहरू बनाउन बहादुर शाहको ठूलो योगदान छ । बहादुर शाहको नायवीकालमा भारदार सन्तुष्ट र प्रसन्न थिए ।

एकीकरणको बेला लडाइँमा रसदपानीको खर्च व्यवस्था राज्यकोषबाटै गरिन्थ्यो । पैसाको कमी हुन थालेपछि राजा रणबहादुर शाह र बहादुर शाहबीचमा सम्बन्ध चिसिन थाल्यो । अर्कोतिर नेपालको एकीकरण तुहाउन विदेशीले अनेकौं षड्यन्त्र गरिरहेका थिए । दरबारभित्रै पनि अनेकौं षड्यन्त्र रचियो । नेपालको इतिहास आफंैमा रक्तरञ्जित छ । सानोतिनो मनमुटावलाई अतिरञ्जित गरी तिलको पहाड बनाइन्थ्यो । सिंहप्रताप शाहको मृत्युपछि महारानी राजेन्द्रलक्ष्मीको हालीमुहाली चल्न थाल्यो । उनी बहादुर शाहले दिएको युद्ध हिसाबबाट सन्तुष्ट भइनन् । दरबारिया खटपटले एकीकरण अभिभयान टुट्न गयो । भतिजा राजा रणबहादुर शाहले बहादुर शाहलाई नजरबन्द गरे ।

बहादुर शाहले भारत र चीन दुवैलाई समदूरीमा राखेका थिए

विशाल नेपाल चीनसँग नजिक हुँदै गएको अंग्रेजलाई मन परेको थिएन । भारतबाट नेपाल र तिब्बतसँग ब्यापार बढाउन उत्सुक अंग्रेज हेटौंडाको बाटो हुँदै भोटतर्फ समानहरू पठाउन चाहन्थ्यो । बहादुर शाहको वीरता देखेर अबधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएका थिए । चीनसँग सम्बन्ध कायम भएपछि अंग्रेज पनि नेपालसँग दज्किन लागेको थियो । उता अंग्रेज मौका हेरेर पर्खी बसेको थियो भने यता दरबारका कुरौटे, भरौटे भारदारले अनेकौं षड्यन्त्र गरिरहेका थिए । नेपालका सपूत बहादुर शाहको १८५४ साल असार १४ गते ४० वर्षकै उमेरमा बन्दी अवस्थामा हत्या गरियो । उनलाई विष्णुमती किनारस्थित जेलमा हत्या गरियो । बहादुर शाह प्रतिष्ठानको आलेखमा उनलाई नुवाकोट पु¥याएर अत्यन्त दुःख दिएर हत्या गरिएको थियो । उनको हत्या नभएको भए नेपालको सीमाना पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश र दक्षिणमा गंगा नदीसम्म हुन्थ्यो होला ।

नेपाललाई चीन र अंग्रेज दुवैबाट खतरा थियो । चीनको सम्भावित आक्रमणबाट बचाउन बहादुर शाहले इस्ट इन्डिया कम्पनीसँग पनि सम्बन्ध बनाइराखेका थिए । अंग्रेजी व्यावसायिक समानमा सवा २ प्रतिशतले भन्सार लिनेगरी बहादुर शाहले नेपाल सरकारतर्फबाट सन्धि पनि गरेका थिए । उनले चीनसँग पनि सन्धि गरेकाले इस्ट इन्डिया कम्पनी सन्तुष्ट थिएन । अंग्रेजसँग समझदारी बढाउनु भविष्यका लागि खतरा हुने र चीनसँगको सम्बन्ध राम्रो हुने बहादुर शाहको निर्णय दूरदर्शी थियो । पछिल्लो समयमा दलाई लामाको नियुक्ति १४७६ देखि चीनको बाटो हुँदै आएकाले भोटसँगको झगडा चीनसँगको झगडा मानिन थालियो । त्यसैले, चीनसँग समझदारी राख्नु बहादुर शाहको सफल कूटनीति थियो । तिब्बतमा मल्लकालदेखि चाँदीका टक चल्थे । चाँदीका टकमा तामा मिसाएर भोटमा टक पठाउने पनि गरिन्थ्यो । पछि पृथ्वीनारायण शाहका पालादेखि चाँदीकै टक भोटमा पठाउने गरियो । खोटा सिक्काले नेपाल–तिब्बत सम्बन्धमा चीसोपन आउन थालेको थियो ।

