डडेल्धुरा । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सबै स्थानीय तहहरुलाई ग्रामीण अल्ट्रासाउण्डस सेवा पुनः सुचारु गर्न निर्देशन दिएकोे छ ।
आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि संचालन गरिएको ग्रामीण अल्ट्रासाउण्ड सेवा पुन सुचारु गर्नका लागि सुदुरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरुलाई पत्राचार गरिएको सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।
सदुरपश्चिम प्रदेशमा रहेका ८८ वटा पालिकाहरु मध्ये ६७ वटा पालिकामा १ जना नर्सिङ कर्मचारीलाई ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी तालिम समेत प्रदान गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पालिकामा रहेका शतप्रतिशत गर्भवती महिलाहरुलाई ८ देखि १० हप्ता, १८ देखि २० हप्ता र ३९ देखि४० हप्ता गरी कम्तीमा ४ पटक अनिवार्य अल्ट्रासाउण्डबाट गर्भ चेक गर्नुपर्ने हो तर चैत्र १० गतेदेखि सुरु भएको बन्दाबन्दीले नियमित ग्रामीण अल्ट्रासाउण्ड सेवा प्रभावित भएको र यसलाई पुनः सुचारु गर्न सवै पालिकाहरुलाई पत्राचार गरिएको सुदुरपश्चिम स्वास्थ्य निर्देशक डा.अवस्थीले बताए ।






