सिन्धुपाल्चोक । कोरोना भाइर(कोभीड–१९) को संक्रमणलाई रोकथामका लागि जुगल गाउँपालिकाले गठन गरेको कोरोना रोकथाम कोषमा नेकपा निकट युवा संगठन युवा संघ नेपाल जुगल पालिका कमिटीले ५ लाख रुपियाँ सहयोग गरेको छ ।
कोरोना संक्रमण सुरु हुन साथ गाउँपालिकाले कोरोना रोकथाम कोष खडा गरेको थियो । गाउँपालिकाले सबैलाई उक्त कोषमा सहयोग गर्न आग्रह गरेको थियो ।
युवा संघ जुगल गाउँपालिका कमिटी र नेकपा जुगल कमिटीले संकलन गरेको ५ लाख १ हजार २ सय २५ रुपियाँ नेकपा केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोधले’ गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
युवा संघ र नेकपा जुगल पालिका कमिटीले कोरोना रोकथाम कोषमा सहयोग जुटाउने उदेश्यले सुरु गरेको अभियानमा जुगल गाउँपालिकामा नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले समेत रकम सहयोग गरेका छन् ।
जुगल गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले ६८ हजार,उपाध्यक्ष सिर्जना तामाङले ३० हजार सहयोग गरेका छन् । त्यस्तै नेकपाबाट निर्वाचन वडा अध्यक्ष सहित सदस्यहरुले समेत उक्त कोषमा सहयोग गरेको युवा संघ जुगल गाउँ कमिटीले जानकारी दिएको छ ।
युवा संघ र नेकपा जुगल पालिका कमिटीले गाउँपालिकाभरका क्रियाशिल नेकपा का नेता कार्यकर्ताहरु सँग सहयोग संकलन गरेको नेकपाका स्थानीय नेता कृष्ण घिमीरेले जानकारी दिए ।
युवा संघले संकलन गरेको सहयोग रकम गाउँपालिकामा हस्तान्तरण गर्दे नेकपाका केन्द्रीय सदस्य सापकोटाले विपदमा पार्टीका सबै नेता कार्यकर्ताहरुले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए । सहयोग रकम बुझ्दै जुगल गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले आगामी दिनमा पनि सबैबाट सहयोग प्राप्त हुने र प्राप्त सहयोग रकमलाई कोरोना रोकथाम र नियन्त्रणका लागि खर्च गरिने प्रतिबद्धता जनाए । यस अघि युवा संघ जुगल कमिटीले मृगौला पीडित महिलाको उपचारको लागि समेत सहयोग संकलन गरेर पीडित महिलालाई हस्तान्तरण गरेको थियो ।