भोटसँग चीनको प्रभाव राम्रो रहेकाले चीनलाई मध्यस्थ बनाउन बहादुर शाहले चाहना थियो । तर, भोटको बाटो चीनमा चिठ्ठी पुग्न पाएन । त्यसबेलामा दलाई लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए । तर, काठमाडौंबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडाइँ भयो र नेपालको जित भयो । त्यसबेला सिक्किमले नेपालको आधिपत्य स्वीकार ग¥यो । सिक्किममा आफ्नो हार भएपछि दलाई लामा र टसी लामाले चीनसँग सहायता मागे । चीनबाट ७ हजार सेना भोटको सहायताका लागि आयो । नेपालको राजधानी काठमाडौं दखल गर्ने सोचमा चिनियाँ फौज सक्रिय भयो । १८४९ असारमा चिनिया फौजसँग घमासान लडाइँ भयो । २ सय चिनियाँ र ३ सय नेपालीले वीरगति प्राप्त गरे । केरुङमा चीनको दखल हुन पुग्यो । नेपाली फौज रसुवाको धुन्चेमा थियो । चीनियाँसँग भिड्न बहादुर शाहले राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिई धुन्चे पुगे ।

चिनियाँसँग मुठभेड भई घमासान लडाइँ भयो । चिनियाँ फौज १५ सय मरे र अरू भागेर फर्के । त्यसपछि चीनियाँ पक्षले सन्धिको कुरा उठाए । त्योबेला नेपाली फौज ५ सय हताहत भए । बहादुर शाहको मित्रवत् कूटनीतिको कारणले चीनसँग सन्धि भयो । चीनसँग सन्धि भएपछि चीनका बादशाहकहाँ नेपालबाट पाँच वर्षमा राजदूत जाने व्यवस्था भयो । त्यस सन्धिमा शस्त्रधारी सैनिकबाहेक नेपालका प्रत्येक नागरिकलाई भोट, चीनका राज्यमा पर्यटन गर्ने, कारखाना खोल्ने, व्यापार गर्ने अनुमति प्राप्त हुने, नेपाल भोट कुनैले अर्काको जमीन दखल गर्न खोजेमा दुवै देशका सरकारी प्रतिनिधिले पेकिङ दरबारलाई निर्णयको अन्तिम सूचना पठाउने, विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले अवश्य नेपालको सहायता गर्नेछ, चीनले नेपाललाई मैत्रीपूर्ण उपहार पठाउने र प्रतिनिधि मण्डल पेकिड आउँदा जाँदा प्रत्येक किसिमको सुविधा हुने प्रबन्ध मिलाउनेछ भन्ने सन्धिमा उल्लेख भयो ।

चीनका बादशाहले नेपालका राजा रणबहादुरलाई सम्मान गर्ने र नेपालको तर्फबाट चीनको बादशाहलाई उपहार पठाउने चलन पनि त्यसबेलादेखि चल्यो । नेपालको इतिहासमा चीनसँग सन्धि गर्ने पहिलो बहादुर शाह नै हुन् । तर, नेपालको एकीकरणका हस्ती बहादुर शाहजस्तो महान् सपूतलाई अझसम्म नेपालका विभूति नराखिएकाले विभूति घोषणा गरिनुपर्छ । बहादुर शाहको जन्म नुवाकोटमा भएको र उनको मरण पनि नुवाकोटमा नैं भएकाले रसुवा नुवाकोट मार्गलाई बहादुर शाह राजमार्ग कायम गरिएमा उनको सम्मान हुनेछ । विशाल नेपालका अग्रदूत बहादुर शाह नेपालको इतिहासमा अजर र अमर छन् ।

तपाइको प्रतिक्रिया
(Visited 4,324 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित