वैदेशिक रोजगारी सिर्जित चुनौती

अहिले नेपालको लगभग एक तिहाइ जनसंख्या विदेशमा छ । युवा ब्रेन र मसल बेचिरहेका छन् । तर, विदेशिएको युवाशक्ति’bout घोत्लिएर कमैले संश्लेषण गरेका छन् । आखिर किन बिदेसिए त युवा पुस्ता ? युवा बिदेसिँदा आइपर्ने समस्यालाई राज्यले पनि गम्भीरताका साथ आँकलन गर्न सकिरहेको छैन । झट्ट हेर्दा रेमिटेन्सले आर्थिक टेवा पुगेको देखिए तापनि वैदेशिक रोजगारले निम्त्याउने समस्या निकै चोटिला छन् ।

देशमा बेरोजगारको ठूलो समस्या छ । प्रजातन्त्रकालीन दशकमा राज्यले १ सय १० देशसँग सम्झौता गरी युवालाई वैदेशिक रोजगारीमा पठाउने गरेको छ । वैदेशिक रोजगारीले नेपाली समाजमा आर्थिक गर्जो टर्ने गरेको कुरा सत्य हो । विदेशबाट पठाएको पैसाले धेरै नेपालीको चुलो चलेको छ । महँगो स्वास्थ्य उपचारमा सहयोग पुगेको छ । छोराछोरीले निजी अंग्रेजी स्कुलमा पढेका छन् । कतिले सहर बजारतिर घरघडेरी जोडेका छन् भने कतिपयले पहाडबाट तराईतिर बसाइँसराइ गरेका छन् । यसरी आर्थिक पाटोबाट हेर्दा चित्त बुझाउने ठाउँ भए तापनि यसले निम्त्याएका पारिवारिक, सामाजिक, राजनीतिक एवं राष्ट्रिय विकास निर्माणका चुनौती विकराल छन् ।

पारिवारिक चुनौती : नेपालका उच्च घरानाका छोराछोरी उच्च शिक्षा अध्ययनका लागि अमेरिका, युरोप, अस्टे«लियालगायतका देशमा जाने गरेका छन् । अध्ययनका लागि विदेश गएका विद्यार्थीमध्ये अत्यन्त थोरैले मात्र नेपालबाट आफ्नै पैसा लगेर त्यहाँका विश्वविद्यालयमा पढ्ने गर्दछन् । धेरैजसो पार्ट टाइम काम गरी कलेजको फी र जीवन निर्वाहको मेसोमा लाग्दछन् । बाल्यकाल आप्mनो देशमा अध्ययन गरी युवा अवस्थामा आफूले आर्जन गरेको ज्ञान र सीपलाई समाज विकासमा लगाउनुपर्ने बेलामा युवा बिदेसिएका हुन्छन् । विदेशतिर नै जागिर, बन्दव्यापार वा कुनै पेसा गरेर बसेका छन् । विदेश पढ्नका लागि गएका छोराछोरी उतै बस्न थालेपछि उनका बुबाआमालगायत परिवारजनबाट टाढिदै जानु स्वाभाविक कुरा हो । छोराछोरीले बुढेसकाल अथवा आफू अशक्त हँुदा हेरचाह गर्लान् भन्ने बुबाआमाको आशा र पीरमा परिणत भएको छ । हुँदै छ । उनीहरू बेसहारा बनेका छन् ।

युवाको जोस, जाँगर, ज्ञान, सीप र तागतको उपयोगबिना देशको विकास असम्भव छ

यसैगरी, मध्यम वर्गीय तथा निम्नमध्यम वर्गीय परिवारका युवायुवती कामका लागि कोरिया, कुबेत, इजरायल, खाडी मुलुकलगायतका देशमा जाने गरेका छन् । घर, परिवार, श्रीमती, छोराछोरीलाई छाडेर विदेशमा काम गरिरहेका उनीहरूमा आर्थिक सहजता भए तापनि मानसिक पीडा कम छैन । विदेशमा कमाएको पैसाले परिवारलाई सदरमुकाम वा बजारतिर डेरामा राखी छोराछोरीलाई अंग्रेजी स्कुलमा पढाउनेको संख्या पनि धेरै छ । नेपालीले विदेशमा कमाएको ठूलो रकम उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको अर्थविद्को टिप्पणी छ ।

