९३ वर्षीय अशक्त बृद्धले पाए ‘सडकमै नागरिकता’

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक बृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारिरिक रुपमा समेत असक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो ।

स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनको लागि पहल थालेका थिए । स्थानीय नागरिक भएकोले संघीय सांसद सुदन किराँतीले नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसंगै सार्कीले नागरिकता पाएका हुन् ।

सांसद किराँतीको निर्देशन पश्चात केहि महिना अघि नै सार्कीलाई नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाको लागि पहल गर्ने तयारी गरिएको भएपनि देशमा जारी भएको लकडाउनको कारण वितरणमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

सार्कीलाई नागरिकता वितरणको लागि बुधबार प्याउली पुग्नु भएका भोजपुरका संघीय सांसद सुदन किराँतीले संविधानमा व्यवस्था भएअनुसार राज्यको तर्फबाट पाउने अधिकारबाट कोहि पनि बन्चित हुनु नहुने बताए । सांसद किराँतीले भने, ‘एक असाहय, असक्त बृद्धलाई हामी सबैको पहलमा नेपाली नागरिकता दिन पाउदा निकै खुसी लागेको छ, लामो समय देखि यहि सडकमा बस्दै आउनु भएका उहाँलाई नागरिकता दिलाउन ढिलाई भएको हो, जे होस यो अवस्थामा भएपनि उहाँले नागरिकता पाउनु भएको छ, अव उहाँलाई राज्यबाट पाउने सेवा सुविधा दिलाउन तर्फ लाग्नु पर्छ ।’

देशमा लोकतान्तिक गणतन्त्र स्थापना भएसंगै जनताले सरकार भएको अनुभुति गर्न पाएको सांसद किराँतीको भनाइ थियो । समाजका निमुखा तथा विपन्न वर्गका मानिसहरुलाई सरकारको तर्फबाट पाउने सेवा सुविधा दिलाउन सवैले भूमिका खेल्नु पर्ने बताउँदै सांसद किराँतीले भने, ‘मैले पाएको जानकारी अनुसार आज हामीले नागरिकता दिएका लाटा सार्की श्रमलाई धेरै माया गर्ने मान्छे हो, उहाँले मागेर खाने अन्य मानिसहरुलाई काम गरेर खानुपर्छ भन्ने, सुझाब दिने गरेको स्थानीयले बताउने गरेका छन, तर आज उहाँ उमेरका कारण मागेर खाने अवस्थामा पुग्नुभयो, यस्ता मानिसहरुको पक्षमा सरकार छ भन्ने हामीले देखाउन सक्नु पर्छ, र त्यो हामीले गरेका छौं ।’

हेरचाह गर्ने अन्य कोही सदस्य नभएको कारण नागरिकता वितरण गरिएसंगै अधिकारकर्मीको अगुवाईमा सार्कीलाई मानव सेवा केन्द्र विराटनगर लैजाने तयारी गरिएको अधिकारकर्मी सम्झना प्रधानले जानकारी दिइन् । लामो समयदेखि सडकमा बसेर मागेर खादै आएका सार्कीलाई अरुण गाउँपालिका– २ को सिफारिसमा बंसजको आधारमा नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिए । अन्य सदस्य कोही नभएको साथै उनले आफ्नो नाम बताउन नसक्ने भएकोले स्थानीयले बोलाउँदै आएको लाटा सार्कीको नाममा नागरिकता दिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम