मिर्गाैला प्रत्यारोपणमा नक्कली नाता, वडाध्यक्ष, प्रहरी र चिकित्सकसहित १२ जना पक्राउ

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । नक्कली नाता बनाई मिर्गाैला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिकाका एक वडाध्यक्ष, प्रशासन कार्यालयका कर्मचारी, दुई प्रहरी र प्रत्यारोपणमा संलग्न चिकित्सकसमेत गरी १२ जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मिर्गाैला प्रत्यारोपणमा संलग्न चिकित्सक, जनप्रतिनिधि, प्रहरी र प्रशासन कार्यालयका कर्मचारीलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले पक्राउ परेका व्यक्तिउपर म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । मिर्गाैला प्रत्यारोपणका लागि नक्कली नाता प्रमाणित गरिदिने वडाध्यक्ष ललितपुर महानगरपालिका–३ का गोपाल महर्जन भएको प्रहरीले बताएको छ ।

२७ जेठ २०७६ मा ओखलढुंगाका राई थरका एक व्यक्तिको मिर्गाैला भक्तपुरका बतास भनिने अर्का व्यक्तिलाई दिइएको थियो । मिर्गौला दिन वडाध्यक्षले सिफारिस बनाइदिएका थिए । तर, मिर्गौला लिने व्यक्ति बतासका भान्जा भने जोशी थरका रहेको प्रहरी बताउँछ । उनी अस्ट्रेलिया थिए । नक्कली नाता देखाएका राई थरका व्यक्तिसँग भने बतासको कुनै सम्बन्ध नरहेको प्रहरी बताउँछ ।

तर, ललितपुर महानगरका ती वडाध्यक्षले भने मिर्गौला दिने व्यक्ति राई लिने व्यक्ति बतासका भान्जा नाता पर्ने भन्दै कागजपत्र बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीसमक्ष अस्ट्रेलियामा भएका जोशी थरका भान्जाको नागरिकतामा नक्कली भान्जा राईको फोटो टाँसेर लगिएको पाइएको छ ।

प्रहरीले ती वडाध्यक्षसहित सोही प्रकरणमा मुछिएका जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत रामकुमार केसी र नवराज केसीलाई पनि पक्राउ गरेको छ भने अवैध मिर्गौला प्रत्यारोपणको घटनामा प्रहरीको पनि संलग्नता भेटिएको छ । सोही घटनामा संलग्नताको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाल र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलियालाई पक्राउ गरिएको हो ।

थपलियाको यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्कालाई भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि संलग्नता रहेको प्रहरीले बताएको छ । पक्राउ पर्ने अन्यमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेज टिचिङ अस्पतालका कानुनी सल्लाहकार ४० वर्षका रमेश काफ्ले, अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, अस्पतालमा कार्यरत डा. बालकृष्ण कालाखेती, नोबल अस्पतालका डा. राकेशकुमार वर्मा, भक्तपुरकी जमुना राजभण्डारी, भक्तपुर जगातीकी रेश्मा राई र ललितपुर महानगर ३ का वडाध्यक्ष छन् । पक्राउ परेका १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूउपर म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिर्गौलाको मूल्य १३ लाख, दाताले पाए ८ लाख

प्रहरी स्रोतका अनुसार वडाध्यक्षले बनइदिएको नक्कली भान्जाबाट १३ लाख रुपैयाँमा मिर्गौला किनिएको थियो । प्रत्यारोपणदेखि अन्य सबै प्रक्रियामा ३२ लाख खर्च भएको थियो । तर, मिर्गौला बेच्ने व्यक्तिको हातमा भने ८ लाख परेको प्रहरीले बताएको छ । त्यसपछि मिर्गौला प्रत्यारोपणको प्रक्रिया थालिएको थियो । मिर्गौला प्रत्यारोपणको काम भने डा. राकेश बर्माको टोलीले गरेको थियो ।

ब्युरोले यसअघि गत असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको थियो । सो घटनामा समेत नक्कली आफन्त खडा गरेर मिर्गौला किनबेच गरेको अनुसन्धानबाट खुलेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम