बैतडी । बर्षा शुरु भएसंगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं १ का विभिन्न स्थानमा गन्नी गाड खोलाले १२ कल्भर्ट बगाएको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताए ।
शनिबार राति र शुक्रबार राति भएको बर्षाका कारण खोलामा आएको बाढीले क्षति पुर्याएको हो । खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको छ । वडा नं १ को बडम, सेल्तडा, रामला, डुडेपानी लगायतका क्षेत्रमा पहिरो समेत खसेका स्थानिय तथा अनेरास्वबियु बैतडीका सहसंयोजक बताए । वडा नं १ मा साना साना पहिरो पनि खसेका र ती पहिरोले १५ घर जोखिममा परेका छन् ।

पहिरोले गाउँमा खानेपानी बगाएको छ भने घरहरु पनि जोखिममा परेका स्थानीय मानसिंह रानाले बताए । उनले भने, ’बर्षातको शुरुमै हाम्रो गाउँमा ठूलो क्षति भएको छ, खेत जमिन सबै बगायो, घरहरु पनि बगायो भने कहा गएर बस्ने समस्या हुनेभयो । हरेक बर्ष हामीलाई बाढीको समस्याले दुख दिने गरेको छ ।’ खोलाले किनारका खेतहरु बगाएको उनले बताए ।
डिलाशैनी वडा न. १ मा मात्रै ५० लाख बढीको क्षति भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । अहिले पनि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए । यस्तै खोला बढेर घरमा पनि आएका कारण पाटन नागरपालिका ६ का बिरसिंह खत्री, लालसिहं खत्री र हर्क बहादुर चन्द घर जोखिममा परेका छन् ।