वैदेशिक रोजगारबाट कमाएको ठूलो हिस्सा घरखर्चमा नै सकिने गरेको छ । एक जनाले विदेशमा कमाउने र परिवारका अन्य सदस्य त्यही पैसाले नेपालमा रमाउने भएकाले विदेशको कमाइमा गुजरा चलाउनेको संख्या पनि ठूलै छ । कतिपय युवाका श्रीमतीले त श्रीमान्ले पठाएको पैसा हिनामिना गरी अरूसँग विवाह गरेका घटना व्याप्त छन् । यसले पारिवारिक विघटन, सम्बन्ध विच्छेदलगायतका घटना बढेको बढ्यै छन् । यसका साथै वैदेशिक रोजगारीले किसान परिवारको पुख्र्यौली कृषि पेसा उपेक्षित बन्दै गएको छ । गाउँघरका खेतबारी बाँझिएका छन् । गोठ भत्किएका छन् । यसरी हेर्दा वैदेशिक रोजगारभित्र लुकेका पारिवारिक कथाव्यथा अत्यन्त दर्दनाक देखिन्छ ।

सामाजिक चुनौती : विद्वान् इडोयु कोएनिखाले तिम्रा देशका युवाको पुरुषार्थ देखाऊ अनि तिम्रो देशको भविष्यको ’boutमा म भन्न सक्छु भनेका छन् । यसको अर्थ जुन देशका युवा शिक्षित, दक्ष, पराक्रमी एवं कर्मशील हुन्छन्, त्यो देशको विकास र समृद्घि हुन सक्छ भन्ने हो । कोएनिखाको भनाइलाई आधार मान्ने हो भने देशमा युवापुस्ता नै नबसेपछि देशको भविष्य आशालाग्दो देखिँदैन । देशका युवा स्वदेशमा नहुनु भविष्यको ठूलो चुनौती हो ।

अहिले युवा गाउँमा नहुँदा भैपरी आउने समस्या समाधान गर्न गाह्रो भएको गाउँवासीको दुखेसो छ । कतिपय गाउँमा विवाहमा जन्ती र मर्दा मलामी जाने मानिसको समेत अभाव छ । पढाइ, लेखाइ, जागिर, व्यापार उद्योगधन्दा या कुनै व्यवसाय गरी व्यक्ति विकास र समाज सेवा गर्ने समयमा युवा अन्तर्राष्ट्रिय बजारमा श्रमिक भएका छन् । कान्छा, बहादुर र कामदारका रूपमा श्रम बेचिरहेका छन् । गाउँघरको विकास कार्यमा कठिनाइ भएको छ ।

अहिले विश्वव्यापी रूपमा कोरोनाको महामारी छ । यो अवस्थामा विदेशिएका लाखौं युवा स्वदेश फर्किएका छन् । फर्किएका युवासँगै महामारी पनि भित्रिएको छ । भित्रिदै छ । अहिले भारतलगायतका देशबाट नेपालमा फर्किएका लाखौं नेपालीसँग कोरोना भाइरस भित्रिएको सामाजिक त्रास छ । तथ्यांकले पनि यो पुष्टि गरेको छ । यदि युवाले आफ्नै गाउँ गाउँठाउँमा रोजगारी वा आयआर्जन गर्ने अवसर पाएको भए आजको अवस्था आउने थिएन ।

राजनीतिक चुनौती : देशको युवा जनशक्तिलाई विदेश जान बाध्य बनाएर मुलुकलाई गतिहीन बनाउन अहिलेका राजनीतिक दल नै जिम्मेवार छन् । माओवादीको युद्घकालमा आप्mनो पढाइ, लेखाइ एवं पेसा छाडेर युद्घमा होमिएका युवा उक्त दल शान्तिपूर्ण राजनीतिमा आएपछि रोजगारीको लागि बिदेसिए । गणतन्त्रको लडाइँका नाममा देशमा भएका उद्योग पनि बन्द हुन पुगे । मुलुकमा रोजगारीको ठूलो समस्या सिर्जना हुँदै गयो ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि मेचीदेखि कालीसम्म, हिमालदेखि तराईसम्मका आमयुवा अग्रपंक्तिमा उभिएका थिए । नेपालमा युवाकै बर्कतमा राजनीतिक व्यवस्था परिवर्तन भएका हुन् । तथापि, दलका सर्वोच्च स्थानमा रहेका नेतागणको व्यवहार, आचरण र चिन्तन प्रजातान्त्रिक एवं दूरदर्शी नभएकाले युवाको भाग्य र भविष्य अनिश्चित बन्दै गयो । युवालाई आफ्नो भाग्य र भविष्य विदेशमा खोज्नुपर्ने अवस्थाको सिर्जना हुन पुग्यो । अहिलेको लोकतन्त्र, गणतन्त्र वा जनतन्त्र जे भने तापनि युवाका लागि हात्ती आयो, हात्ती आयो फुस्सा भनेझैं भएको छ ।

चिन्तक अल्फिखोनले विद्यार्थीलाई प्रजातान्त्रिक अभ्यासमा मात्र अभ्यस्त बनाउनुहुँदैन । उनीलाई भविष्यको अवसर प्रदान गर्नुपर्दछ भन्ने धारणा राखेका छन् । हाम्रो देशको सन्दर्भमा राज्यले युवालाई भविष्य दिने कुनै पनि प्रशंसनीय काम सकेन । बरु राजनीतिक फाइदाका लागि उपयोग गर्ने र विदेश जान बाध्य बनाउने कार्य भइरहेको छ ।

मुलुकका हरेक क्षेत्रमा राजनीतीकरण भएपछि अब्बल पढाइलेखाइ भएका असल सक्षम स्वतन्त्र चिन्तनका युवा पनि अवसरको खोजीमा विदेश पलायन भएका छन् । एकातिर पढेलेखेका सचेत युवा पलायन भएभने अर्कोतिर देशमा भएका बेरोजगार युवा आर्थिक लाभका लागि दलका अन्धभक्त भएको अवस्था छ । आफ्ना दलका नेतागणका कमीकमजोरीको ढाकछोप गर्दागर्दै कतिपय प्रतिभावान् युवाको उर्वर समय खेर गइरहेको छ । सचेत मतदाता विदेशमा भएकाले निर्वाचनको समयमा राम्रो राजनीतिक दल र सक्षम नेता छनोट हुन नसकेको राजनीतिकशास्त्री ठहर छ । यो झट्ट नदेखिए तापनि राजनीतिक शुद्घीकरण र प्रजातान्त्रिक अभ्यासको पनि ठूलो चुनौती हो ।

विकास निर्माणमा चुनौती : आर्थिक वर्ष २०७७-७८ को आर्थिक नीति तथा सिद्घान्तका ’boutमा संसद् भवनमा उठेका प्रश्नमध्ये सरकारले आवश्यक क्वारेन्टाइन निर्माण गर्न किन सकेन भन्ने सवालको जवाफमा प्रधानमन्त्री ओलीले जनशक्तिको अभाव भएकाले काम गर्न गाह्रो भएको जवाफ दिएका थिए । उनले देशका युवा विदेशमा छन् । अहिले महामारीका कारणले उनीहरू आउन चाहन्छन् । तर, आएपछि उनीलाई राख्ने क्वारेन्टाइन बनाउन देशमा जनशक्ति छैन भन्ने दुःखेसो पोखेका थिए । यसरी हेर्दा देश विकास गर्ने युवा जनशक्ति स्वेशमा नहुँदा विकास निर्माणका काममा ठूलो चुनौती देखापरेको छ ।

कुनै पनि देश विकास हुनका लागि त्यस देशका युवाशक्तिको भूमिका ठूलो हुन्छ । जुन देशले युवाको जोस, जाँगर, ज्ञान, सीप र तागतलाई विकासमा लगाउन सक्दैन, त्यो देशको विकास सम्भव हुँदैन । त्यसैले राज्यले देशका युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारमूलक तालिम एवं आयआर्जनका अवसरको सिर्जना गर्न ढिला नगरोस् ।

तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित